फ्याक्टचेकः बालेनको नाममा तोडमोड गरी बनाइएको पोस्ट सामाजिक सञ्जालमा छ्यापछ्याप्ति
भदौ २१, २०८२ १९:११
काठमाडौँ । शुक्रबारदेखि सामाजिक सञ्जाल फेसबुक र टिकटकमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले लेखेको भनिएको एउटा स्टाटस निकै भाइरल भइरहेको छ । उक्त स्टाटसमा बालेनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सामाजिक सञ्जाल निष्क्रिय’को विषयमा आफ्नो धारणा राख्दै नेतालाई थर्काएको, देश रेमिटेन्सले चलेको र सामाजिक सञ्जाल बन्द गर्ने कदम नेताको भ्रष्टाचार लुकाउने खेल हो भनी लेखेको देखाइएको छ । तर, टेकपानाको फ्याक्टचेकका क्रममा बालेनले यस्तो कुनै पनि पोस्ट नलेखेको पुष्टि भएको छ । वास्तवमा बालेनको फेसबुक पेज पोस्टको स्क्रिनशटलाई तोडमोड गर्दै उनले लेख्दै नलेखेको पोस्ट उनको नामको नक्कली आईडीबाट सार्वजनिक गरिएको पाइएको हो ।
दाबी
फेसबुकमा ‘पनौती बुडी’ नाम भएको पेजले ५ सेप्टेम्बर २०२५ मा एउटा रिल्स पोस्ट गर्यो । उक्त रिल्समा काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को पेजबाट पोस्ट भएको जस्तो देखिने स्क्रिनशट छ । त्यसमा तलपट्टि प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री रघुजी पन्तको फोटो देखिएको छ । माथि क्याप्सनमा बालेनले “देश Remittance ले चलेको हो, नेताको भ्रस्ट कमिसनले होइन। युवाले पसिना बेचेर पठाएको पैसाले नेपाल जिउँदो छ। परिवारसँग कुरा गर्न, व्यवसाय चलाउन, अवसर खोज्न-यी सामाजिक सञ्जाल नै सहारा हुन्।
अब प्रश्न- आमा-बुबासँग विदेशमा बसेको छोरा/छोरीले कसरी कुरा गर्ने? हजारौं उद्यमीले आफ्नो बिजनेस कसरी चलाउने? सत्य एकै छ-
यो कदम जनताको लागि होइन, नेताहरुको भ्रष्टाचार लुकाउने खेल हो।” लेखेको जस्तो देखाइएको छ । अनि पनौती बुडी नामको यस फेसबुक पेजले क्याप्सनमा लेखेको छ, “अब फेरी 1 मिनेट को 25/30per तिरेर बिदेश मा भको छोरा छोरी सग कुरा गर्नु पर्ने दिन आएछ नेपाल अगाडी तिर बड्ला भने झन ढुङे युग तिर पो जादै छ monetization तिर पहल गरेर अलि अलि भएनी पोइसा कमाउ थियो ।”
यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा १६ हजार बढी रियाक्सन, साढे आठ लाख बढी भ्युज, ६८० कमेन्ट आएका छन् । यस पोस्ट एक हजार भन्दा बढी पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
अनुसन्धान
यही पोस्टपछि फेसबुकमा ‘Balen’ कीवर्ड सर्च गर्दा ‘जनताको आवाज’ नामको फेसबुक पेजले सोही स्क्रिनशट पोस्ट गरेको भेटियो । उक्त पोस्टमा १४०० बढी रियाक्सन, १३९ कमेन्ट र १७७ शेयर आएका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रनशट ।
त्यसैगरी ‘बीएस बिन्दाश’ नामका फेसबुक प्रयोगकर्ताले ‘प्रेम डायरी’ नामको ग्रुपमा सोही स्क्रिनशट शेयर गरेका छन् । उक्त पोस्टमा ६२१ रियाक्सनम ५१ कमेन्ट र १२० ओटा शेयर आएका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
त्यसैगरी ‘मन छुने लाइनहरू’ नामको ग्रुपमा शेयर भएको एक अर्को पोस्टमा पनि उत्तिकै रियाक्सन छन् । उक्त पोस्टमा पनि बालेनको पेजको पोस्ट जस्तो देखिने स्क्रिनशट राखिएको छ । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा २४०० बढी रियाक्सन, ३२५ कमेन्ट र १७० शेयर आएका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
यही पोस्टको तथ्यजाँच गर्दा माथि फेला परेका स्क्रिनशटमा टिकटको यूआई देखिन्छ । यसैलाई आधार बनाएर हामीले टिकटकमा बालेनको नामबाट खोलिएको अकाउन्ट खोज्यौं । त्यस क्रममा भेटिएका सयौं अकाउन्टमध्ये ‘Balen881’ (भ्वाइस अफ युथ) नामको टिकटक अकाउन्टबाट उक्त पोस्ट अपलोड गरिएको पायौं । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा १९८ हजार लाइक, ४२०० बढी कमेन्ट र झण्डै आठ हजार अकाउन्टबाट सेभ गरिएको छ भने यसमा २७ लाख बढी भ्युज आएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
३७ हजार फलोअर र १७ लाख बढी लाइक भएको यस अकाउन्टबाट प्रायः सबै बालेनको पेजबाट राखिएको जस्तो देखिने पोस्टका स्क्रिनशट छन् ।
ती पोस्टमा उनले पूर्व राजा ज्ञानेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने, धरान उपमहानगरका प्रमुख हर्क सामपाङको समर्थन गरेको र प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गरेको जस्तो देखाइएको छ । रोचक कुरा के छ भने यस अकाउन्टबाट अपलोड भएका प्रायः सबै पोस्ट नक्कली हुन् । प्रायः सबैमा पछिबाट क्याप्सन थपिएका छन् ।
सामाजिक सञ्जाललाई सरकारले निष्क्रिय बनाएको विषयमा बालेनले लेखेको भन्ने पोस्ट खोज्न हामीले उनको आधिकारिक पेजमा हेर्यौं । त्यस क्रममा शुक्रबार बालेनले व्यङ्ग्यात्मक पोस्ट राखेको पाइयो । उनले लेखेका छन्, “फेस्बुक बन्द गरेरनि तनाब हुदो रैछ, अब अरुले काम गरेको मात्र देख्ने भए, बोलेको नसुन्ने भए !! गाह्रोछ हामी जस्तो भासन दिनेहरुलाई!”
त्यसअघि ३० अगस्टमा बालेनले प्रधानमन्त्री ओलीको चीन भ्रमणका लागि शुभकामना दिंदै लिपुलेकको विषयमा कुरा राख्न आग्रह गरेका थिए ।
उक्त पोस्टमा उनले फोटो भने राखेका थिएनन् । हाल भाइरल भइरहेको भिडिओ भने ओली चीन भ्रमणमा रहेको बेला खिचिएको फोटो रहेको छ । उक्त फोटो राखेर हालसम्म बालेनलले कुनै किसिमको पोस्ट राखेका छैनन् । हामीले उनको फेसबुक अकाउन्टमा पनि खोज्यौं । तर, त्यस्तो पोस्ट कतै फेला परेन ।
यी विभिन्न आधारबाट काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालको विरोध गर्दै नेताहरूलाई चेतावनी दिएको जस्तो देखिने पोस्ट मिथ्या रहेको पुष्टि भएको छ ।
दाबी
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सामाजिक सञ्जाल निष्क्रिय’को विषयमा आफ्नो धारणा राख्दै नेतालाई थर्काएको, देश रेमिटेन्सले चलेको र सामाजिक सञ्जाल बन्द गर्ने कदम नेताको भ्रष्टाचार लुकाउने खेल हो भनी लेखेको स्टाटस सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो स्टाटसमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री रघुजी पन्तको फोटो पनि राखिएको छ ।
दाबीकर्ता
‘पनौती बुडी’, ‘जनताको आवाज’, ‘बीएस बिन्दाश’ (‘प्रेम डायरी’ ग्रुपमा), ‘मन छुने लाइनहरू’ (ग्रुपमा) लगायतका फेसबुक पेज तथा अकाउन्ट र ‘Balen881’ (भ्वाइस अफ युथ) नामको टिकटक अकाउन्ट ।
तथ्य
टेकपाना फ्याक्टचेकले बालेनले यस्तो कुनै पनि पोस्ट नलेखेको पुष्टि गरेको छ । वास्तवमा बालेनको फेसबुक पेज पोस्टको स्क्रिनशटलाई तोडमोड गर्दै उनले लेख्दै नलेखेको पोस्ट नक्कली आईडीबाट सार्वजनिक गरिएको हो । बालेनले फेसबुक बन्द भए तनाव हुने बारे व्यङ्ग्यात्मक पोस्ट मात्र गरेका थिए । उक्त पोस्टमा उनले “फेस्बुक बन्द गरेरनि तनाब हुदो रैछ, अब अरुले काम गरेको मात्र देख्ने भए, बोलेको नसुन्ने भए !! गाह्रोछ हामी जस्तो भासन दिनेहरुलाई!” लेखेका थिए ।
हाल भाइरल भइरहेको भिडिओमा प्रयोग भएको प्रधानमन्त्री ओली चीन भ्रमणमा रहेको बेला खिचिएको फोटो राखेर बालेनले कुनै पनि पोस्ट गरेका छैनन् । बालेनको आधिकारिक फेसबुक अकाउन्टमा खोज्दा पनि भाइरल पोस्ट जस्तो कुनै सामग्री फेला परेको छैन ।
निष्कर्ष
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालको विरोध गर्दै नेतालाई चेतावनी दिएको जस्तो देखिने भाइरल पोस्ट मिथ्या हो । उनले त्यस्तो कुनै पनि स्टाटस लेखेका छैनन्, बरु उनको नामको नक्कली आईडीबाट बालेनको पोस्टको स्क्रिनशटलाई तोडमोड गरी यो झुटा दाबी सामाजिक सञ्जालमा फैलिएको हो ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।
पछिल्लो अध्यावधिक: भदौ २१, २०८२ १९:१७
