close

विद्यार्थीलाई रोबोटिक्स र आईटी सिकाउने दूरशिक्षा एजुकेसनमा शार्क ऋतुको एक करोडको लगानी

टेकपाना टेकपाना

भदौ ५, २०८२ ११:५४

विद्यार्थीलाई रोबोटिक्स र आईटी सिकाउने दूरशिक्षा एजुकेसनमा शार्क ऋतुको एक करोडको लगानी

काठमाडौँ । विद्यालयदेखि विश्वविद्यालयस्तरका विद्यार्थीलाई रोबोटिक्स तथा आईटी सिकाउने कम्पनी ‘दूरशिक्षा एजुकेसन’ले बिजनेस रियालिटी शो शार्क ट्याङ्क नेपालबाट एक करोड रुपैयाँको लगानी जुटाएको छ । शार्क ऋतुसिँह वैद्यले कम्पनीको ३३% इक्विटी बापत उक्त रकम लगानी गरेकी हुन् । 

बुधबार राति हिमालय टेलिभिजनमा प्रसारण भएको १५ औँ एपिसोडमा दूरशिक्षाका संस्थापक कृष्ण पाण्डेले दूरशिक्षाको आइडिया पिच गरेका थिए । कम्पनीको पाँच करोड रुपैयाँ मूल्याङ्कन गर्दै २० प्रतिशत इक्विटीमा उनले एक करोड रुपैयाँ लगानी प्रस्ताव गरेका थिए । अन्य शार्कहरूले रोबोटिक शिक्षा दिने अन्य कम्पनीमा पहिल्यै लगानी गरिसकेको भन्दै लगानी डिलबाट बाहिरिएका थिए । तर शार्क ऋतुले भने ३३% इक्विटीमा एक करोड रुपैयाँ लगानी गर्ने बताइन् । 

उनको अफरमा पाण्डेले काउन्टर अफर दिँदै २५ प्रतिशत इक्विटीमा उक्त लगानी प्रस्ताव गरे । तर, ऋतुले आफ्नो अफर परिवर्तन नगर्ने बताइन् । त्यसपछि ३३% इक्विटीमा एक करोड लगानीको प्रस्ताव उनले स्वीकारे । 

शार्क ट्याङ्क नेपालमा भएको सहमति अनुसारको लगानीका लागि सम्झौता भइसकेको संस्थापक पाण्डेले टेकपानासँग बताए । लगानी रकमले आफ्नो सेवा क्षेत्र र सेवाको गुणस्तर थप बढाउन ध्यान दिइरहेको उनले सुनाए ।  

उनले भने, “रोबोटिक किट आफैँले उत्पादन गर्ने र त्यसमा एप पनि इन्ट्रिगेट गरेर विद्यार्थीहरूसम्म पुर्‍याउने योजना सहित काम गरिरहेका छौँ ।” यस्तै दूरशिक्षाका लर्निङ हबलाई सातै प्रदेशमा विस्तार गर्ने योजना अनुसार ललितपुर र जनकपुरमा लर्निक हब तयार भइरहेको उनले बनाए । पाण्डेले भने “हाम्रो लर्निङ हबमा आएर विद्यार्थीहरूले रोबोटिक्स र कोडिङ सिक्न सक्नेछन् ।”

के हो दूरशिक्षा एजुकेसन ?

दूरशिक्षा एजुकेसन सन् २०२० मा सुरु भएको आईटी शिक्षा प्रदायक कम्पनी हो । जसले नेपालभरका विद्यालयदेखि विश्वविद्यालयसम्मका विद्यार्थीलाई प्रविधि सिकाइमा जोड्दै आएको छ । सुरुमा केही विद्यार्थीलाई अनलाइनमार्फत कोडिङ पढाएर सुरु भएको यो कम्पनीले अहिले २५ जनालाई रोजगारी दिँदै आएको छ । 

हालसम्म १५ हजारभन्दा बढी विद्यार्थीलाई आईटी शिक्षा उपलब्ध गराइसकेको कम्पनीले जनाएको छ । दूरशिक्षाले ‘योङ साइन्टिस्ट’, ‘फ्युचर्स’, ‘कलेज कनेक्ट’, ‘आफ्टर स्कुल’, ‘स्टिम सर्टिफाइड एजुकेटर’ र भारतीय कम्पनी एचसीएल टेकसँग मिलेर ‘सेन्टर फर एक्सिलेन्स’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । यी कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई कोडिङ, रोबोटिक्स, एआई, डेटा साइन्स र फुल स्ट्याक डेभलपमेन्ट जस्ता विषय पढाइन्छ । 

कम्पनीले आगामी तीन वर्षमा ५० हजार विद्यार्थीलाई तालिम दिने, सातै प्रदेशमा ‘लर्निङ हब’ स्थापना गर्ने र पाँच वर्षमा सबै तहका तालिमलाई समेट्ने ‘क्लाउड क्याम्पस’ निर्माण गर्ने लक्ष्य राखेको छ ।

 

पछिल्लो अध्यावधिक: भदौ ५, २०८२ १२:२