फोटोशपलाई टक्कर दिने गुगलको नयाँ एआई टुल ‘नानो बनाना’, तपाईँले प्रयोग गर्नुभयो ?
भदौ १४, २०८२ १६:१६
काठमाडौँ । गुगलले हालै आफ्नो नयाँ एआई टुल ‘नानो बनाना’ सार्वजनिक गरेको छ । यस्तो टुल, जसले शब्दकै भरमा फोटो चाहे अनुसार एडिट (सम्पादन) गर्न सक्छ । यही सुविधाका कारण नानो बानानाले एडोबी फोटोशप जस्ता परम्परागत फोटो एडिटिङ सफ्टवेयरलाई प्रत्यक्ष चुनौती दिएको भन्दै चर्चा हुन थालेको छ ।
यस टुलले शब्दकै भरमा फोटोलाई चाहे अनुसार एडिट गरिदिन सक्छ । यसले गर्दा जटिल फोटो एडिटिङ अब सबैका लागि सहज बनेको छ ।
पहिलेका एआई इमेज जेनेरेसन टुलमा ‘कन्सिस्टेन्सी’ अर्थात् मूल तस्बिरको स्वरूपलाई कायम राख्न नसक्ने ठुलो समस्या थियो । कुनै व्यक्तिको फोटोमा आधारित नयाँ तस्बिर बनाउँदा त्यो व्यक्ति जस्तो देखिए पनि वास्तविक जस्तो लाग्दैनथ्यो ।
तर, ‘नानो बनाना’ले यो समस्या समाधान गरेको गुगलको दाबी छ । यसले मूल तस्बिरको चरित्र, अनुहारको बनावट र अन्य विवरणलाई कायम राख्दै प्रयोगकर्ताले भनेअनुसारको परिवर्तन गर्न सक्छ ।
यो टुल गुगलको शक्तिशाली ‘जेमिनाई २.५ फ्ल्याश’ मोडेलमा आधारित छ । यसले फोटोको ब्याकग्राउन्ड हटाउने, लाइट मिलाउने, अनुहार चम्किलो बनाउने वा फोटोमा नभएको कुनै वस्तु वा पहिरन थप्ने जस्ता काम केही सेकेन्डमै गर्न सक्छ । उदाहरणका लागि यदि कुनै प्रयोगकर्तालाई सुट लगाएको आफ्नो व्यावसायिक तस्बिर चाहिएको छ भने उसले आफ्नो साधारण फोटो अपलोड गरेर ‘नानो बनाना’लाई सुट थप्न निर्देशन दिन सक्छ ।
फोटोशपमा रहेको ‘जेनेरेटिभ फिल’ सुविधाले यस्तै काम गरे पनि त्यसका लागि महँगो शुल्क तिरेर सब्स्क्रिप्सन लिनुपर्ने बाध्यता थियो । गुगलको यो नयाँ टुलले त्यो बजारलाई समेत लक्षित गरेको देखिन्छ । यसको अर्को महत्त्वपूर्ण विशेषता भनेको एनिमेटर र ग्राफिक डिजाइनरका लागि हो । उनीहरूले एउटै क्यारेक्टरलाई विभिन्न मुद्रा र हाउभाउमा प्रस्तुत गर्नुपर्दा अब केवल टेक्स्ट प्रम्प्टमार्फत सहजै बनाउन सक्नेछन् ।
नानो बनानाका मुख्य विशेषता:
१) क्यारेक्टर कन्सिस्टेन्सी: यसले मूल फोटोको स्वरूप नबिगारी सम्पादन गर्न सक्छ ।
२) टेक्स्ट टु एडिट: यो टुल लेखेर दिएको निर्देशनको आधारमा फोटोमा जुनसुकै परिवर्तन गर्न सक्छ ।
३) थप रचनात्मक: एनिमेसनका लागि आवश्यक ‘स्प्राइट सिट’ बनाउने, गुगल म्यापको कुनै स्थानको फोटो जेनेरेट गर्ने र स्केचलाई पूर्ण तस्बिरमा बदल्ने जस्ता सुविधा यसमा थपिएका छन् ।
४) अदृश्य वाटरमार्क: गुगलले यो टुलबाट बनाइएका तस्बिरमा ‘सिन्थ आईडी’ नामक अदृश्य वाटरमार्क राखेको छ । यो वाटरमार्क झट्ट हेर्दा देखिंदैन तर यसले एआई निर्मित तस्बिर पहिचान गर्न मद्दत गर्छ ।
केही कमजोरी
यो टुल निकै शक्तिशाली भए पनि यसमा केही कमजोरी पनि देखिएका छन् । कहिलेकाहीँ यसले टेक्स्ट प्रम्प्टलाई बेवास्ता गर्ने वा निर्देशनभन्दा फरक नतिजा दिने गरेको केही टेक रिभ्युअरको अनुभव छ । त्यसैगरी वास्तविक मानिसको फोटो एडिट गर्दा अझै पनि ‘अनक्यानी भ्याली’ (अस्वाभाविक देखिने) को समस्या आउन सक्छ । साथै गुगलको नीतिअनुसार यसमा कडा सेन्सरसिप लागू गरिएको छ । यसले गर्दा संवेदनशील वा अनुपयुक्त सामग्री बनाउन सकिँदैन ।
कसरी गर्ने प्रयोग ?
यो टुल गुगलले जेमिनाईमा उपलब्ध गराएको छ । gemini.google.com मा गएपछि च्याटबक्सको माथि ‘ट्राइ नानो बनाना’ नामको अप्सन देखिन्छ । त्यसमा गएर आफूले एडिट गर्न चाहेको फोटो अपलोड गर्न सक्नुहुन्छ ।
यदि माथि नानो बनानाको अप्सन देखिएको छैन भने तल च्याटबक्समा रहेको ‘टुल’ आइकन छान्नुहोस् । र, त्यसमा रहेको ‘क्रियट इमेजेज’ (Create Images) को अप्सन छान्नुहोस् ।
अनि आफूले चाहेको फोटो अपलोड गर्नुहोस् । जति विस्तृत प्रम्प्ट दिनुभयो त्यति नै तपाईंले चाहेको जस्तो फोटो एडिट हुन्छ ।
पछिल्लो अध्यावधिक: भदौ १४, २०८२ १६:५८
