close

सामसङ एस २५ अल्ट्राको नक्कली फोटो राख्दै ट्रम्पले खुलाए आफ्नो स्मार्टफोनको प्रि-अर्डर

टेकपाना टेकपाना

भदौ ७, २०८२ १६:९

सामसङ एस २५ अल्ट्राको नक्कली फोटो राख्दै ट्रम्पले खुलाए आफ्नो स्मार्टफोनको प्रि-अर्डर

काठमाडौँ । ट्रम्प मोबाइलले आफ्नो बहुप्रतीक्षित ‘टी वन’ फोनको प्रचारका लागि प्रयोग गरेको फोटो विवादित बनेको छ । पहिले नक्कली आईफोनको तस्बिर प्रयोग गरेको कम्पनीले यसपटक सामसङको ग्यालेक्सी एस २५ अल्ट्राको फोटो प्रयोग गरेको हो ।

बुधबार कम्पनीको आधिकारिक एक्स ह्यान्डलबाट टी वन फोनको प्रि-अर्डरका लागि एउटा विज्ञापन पोस्ट गरिएको थियो ।  त्यसमा प्रयोग गरेको फोटो कम्पनीले पहिलो पटक सार्वजनिक गरेको थियो ।

ध्यान दिएर हेर्दा यो फोटो सामसङको एस २५ अल्ट्राको डिजाइन भएको र यसलाई फोटोशप वा अन्य एडिटिङ टुलमार्फत सुनौलो रङ्ग दिएर टी वनको लोगो र अमेरिकी झण्डा राखिएको प्रस्टै देखिन्छ । ट्रम्प मोबाइल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कम्पनी हो ।

अझ रोचक कुरा त के छ भने यो फोटो स्पिजेन (Spigen) नामक कम्पनीको केससहितको रेन्डर हो भने कम्पनीले एडिट गर्दा केसमा रहेको स्पिजेनको लोगो हटाउनसमेत बिर्सिएको छ ।

यो घटनाबारे केस निर्माता कम्पनी स्पिजेन आफैँले पनि प्रतिक्रिया दिएको छ । कम्पनीले एक्समा जवाफ दिँदै लेखेको छ, “??? ब्रो के हो यो” (??? bro what) 

अहिले उक्त पोस्टको तल प्रयोगकर्ताले सन्दर्भ पनि राखेका छन् । सन्दर्भमा पनि कम्पनीले स्पिजेनको फोटो चोरेर आफ्नो वाटरमार्क राखेको उल्लेख गरिएको छ । 

ट्रम्प मोबाइलको यो हर्कत अनौठो छ किनभने विज्ञापनमा प्रयोग गरिएको एस २५ अल्ट्राको डिजाइन कम्पनीले पहिले सार्वजनिक गरेको टी वन फोनको आधिकारिक डिजाइनसँग पटक्कै मिल्दैन । फोनको डिजाइनलाई लिएर कम्पनीका दाबी पनि लगातार परिवर्तन भइरहेका छन् ।

एक्स पोस्टमा ‘पर्खाइ लगभग सकियो !’ भनिए पनि फोन कहिले सार्वजनिक हुन्छ भन्ने कुनै मिति तोकिएको छैन । सुरुमा अगस्ट र सेप्टेम्बरमा सार्वजनिक हुने भनिएकोमा अहिले वेबसाइटबाट मिति हटाइएको छ ।

त्यस्तै पहिले ‘अमेरिकामा निर्मित’ (Made in the USA) भनी दाबी गरिएकोमा अहिले ‘हरेक डिभाइसको पछाडि अमेरिकी हात’ (American hands behind every device) भनिएको छ ।

फोनको स्क्रिन साइज पनि सुरुमा घोषणा गरिएको ६.७८ इन्चबाट घटाएर ६.२५ इन्चमा झारिएको छ । यी सबै परिवर्तनले गर्दा टी वन फोन वास्तवमा कस्तो हुनेछ भन्नेमा अन्योल झनै बढेको छ । यसअघि कम्पनीले सार्वजनिक गरेको फोटोमा दुरुस्तै आईफोनको प्रो सिरिजको डिजाइन थियो ।

पछिल्लो अध्यावधिक: भदौ ७, २०८२ १७:१९