डिपफेक अडियोमार्फत चरित्रहत्या गरेको भन्दै डा. वाग्लेले दिए एमालेका २ कार्यकर्ता विरुद्ध उजुरी
भदौ १८, २०८२ १४:५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले डिपफेक प्रविधिमार्फत आफ्नो चरित्रहत्या गरिएको भन्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएका छन् । उनले बुधबार ब्युरोमा उपस्थित भई दुई व्यक्तिविरुद्ध किटानी जाहेरी दिएका हुन् ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार सांसद वाग्लेले धादिङ र चितवनका दुई युवकविरुद्ध उजुरी दिएका हुन् । प्रवक्ता झाले भने, “उजुरी परेका दुवै जना नेकपा (एमाले) निकट व्यक्तिहरू हुन् ।”
मंगलबारदेखि सामाजिक सञ्जालमा एक अडियो क्लिप भाइरल भएको थियो । सो अडिओमा डा. वाग्लेले हिन्दी र अंग्रेजी मिश्रित भाषामा एक भारतीय नेतासँग कुराकानी गरेको जस्तो सुनिन्छ । उक्त अडियोमा, “क्या करलेङ्गे । हम तो ए सब कुछ मिलालेङ्गे । आप चिन्ता मत किजिए । ८४ मे - in the coming election we will be the main force of this country. So आप लोग चिन्ता मत करिए । ए सब हो जाएगा,” भनेको सुनिन्छ ।
‘अमृत मगर’ नामक एक फेसबुक प्रयोगकर्ताले उक्त अडियो क्लिप पोस्ट गर्दै लेखेका छन्, “राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू विदेशी एजेन्ट हुन् भन्ने कुरा स्वर्णिम वाग्लेको यही अडियोबाट स्पष्ट हुन्छ ।”
उक्त पोस्टलाई १५ लाखभन्दा बढी पटक हेरिएको छ भने हजारौँ पटक शेयर र कमेन्ट गरिएको छ । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा झन्डै २२ हजार रियाक्सन, १९०० बढी कमेन्ट र ५५०० बढी शेयर आएका छन् । हेर्नुहोस् आर्काइभ भिडिओ ।
डा. वाग्लेले भने उक्त अडियो क्लिप कृत्रिम रूपमा बनाइएको र आफ्नो राजनीतिक तथा व्यक्तिगत चरित्रहत्या गर्ने दुर्भावनापूर्ण प्रयास भएको आरोप लगाएका छन् ।
पछिल्लो अध्यावधिक: भदौ १८, २०८२ १५:२६
