close

'नेपो बेबी'को नाममा छोरी-ज्वाइँलाई एक्सपोज गरिएकोमा महेश बस्नेतको आपत्ति, भनेः अपराधी तत्वहरू

टेकपाना टेकपाना

भदौ २२, २०८२ १३:५६

'नेपो बेबी'को नाममा छोरी-ज्वाइँलाई एक्सपोज गरिएकोमा महेश बस्नेतको आपत्ति, भनेः अपराधी तत्वहरू

काठमाडौँ । एमाले नेता तथा पूर्व मन्त्री महेस बस्नेतले 'नेपो बेबी'को नाममा आफ्ना छोरी-ज्वाइँलाई एक्सपोज गरिएकोमा आपत्ति जनाएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै यो सबे अपराधी तत्वको काम भएको र तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका हुन् ।

"अहिले चर्चामा आएको 'Gen Z Nepo baby अभियान' कुनै स्वतन्त्र वा रचनात्मक आन्दोलन होइन । यो पुनरुत्थानवादी र अराजकतावादी प्रवृत्तिले सोसल मिडिया तथा पेड मिडियालाई हतियार बनाएर राज्य, त्यसका संयन्त्र, स्थापित दल र नेताहरूमाथि बदनाम अभियान सञ्चालन गर्न थालेको घिनलाग्दो प्रयास असफल भएपछि तिनै तत्वहरूले आफ्नो असफलता ढाकछोप गर्न र गलत लोकप्रियता कमाउन यसलाई अफवाहका रूपमा प्रयोग गरिरहेका छन्," उनले लेखेका छन् ।

"यसै सन्दर्भमा मेरो छोरीको विवाहजस्तो पवित्र पारिवारिक अवसरलाई समेत ईर्ष्या र द्वेषका आधारमा टिकटकमार्फत तोडमोड गरी गलत प्रचार गरिएकोप्रति म गम्भीर आपत्ति प्रकट गर्दछु ।"

बस्नेतले आफ्ना छोरी, ज्वाइँ वा परिवारले नातावाद, कृपावाद वा राज्यका कुनै सेवा–सुविधा अनुचित रूपमा प्रयोग नगरेको दाबी समेत गरे । "छ भने पुष्टि गराउन चुनौती दिन्छु । मेरो र मेरो परिवारको सम्पत्ति तथा जीवनशैली पूर्ण पारदर्शी छ र म गौरवपूर्वक जुनसुकै स्थानमा यसको पुष्टि गर्न सक्छु," उनले भनेका छन् ।

आफ्नी चिकित्सक छोरी र राष्ट्रसेवक ज्वाइँको सामाजिक मर्यादामा आँच आउने, मानसिक यातना दिने र भ्रम फैलाउने गतिविधि आपराधिक प्रकृतिका भएको समेत उनले बताएका छन् ।

"साथै रास्वपाका केही विवादित व्यक्तिहरूले आफ्ना व्यक्तिगत झगडा र लफडासम्ममा मेरो नाम जोड्ने प्रयास गरेको समेत देखिन्छ । यस्तो प्रवृत्तिको म कडा भर्त्सना गर्दछु," उनले चेतावनी दिँदै अगाडि भनेका छन्, "टिकटकजस्ता सामाजिक सञ्जाललाई अपराध र द्वेष फैलाउने माध्यम नबनाइयोस् ।"

पछिल्लो अध्यावधिक: भदौ २२, २०८२ १३:५६