close

फ्याक्टचेकः सोमबार संसद् भवनमा ३२ जना बेपत्ता युवा मृत फेला परेको भन्दै अपुष्ट सूचना भाइरल

हिक्मत आचार्य हिक्मत आचार्य

भदौ २४, २०८२ २२:४४

फ्याक्टचेकः सोमबार संसद् भवनमा ३२ जना बेपत्ता युवा मृत फेला परेको भन्दै अपुष्ट सूचना भाइरल

काठमाडौँ । सोमबारदेखि संघीय संसद् भवनमा प्रदर्शनमा गएका ३२ जेन-जी प्रदर्शनकारी बेपत्ता पारिएको सूचना भाइरल भयो । मङ्गलबार बेपत्ता पारिएका ३२ जना मृत भेटिएको भन्ने अर्को सूचना भाइरल भयो । युट्युबर भाग्य न्यौपानेले एक भिडिओमार्फत ‘हिजो बेपत्ता भएका ३२ जना संसद् भवनभित्र मृत भेटिएको भन्ने समाचार आएको छ’ भनेका छन् । त्यसपछि ३२ जनाको शव भेटिएको भन्दै अन्य पोस्ट भाइरल भइरहेका छन् । टेकपाना फ्याक्टचेकले यो जानकारी अपुष्ट रहेको पाएको छ ।

दाबी

सोमबार सामाजिक सञ्जाल फेसबुक, एक्स लगायतमा प्रदर्शनमा सहभागी ३२ युवालाई संसद् भवनभित्र बन्धक बनाएर राखिएको भन्ने पोस्ट फैलियो । एक्समा विष्णु पोखरेल नामका एक प्रयोगकर्ताले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर राख्दै लेखेका छन्, “यसले ३२ जना युवा साथीहरूलाई संसद् भवनभित्र बन्धक बनाएर राखेको छ रे, २० जनाको रगत खाँदा पनि पुगेन?? खबरदार ३२ जना गायब बनाउलास्!” (हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट)

मङ्गलबार ३२ जनाको शव भेटिएको भन्ने पोस्टहरू भाइरल भए । त्यसैलाई आधार मान्दै गायक शिव परियारले लेखे, “हिजो बेपत्ता पारिएका ३२ जना संसद् भवनभित्र मृत फेला भन्ने खबर छ, के यो सत्य हो?” (हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट)

अनुसन्धान

टेकपाना फ्याक्टचेकले यस विषयमा अनुसन्धान गर्ने क्रममा फेसबुक र एक्समा यस्ता धेरै दाबीहरू भेट्टायो । सोही क्रममा आफूलाई पत्रकार बताउने युट्युबर भाग्य न्यौपानेले भाइरल दाबीलाई बल पुग्ने गरी भनेको भिडिओ भेटियो, “हिजो बेपत्ता भएका ३२ जना संसद् भवनभित्र मृत भेटिएको भन्ने समाचार आएको छ ।” (हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट)

यसै सिलसिलामा मङ्गलबार संसद् भवनभित्र ३२ जना मृत भेटिएको दाबीसहितको अर्को पोस्ट पनि भेटियो, जसमा छ जना मृत व्यक्तिको तस्बिर राख्दै ३२ जनाको शव भेटियो भनिएको छ । यो तस्बिरलाई रिभर्स इमेज सर्च गर्दा कुनै विश्वसनीय जानकारी भेटिँदैन ।

हामीले ३२ जनाको शव भेटिएको विषयमा समाचार खोज्यौँ । तर, कुनै पनि नेपाली सञ्चार माध्यमले सोमबार संसद् भवनभित्र ३२ जना बेपत्ता पारिएको र मङ्गलबार उनीहरूको शव भेटिएको भन्ने समाचार प्रकाशित गरेको पाइएन । बरु, ‘न्युज अफ नेपाल’ले मङ्गलबार बिहानसम्म मृतकको सङ्ख्या २० पुगेको उल्लेख गरेको छ । यो सामग्री तयार पार्दासम्म मृतकको यकिन सङ्ख्या बाहिर आएको छैन ।

माथि उल्लिखित विभिन्न पक्षलाई आधार मान्दा सोमबार संसद् भवनभित्र ३२ जना बेपत्ता पारिएको र मङ्गलबार उनीहरूको शव भेटिएको भन्ने दाबी अपुष्ट देखिन्छ ।

दाबी

जेन-जीको प्रदर्शनका क्रममा सोमबार संसद् भवनमा ३२ जना युवा बेपत्ता पारिए । मङ्गलबार ती बेपत्ता ३२ जना संसद् भवनभित्र मृत अवस्थामा फेला परे ।

दाबीकर्ता

युट्युबर भाग्य न्यौपाने, गायक शिव परियार, 'एक्स' प्रयोगकर्ता विष्णु पोखरेल, फेसबुक र एक्स जस्ता सामाजिक सञ्जालका अन्य अकाउन्ट र पेज ।

तथ्य

कुनै पनि विश्वसनीय नेपाली सञ्चार माध्यमले ३२ जना बेपत्ता पारिएको वा उनीहरूको शव भेटिएको समाचार प्रकाशित गरेका छैनन् । भाइरल पोस्टमा प्रयोग गरिएको ६ जना मृत व्यक्तिको तस्बिरलाई 'रिभर्स इमेज सर्च' गर्दा कुनै विश्वसनीय जानकारी भेटिएन । यो घटनासँग सम्बन्धित मृतकको यकिन सङ्ख्या बाहिर आएको छैन ।

निष्कर्ष
सोमबार सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, बढ्दो भ्रष्टाचार, बेथिती र नेपाली राजनीतिज्ञका सन्तानको विलासी जीवनशैलीको विरोध गर्दै आन्दोलनमा उत्रिएको जेन-जीमध्ये ३२ जना संसद् भवनभित्र बेपत्ता पारिएको र मङ्गलबार उनीहरूको शव भेटिएको भन्ने दाबी अपुष्ट छ ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: भदौ २४, २०८२ २३:१५