एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि गुगलको नयाँ कलिङ कार्ड सुविधा, यसरी गर्नुहोस् प्रयोग
भदौ १३, २०८२ ७:३१
काठमाडौँ । गुगलले एन्ड्रोइड फोनहरूमा कलिङ कार्ड नामक नयाँ सुविधा ल्याएको छ । आगमन कलहरूको रूप रङ्गलाई अझ व्यक्तिगत र आकर्षक बनाउने लक्ष्यका साथ यो फिचर ल्याइएको हो ।
यो अपडेटले परम्परागत सानो कलर आईडी फोटोलाई फुल-स्क्रिन, कस्टमाइज गर्न सकिने भिजुअलले प्रतिस्थापन गर्छ । फुल-स्क्रिन कलर आईडी अनुभवको लागि ल्याइएको यो सुविधाले कुनै पनि सम्पर्कका लागि फुल-स्क्रिन तस्विर चयन गर्ने, सम्पर्कको नामका लागि फन्ट र रङ कस्टमाइज गर्ने अनुमति दिन्छ ।
यसका साथै कल स्क्रिनमा थप जीवन्त मटेरियल ३ डिजाइन लागु गर्न पनि सकिन्छ र त्यसलाई पूर्ण रूपमा परिवर्तन गर्न सकिन्छ । यसले सानो सम्पर्क फोटोको सट्टा प्रत्येक कलरका लागि फुल-स्क्रिन लुक प्रदान गर्दछ । यसमा एज-टु-एज डिस्प्लेको पूर्ण उपयोग गरिन्छ । यसरी ठुलो फोटो र बोल्ड टेक्स्ट देखाउँदै कलहरूलाई अझ व्यक्तिगत महसुस गराउँछ ।
एप्पलको कन्ट्याक्ट पोस्टर्सले प्रयोगकर्तालाई कल गर्दा अरूले तपाईँलाई कसरी देख्छन् भनेर परिभाषित गर्ने अनुमति दिन्छ । तर, गुगलको कलिङ कार्डमा यो अवधारणालाई फरक तरिकाले प्रयोग गरिएको छ । यसमा तपाईँका सम्पर्कहरूले तपाईँलाई कल गर्दा उनीहरूलाई कसरी हेर्ने भन्ने कुरा आफैले तय गर्न सकिन्छ । यो सुविधा तपाईँको आफ्नै हेराईका लागि मात्र हो र अन्य प्रयोगकर्ताहरूले यस बारे थाहा पाउँदैनन् । धेरै प्रयोगकर्ताहरूले आफ्ना सबै सम्पर्कहरूका लागि व्यक्तिगत रूपमा छुट्टाछुट्टै सेटिङ गर्नुपर्ने भएकोले निराशा व्यक्त गरेका छन् ।
कसरी प्रयोग गर्ने गुगलको कलिङ कार्ड ?
यसलाई प्रयोग गर्नका लागि सबैभन्दा पहिला गुगल कन्ट्याक्ट एप खोल्नुहोस् र कुनै एउटा सम्पर्क नम्बर चयन गर्नुहोस् । अब सुरुमा देखिने 'Try adding a calling card' मा ट्याप गर्नुहोस् ।
अब आफ्नो ग्यालरी, गुगल फोटोज वा क्यामेराबाट फोटो छान्नुहोस् र क्रप गरी लेआउट मिलाउनुहोस् । त्यसपछि नामका लागि फन्ट र रङ छान्नुहोस् ।
यति गरिसकेपछि 'Done' गरेर र 'Save' गर्नुहोस् । यदि 'Try adding a calling card' को विकल्प देखा परेन भने तपाईँले कन्ट्याक्ट पेजको सुरुमा रहेको पेन्सिल आइकनमा ट्याप गरेर पनि कलिङ कार्ड तयार पार्न सक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: भदौ १३, २०८२ ७:३१
