close

‘संसद भवनमा ३२ जना मृत फेला’ भन्ने खबर झुटो हो: नेपाल प्रहरी

टेकपाना टेकपाना

भदौ २५, २०८२ ९:३६

‘संसद भवनमा ३२ जना मृत फेला’ भन्ने खबर झुटो हो: नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले ‘बेपत्ता भएका ३२ जना संसद भवनभित्र मृत फेला’ भन्ने शीर्षकमा सामाजिक सञ्जालमा फैलिएको समाचार पूर्ण रूपमा भ्रामक र झुटो भएको स्पष्ट पारेको छ । प्रहरीले अन्य देशमा घटेका पुराना घटनाका हिंसात्मक तस्बिर प्रयोग गरी हालको आन्दोलनलाई जोडेर सर्वसाधारणमा डर र त्रास फैलाउने प्रयास भइरहेको भन्दै यस्ता सामग्री शेयर नगर्न सबैलाई आग्रह गरेको हो ।

प्रहरीले बुधबार जारी गरेको सूचनामा लेखिएको छ, “अन्य देशमा घटेको पुरानो घटनाको हिंसात्मक तस्बिरलाई प्रयोग गरी हाल भइरहेको आन्दोलनमा ‘बेपत्ता भएका ३२ जना संसद भवनभित्र मृत फेला’ भनी शीर्षक राखेर भ्रामक समाचार सामाजिक सञ्जालमा फैलाइरहेको सम्बन्धमा नेपाल प्रहरीको ध्यानाकर्षण भएको छ ।”

प्रहरीले यस्तो विषम परिस्थितिमा जनमानसमा डर, त्रास फैलाउने र स्थितिलाई थप भड्काउने किसिमका भ्रामक तथा नकारात्मक समाचार सिर्जना गरी फैलाउने कार्य नगर्न र नगराउन हुन सबैमा अनुरोध गरेको छ । प्रहरीले सार्वजनिक गरेको सूचनामा सामाजिक सञ्जालमा शेयर भइरहेका केही स्क्रिनशटहरू पनि समावेश छन् । तीमध्ये एक पोस्ट सन् २०२४ मै गरिएको देखिन्छ, जसले यो पुरानो र गलत सूचनालाई पुनः फैलाएर समाजमा अशान्ति मच्चाउन खोजिएको पुष्टि गर्छ ।

प्रहरीले नागरिकहरूलाई कुनै पनि समाचार वा जानकारीको सत्यता पुष्टि नगरी विश्वास नगर्न र शेयर नगर्न सल्लाह दिएको छ ।

पछिल्लो अध्यावधिक: भदौ २५, २०८२ ९:४२