close

एनपीएलमा बे'टिङ साइटको प्रचार गरेपछि क्यानसहित ब्रान्ड लजिक र टीसीएम मार्केटिङमाथि कारबाही

टेकपाना टेकपाना

भदौ ३, २०८२ ९:४४

एनपीएलमा बे'टिङ साइटको प्रचार गरेपछि क्यानसहित ब्रान्ड लजिक र टीसीएम मार्केटिङमाथि कारबाही

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) सहित दुई विज्ञापन एजेन्सी माथि विज्ञापन बोर्डले कारबाही गरेको छ । गत वर्षको १५ मङ्सिरदेखि ६ पुससम्म आयोजित नेपाल प्रिमियर लिगका क्रममा अवैध सट्‍टेबाजी साइटहरूको विज्ञापन गरेको भन्दै बोर्डले कारबाहीको निर्णय लिएको हो ।  

बोर्डले क्यानलाई अब त्यस्तो विज्ञापन नगर्न सचेत गराउँदै विज्ञापन सम्बन्धी कार्य गर्ने ब्रान्ड डिजिटल लजिक र टीसीएम स्पोर्ट्स एन्ड मार्केटिङ प्रालिलाई जरिबानासहित प्रतिबन्धको कारबाही गरेको छ  । नेपाल प्रिमियर लिगका खेलहरूमा ट्वान्टी फर्स्ट सेन्चुरी मिडिया नामक विदेशी कम्पनी मार्फत स्टार स्पोर्ट्स च्यानलबाट विज्ञापनसहित प्रसारण गरेको, जुवा खेल्ने खेलाउने साइटहरू वनएक्सब्याट , वुल्फ-७७७ र डाफा न्युज लगायतका विज्ञापनहरू गराएको कुरालाई कारबाहीको विषय बनाइएको हो । 

खेलाडीका टी-सर्ट तथा ग्राउन्डमा त्यस्ता विज्ञापन राखिएको र खेलमा बेटिङ समेत भएको उजुरी बोर्डमा परेको थियो । सोही उजुरी उपर अनुसन्धान गरी कारबाही गर्ने निर्णय बोर्डको साउन २१ र २९ गतेको बैठकले गरेको हो । 

 

क्यानलाई यस्तो कारबाही

नेपाल क्रिकेट सङ्घ (क्यान) ले बोर्डका विभिन्न मितिका पत्रको जवाफ पेस नगरेको र २६ साउन २०८२ गतेको पत्रमा कार्य व्यस्तताको कारण जवाफ पेस गर्न नसकिएको भन्दै दिएको जवाफ चित्त बुझ्दो नभएको बताइएको छ । यसैलाई आधार बनाएर विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा १६ ट तथा विज्ञापन नियमावली २०७७ को दफा ११ ख (१) बमोजिम बोर्डको निर्देशनलाई बेवास्ता गरेमा भविष्यमा विज्ञापन गर्न गराउनबाट रोक्का राख्ने , विज्ञापन ऐन २०७६ एवम् अन्य प्रचलित ऐन नियम विपरीत विज्ञापन नगर्न भन्दै क्यानलाई सचेत गराइएको छ । 

 

दुई विज्ञापन एजेन्सीमाथि जरिबानासँगै ३ महिने प्रतिबन्ध

बोर्डले ब्रान्ड डिजिटल लजिक प्रालि र टीसीएम स्पोर्ट्स एन्ड मार्केटिङ प्रालिले विज्ञापन ऐन २०७६ को दफा २६ र विज्ञापन नियमावलीको नियम ११ बमोजिम कारबाही गरेको छ । जसअनुसार बोर्डमा सूचीकृत नभई विज्ञापन कारोबारमा संलग्न रहेको तथा प्रचलित कानुन विपरीतका विज्ञापन प्रदर्शन गरेकोले दुवै एजेन्सीलाई दश दश हजार रुपैयाँ जरिबाना, ३ महिनासम्म विज्ञापन वा सूचना दिन वा लिन वा विज्ञापन वा सूचना प्रकाशन तथा प्रसारण सम्बन्धी कार्य गर्न रोक लगाइएको छ । 

उक्त अवधिसम्म बोर्डमा सूचीकरण समेत नगर्ने निर्णय गरिएको छ । यसका साथै बोर्डको कारबाहीमा परेका दुवै एजेन्सीसँग कुनै पनि प्रकारको विज्ञापन कारोबार नगर्न नगराउन सबै विज्ञापनदाता र सञ्चार माध्यमहरूलाई अनुरोध समेत गरिएको छ । 

 

पछिल्लो अध्यावधिक: भदौ ३, २०८२ ११:१८