ट्यारिफ स्वीकृत नगराई एननेट नेपालले थाल्यो इन्टरनेट सेवा, प्राधिकरणले सोध्यो स्पष्टीकरण
भदौ १३, २०८२ १८:१८
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायक एननेट नेपाललाई शुल्क स्वीकृत नगराई सेवा सञ्चालन गरेको भन्दै पत्र काटेको छ ।
गत वैशाख १५ गते इन्टरनेट सेवा सञ्चालन गर्नका लागि लाइसेन्स प्राप्त गरेको एननेटले प्राधिकरणबाट शुल्क निर्धारणको स्वीकृति नलिई बिहीबारदेखि औपचारिक रूपमा सेवा प्रारम्भ गरेपछि नियामक निकाय दूरसञ्चार प्राधिकरणले स्पष्टीकरण माग गर्दै पत्र पठाएको हो ।
एननेटले एक विज्ञप्तिमार्फत नेपालभरका रिटेल तथा इन्टरप्राइज ग्राहकहरूका लागि अत्याधुनिक एफटीटीआर (फाइबर टु द रुम) प्रविधिमा आधारित वाईफाई सिक्स राउटरका साथै आईपीभी सिक्स प्रविधिमा आधारित सेवा सुरु गरेको जानकारी दिएको थियो ।
साथै रिटेल ग्राहकहरूका लागि १५% सम्म छुट र तीन महिनासम्म बोनस, एसएमई प्याकेज लिने ग्राहकका लागि ५०% सम्म छुट र तीन महिनासम्म बोनसका साथै सोही मूल्यमा ब्यान्डविथको स्पिड दोब्बर गरिदिने योजना ल्याएको थियो ।
कम्पनीले १००, २०० र ३०० एमबीपीएसका प्याकेजहरूको मासिक शुल्क भ्याटबाहेक क्रमशः ९११ रुपैयाँ, ११०० रुपैयाँ र १३९९ रुपैयाँ निर्धारण गरेको छ ।
तर नियामकको स्वीकृतिबिनै यी प्याकेज ल्याएपछि पत्र काटिएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।
पछिल्लो अध्यावधिक: भदौ १३, २०८२ १८:३६
