सरकारले इन्टरनेट नै बन्द गरे पनि च्याट गर्न मिल्ने बिटच्याट, यसरी सकिन्छ सजिलै चलाउन
भदौ २३, २०८२ २१:४४
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले अन्तर्राष्ट्रिय इन्टरनेट ट्राफिकमा देखिएको निरन्तर वृद्धिका कारण सेवा प्रदायकको नेटवर्कमा अत्यधिक चाप परिरहेको भन्दै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई सचेत गराएको छ । आईस्पानका अनुसार यसले गर्दा ब्यान्डविथ साँघुरिने (ब्यान्डविथ चकिङ) समस्या देखिन सक्छ । यसको सिधा असर आम इन्टरनेट प्रयोगकर्ताले भोग्नुपर्ने हुन्छ र इन्टरनेट सेवा अवरुद्ध समेत हुनसक्छ ।
यस्तो अवस्थामा नजिकका व्यक्तिसँगै सम्पर्कमा रहन कठिन हुनसक्छ । यही सन्दर्भमा इन्टरनेट वा मोबाइल डेटा बिनै चल्ने एउटा नयाँ मेसेजिङ एप ‘बिटच्याट’ (Bitchat) को चर्चा सुरु भएको छ । यो एप ट्वीटर (हालको एक्स) का सह-संस्थापक ज्याक डोर्सीको नयाँ ओपन-सोर्स प्रोजेक्ट हो ।
के हो बिटच्याट र यसले कसरी काम गर्छ ?
बिटच्याट एउटा पियर-टु-पियर अफलाइन मेसेजिङ एप हो, जसलाई चलाउन इन्टरनेट वा मोबाइल नेटवर्कको आवश्यकता पर्दैन । यसले ब्लुटुथको माध्यमबाट मेसेज आदानप्रदान गर्छ ।
ब्लुटुथ मेस नेटवर्क: बिटच्याटले ‘ब्लुटुथ लो एनर्जी’ (बीएलई) प्रोटोकल प्रयोग गर्छ, जसले ब्याट्री खपत निकै कम गर्छ । यसमा हरेक फोन आफैंमा मेसेज पठाउने (sender) र त्यसलाई अगाडि बढाउने (relay) दुवैको काम गर्छ । यसले गर्दा एउटा ब्लुटुथको सीमित दायराभन्दा धेरै टाढासम्म मेसेज पठाउन सकिने एउटा मेस नेटवर्क बन्छ । मेसेज एक फोनबाट अर्को फोनमा उफ्रिँदै (hop) आफ्नो गन्तव्यसम्म पुग्छन् । यो प्रविधि एप्पलको एयरट्यागले अन्य आईफोनको नेटवर्क प्रयोग गरेर आफ्नो लोकेसन पठाउने तरिका जस्तै हो ।
विकेन्द्रीकृत प्रणाली: यसमा कुनै केन्द्रीय सर्भर हुँदैन । सबै कुरा प्रयोगकर्ताकै फोनले बनाएको ब्लुटुथ मेस नेटवर्कमा चल्ने भएकाले यो पूर्ण रूपमा विकेन्द्रीकृत छ ।
सुरक्षाको पक्ष कस्तो छ ?
बिटच्याटले मेसेजलाई सुरक्षित राख्न ‘Noise XX handshake’ नामक सुरक्षा प्रोटोकल प्रयोग गरेको छ । यो प्रोटोकलले कुराकानी गरिरहेका प्रयोगकर्ताहरूबिच हरेक ५ देखि १५ मिनेटमा अस्थायी ‘की’ (ephemeral key) परिवर्तन गरिरहन्छन् । यसले गर्दा तपाईंलाई ट्र्याक गर्न लगभग असम्भव हुन्छ र कुराकानी पूर्ण रूपमा गोप्य रहन्छ । तर, यो एपको सुरक्षामाथि केही प्रश्न भने उठेका छन् ।
कस्तो अवस्थामा उपयोगी ?
इन्टरनेट वा मोबाइल नेटवर्क नभएको अवस्थामा यो एप निकै उपयोगी हुनसक्छ । उदाहरणका लागिः
-
कन्सर्ट, मेला वा खेलकुद जस्ता भिडभाड हुने कार्यक्रममा जहाँ मोबाइल नेटवर्कले काम गर्दैन ।
-
प्रदर्शन वा आन्दोलन जस्ता अवस्था जहाँ सरकारले इन्टरनेट बन्द गर्नसक्छ ।
-
गोप्य व्यावसायिक बैठकहरूमा ।
-
पत्रकारले आफ्नो स्रोतको सुरक्षाका लागि ।
प्रयोगकर्ताको अनुभव र हालको अवस्था
यो एप एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्मका लागि उपलब्ध छ । यहाँ क्लिक गरेर एन्ड्रोइड प्रयोगकर्ताले र यहाँ क्लिक गरेर आईओएस प्रयोगकर्ताले एप इन्स्टल गर्न सक्नुहुन्छ ।
-
सबैभन्दा पहिले एप खोल्नुहोस् ।
-
अनि लोकेसन, ब्लुटुथ आदिको एक्सेस दिनुहोस् ।
-
यति गरेपछि एप खुल्छ ।
-
माथि दायाँपट्टि रहेको ‘bitchat/@...” रहेको अप्सनमा ट्याप गरेर आफ्नो नाम परिवर्तन गर्न सक्नुहुन्छ ।
-
दाँयापट्टि रहेको ‘#tuutmz’ (तपाईंकोमा फरक पर्न सक्छ) को अप्सनमा ट्याप गरेर विभिन्न ग्रुप फेला पार्न सक्नुहुन्छ । त्यसमा ‘१०-५०’ मिटर रेन्जभित्रका प्रयोगकर्ताको सूची देखिन्छ । त्यसमा ट्याप गरेर ५० मिटर रेन्जभित्र उक्त एप खोलेर च्याट गर्ने व्यक्तिसँग च्याट गर्न सक्नुहुन्छ ।
-
त्यस्तै ०.२ किलोमिटर, १.२ किलोमिटर, ४.९ किलोमिटर लगायतका रेन्जमा कुरा गर्न सकिन्छ ।
-
अन्तिममा रहेको #geohash मा ट्याप गरेर आफ्नै टेलिपोर्ट बनाउन सक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: भदौ २३, २०८२ २१:४४
