close

यसरी सजिलै बनाउनुहोस्, आफूले चाहे जस्तै ‘एआई असिस्टेन्ट’

टेकपाना टेकपाना

भदौ ३, २०८२ १०:३४

यसरी सजिलै बनाउनुहोस्, आफूले चाहे जस्तै ‘एआई असिस्टेन्ट’

काठमाडौँ । एआई टुलको प्रयोग दिनानुदिन बढ्दो छ । हरेक दिन नयाँ नयाँ फिचर सहितका एआई टुल बजारमा आइरहेका छन् । प्रायः ती सबै एआई आम प्रयोगकर्तालाई लक्षित गर्दै आइरहेका हुन्छन् ।

यस्तोमा तपाईँलाई पनि कहिलेकाहीँ आफैँले तालिम दिएको एआई टुल प्रयोग गर्न पाए हुन्थ्यो भन्ने लागेको हुन सक्छ । यस्तो टुल, जसले तपाईँले दिएको सूचनाका आधारमा तपाईँले खोजेको जानकारी दिन सकोस् । हुन त यसका लागि गुगलको ‘नोटबुकएमएल’ पनि छ । 

यसले तपाईँले दिएको जानकारी (स्रोत) लाई मात्र आधार मानेर सोधेका प्रश्नको उत्तर दिन्छ । झट्ट हेर्दा यसलाई एआई असिस्टेन्ट मान्न सकिँदैन, यो एउटा एआई रिसर्च टुल हो ।

त्यस्तोमा तपाईँले आफूले दिएको जानकारीका आधारमा उत्तर दिने किसिमको एआई असिस्टेन्ट टुल बनाउन खोजिरहनु भएको हुन सक्छ । गुगलको जेमिनाईमा यो सुविधा उपलब्ध छ ।

जेमिनाईको नयाँ अपडेटसँगै प्रयोगकर्ताले आफ्नो व्यक्तिगत एआई असिस्टेन्ट बनाउन सक्छन् । यो निःशुल्क रूपमा उपलब्ध छ र पूर्ण रूपमा गुगलको जेमिनाई प्लेटफर्ममा चल्छ । साथै आफ्नो आवश्यकता अनुसार यसलाई पूर्ण रूपमा कस्टमाइज गर्न पनि सकिन्छ । प्रडक्टिभिटी बढाउने तरिका, क्रियटिभ ब्रेन स्ट्रोमिङदेखि व्यक्तिगत व्यवस्थापन र रिमाइन्डरसम्मका काममा यसलाई प्रयोग गर्न सकिन्छ ।

यहाँ हामी तपाईँलाई गुगलको जेमिनाईमा कसरी आफ्नै डेटाबाट तालिम दिएर ‘एआई असिस्टेन्ट टुल’ बनाउन सकिन्छ भन्नेबारे बताउँदै छौँ । 

  • सबैभन्दा पहिला यहाँ क्लिक गरेर गुगलको जेमिनाईमा जानुहोस् ।

  • त्यसपछि माथि बायाँपट्टि रहेको तीन ओटा लाइनमा ट्याप गर्नुहोस् । 

  • त्यहाँ जेम्स (Gems) भन्ने सेक्सन देखिन्छ । त्यसको तलपट्टि भएको ‘एक्सप्लोर जेम्स’ (Explore Gems) को अप्सन छान्नुहोस् ।

  • यति गरेपछि त्यहाँ गुगलले नै तयार पारेका केही जेम्स भेटिन्छन् । ‘योर जेम्स’ (Your Gems) सेक्सनको छेउमा रहेको ‘न्यु जेम्स’(+ New Gems) बटनमा क्लिक गर्नुहोस् । 

  • त्यसपछि आफ्नो एआई असिस्टेन्ट टुललाई नाम दिनुहोस् । 

  • त्यसभन्दा तल रहेको ‘इन्स्ट्रक्सन्स’ (Instructions) को सेक्सनमा त्यो एआई टुल कस्तो होस् भन्ने लाग्छ, उल्लेख गर्नुहोस् । उदाहरणका लागि हामीले ‘नेचर गाइड’का लागि यहाँ इन्स्ट्रक्सन राखेका छौँ । 

  • हामीले (You are an expert guide of Bardiya National Park. You know all the information. You can easily explain things to tourists. You have knowledge of every subject. You know everything about what to do and where to go in Bardiya for wild adventures.) इन्स्ट्रक्सन राख्यौँ । तर, तपाईँ यसलाई अझ परिस्कृत बनाउन चाहनु हुन्छ भने तलपट्टि रहेको ‘पेन’को आइकनमा ट्याप गर्नुहोस् । यसो गर्दा त्यसले तपाईँको आवश्यकता बुझ्छ । र, त्यही अनुसार इन्स्ट्रक्सन परिमार्जन गर्छ । 

  •  त्यसपछि तल रहेको ‘नलेज’ (Knowledge) सेक्सनमा फाइल अपलोड गर्नुहोस् । 

  • यति गरेपछि माथि रहेको ‘सेभ’को बटनमा क्लिक गर्नुहोस् र, ‘स्टार्ट च्याट’को अप्सनमा जानुहोस् । 

  • यति गरेपछि तपाईँको ‘आई असिस्टेन्ट टुल’ तयार हुन्छ । उक्त टुलमा तपाईँले जे जानकारी अपलोड गर्नु भएको थियो, त्यसैका आधारमा जवाफ आउँछ । यसले तपाईँले जस्तो इन्स्ट्रक्सन राख्नु भएको छ, त्यही अनुसार उत्तर दिने प्रयास गर्छ ।

यसरी तपाईँले निजी एआई असिस्टेन्ट बनाएर प्रयोग गर्न सक्नुहुन्छ । यसमा स्रोत थप्नु पर्‍यो वा परिमार्जन गर्नुपर्‍यो भने सोही ‘जेम्स’मा गएर थपघट गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: भदौ ३, २०८२ १३:१