सरकारी आईटी प्रोजेक्टमा तलब: म्यानेजरलाई २ लाख, अनुभव नभएकालाई ४० हजार, अरूलाई कति ?
भदौ १०, २०८२ १४:४७
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आफू सम्बद्ध निकायका लागि सफ्टवेयर बनाउने र परामर्श दिने सूचना प्रविधि जनशक्तिको न्यूनतम मासिक पारिश्रमिक, शैक्षिक योग्यता र अनुभवको मापदण्ड निर्धारण गरेको छ । सरकारी आईटी प्रोजेक्टहरूमा हुने मनपरी खर्चलाई नियन्त्रण गर्ने र एकरूपता ल्याउने उद्देश्यले मन्त्रालयले मापदण्ड ल्याएको हो ।
यस आर्थिक वर्ष २०८२/८३ का लागि लागु हुने मापदण्डअनुसार सूचना प्रविधि क्षेत्रका १४ विभिन्न पदमा काम गर्ने जनशक्तिको पारिश्रमिक ४० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म तोकिएको छ ।
मन्त्रालयले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२ अनुसार प्राप्त अधिकार प्रयोग गरी ‘सूचना प्रविधि प्रणालीको विकास तथा परामर्श सेवाको लागत अनुमानसम्बन्धी नर्म्स्, २०८२’ लागु गर्दै यो नयाँ व्यवस्था गरेको हो ।
कसको पारिश्रमिक कति ?
सबैभन्दा उच्च पदमा टिम लिडर वा प्रोजेक्ट म्यानेजर रहेका छन् । सूचना प्रविधिमा स्नातकोत्तर गरी पाँच वर्षको अनुभव हासिल गरेका उनीहरूले मासिक दुई लाख रुपैयाँ पारिश्रमिक पाउनेछन् ।
त्यसैगरी, साइबर सुरक्षा क्षेत्रमा काम गर्ने ‘एसओसी एनालिस्ट (एल ३)’, ‘डिजिटल फरेन्सिक्स एनालिस्ट’ र ‘थ्रेट इन्टेलिजेन्स विशेषज्ञ’ जस्ता पदका लागि स्नातक तह र सम्बन्धित विषयमा अन्तर्राष्ट्रिय प्रमाणीकरण (सर्टिफिकेसन) सहित पाँच वर्षको अनुभव चाहिनेछ । उनीहरूको मासिक पारिश्रमिक एक लाख ७२ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
अन्य पदहरूको पारिश्रमिक र योग्यता:
-
सिस्टम आर्किटेक्ट/एनालिस्ट: स्नातक तह, पाँच वर्ष अनुभव, मासिक पारिश्रमिक एक लाख ६० हजार रुपैयाँ ।
-
सिनियर सफ्टवेयर/वेब/आईओएस/एन्ड्रोइड डेभलपर र सिनियर डेटाबेस डिजाइनर: स्नातक तह, पाँच वर्ष अनुभव, मासिक पारिश्रमिक एक लाख ४० हजार रुपैयाँ ।
-
क्लाउड र पूर्वाधार विज्ञ तथा एपीआई डेभलपर: स्नातक तह, क्रमशः पाँच र तीन वर्ष अनुभव, मासिक पारिश्रमिक एक लाख २५ हजार रुपैयाँ ।
-
इथिकल ह्याकर र एप्लिकेसन सेक्युरिटी इन्जिनियर: स्नातक तह, २ वर्ष अनुभव, मासिक पारिश्रमिक एक लाख १० हजार रुपैयाँ ।
-
इ सेक्युरिटी अफिसर: स्नातक तह, तीन वर्ष अनुभव, मासिक पारिश्रमिक एक लाख पाँच हजार रुपैयाँ ।
-
डेटाबेस एड्मिनिस्ट्रेटर, सफ्टवेयर टेस्टर र आईटी अडिटर: स्नातक तह, तीन वर्ष अनुभव, मासिक पारिश्रमिक ९० हजार रुपैयाँ ।
-
सफ्टवेयर/वेब डेभलपर/डिजाइनर: स्नातक तह, दुई वर्ष अनुभव, मासिक पारिश्रमिक ८० हजार रुपैयाँ ।
-
सेक्युरिटी अपरेसन्स सेन्टर (एसओसी) एनालिस्ट (एल १): स्नातक तह, एक वर्ष अनुभव, मासिक पारिश्रमिक ६५ हजार रुपैयाँ ।
अनुभव नभएकालाई पनि अवसर
मन्त्रालयले आईटी क्षेत्रमा प्रवेश गर्न चाहने नयाँ जनशक्तिका लागि पनि बाटो खुला गरेको छ । जुनियर डेभलपर पदका लागि कुनै अनुभव आवश्यक पर्ने छैन । सूचना प्रविधि मुख्य विषय लिएर कक्षा १२ वा सो सरह उत्तीर्ण गरेका व्यक्तिले यो पदमा काम गर्न सक्नेछन् र उनीहरूको मासिक पारिश्रमिक ४० हजार रुपैयाँ तोकिएको छ ।
अन्य के छन् व्यवस्था ?
मन्त्रालयका अनुसार, कुनै पनि सरकारी निकायले सफ्टवेयर विकास गर्दा आफ्नो आवश्यकताअनुसार यी १४ पदमध्येबाट जनशक्ति छनोट गर्नुपर्नेछ । यदि कुनै विशेष जनशक्ति आवश्यक परेमा सूचीमा उल्लिखित पदसँग मिल्दोजुल्दो योग्यता र अनुभवको आधारमा पारिश्रमिक तय गर्न सकिने बताइएको छ ।
साथै, सफ्टवेयर बनिसकेपछिको वार्षिक मर्मतसम्भार खर्च पनि नियन्त्रण गरिएको छ । अबदेखि मर्मतसम्भारको लागत सफ्टवेयर विकासमा लागेको कुल रकमको २० प्रतिशतभन्दा बढी हुन नपाउने व्यवस्था गरिएको छ ।
पछिल्लो अध्यावधिक: भदौ १६, २०८२ ९:५६
