close

गाडी हाँक्दै मोबाइल चलाएपछि ट्राफिक कारबाहीमा परे हास्य कलाकार मनोज गजुरेल

टेकपाना टेकपाना

भदौ १२, २०८२ ९:४७

गाडी हाँक्दै मोबाइल चलाएपछि ट्राफिक कारबाहीमा परे हास्य कलाकार मनोज गजुरेल

काठमाडौँ । गाडी हाँक्दै मोबाइल चलाएको पाइएपछि ट्राफिक प्रहरीले हास्य कलाकार मनोज गजुरेललाई जरिबाना गरेको छ । बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै उनले आफू ट्राफिक कारबाहीमा परेको जानकारी दिएका हुन् ।

रत्नपार्कमा ट्राफिकले गाडी रोक्दै लाइसेन्स, ब्लुबुक जाँचेको र उनले वाकीटकीमा कसुर बारे सोधेर लापर्बाही पूर्वक गाडी चलाएको जवाफ आएको उनले उल्लेख गरेका छन् । 'कस्तो लापर्बाही' भन्दै उनले प्रश्न गरेका थिए । जवाफमा गाडी हाँक्दै मोबाइल चलाएको र क्यामेरा तथा सादा पोसाकमा रहेका ट्राफिकहरूले नियालिरहेकाले जहाँ, जहिले पनि कारबाहीमा पर्न सक्ने जानकारी ट्राफिक प्रहरीले आफूलाई गराएको उनले बताए ।

नागरिक एप देखाएपछि ट्राफिकले 'अहिले जान सक्नु हुन्छ, पछि एप चेक गर्नु होला' भनेको र बेलुका नागरिक एपमा ५०० रुपैयाँ जरिबानाको नोटिस देखिएको गजुरेलको भनाई छ । लापर्बाही पूर्वक गाडी चलाएको कारण समेत खुलाइएको थियो । त्यसपछि आफूले खुसीसाथ जरिबाना तिरेको उनले बताएका छन् ।

"'मन्जु (गजुरेलकी श्रीमती) पनि खुसी भइन्, किन कि गाडी हाँक्दा मोबाइलमा बोल्ने मेरो बानीबाट उनी पनि आजीत भएकी थिइन् ! 'लातोँका भुत बातोँ से नही मानता' भनेको सही रहेछ ! जरिबाना मेरो 'ड्राइभ एन्ड मोबाइल'को खराब बानी सम्भवतः अब छुट्छ होला ! ट्राफिक प्रहरीले पनि सूचना र प्रविधिको प्रयोग सकारात्मक रूपमा गर्दैरहेछ । बैँक र ट्राफिक कार्यालय धाउने झन्झट भएन । ट्राफिक काउन्सिलिङ पनि राम्रो भएछ । मुख्य कुरा - ट्राफिक प्रहरीबाट प्रिभिलेज पाएर म धेरै पटक दण्डबाट उम्किएको छु, जुन आफ्नै लागि दुर्घटनाको कारण बन्न सक्थ्यो," उनले लेखेका छन् ।

ठट्टामा जरिबाना तिर्दा पनि करोडको मज्जा आएको उल्लेख गर्दै उनले देशमा केही नभएको नभई सोचेजस्तो नभएको मात्र भएको बताएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी केसर न्यौपाने ड्राइभिङका क्रममा मोबाइल चलाउन नपाउने नियम पुरानै भएको बताए । "यो कुनै नौलो नियम होइन," उनले भने, "तर पछिल्लो समयमा निगरानी भने बढाइएको हो । पसाकसहित ड्युटीमा खटिएका ट्राफिक प्रहरी, सादा पोसाकका ट्राफिक प्रहरी, सीसीटिभी क्यामेरा आदि माध्यमबाट निगरानी भइरहेको हुन्छ । एउटा चोकमा मोबाइल चलाउँदै ड्राइभिङ गरिरहेको देखेमा वाकीटकीबाट अगाडि रहेको प्रहरीलाई खबर गरेर समात्न लगाउने काम भइरहेको हुन्छ ।"

पछिल्लो अध्यावधिक: भदौ १२, २०८२ १०:१९