काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह 'बालेन'ले तत्कालका लागि अन्तरिम सरकारको प्रमुखमा जेन-जी समूहहरूबाट प्रस्तावित सुशीला कार्कीको नाममा समर्थन जनाएका छन् । बुधबार राति सामाजिक सञ्जालमा एक पोस्ट राख्दै उनले अन्य आकाक्षीहरूलाई स्थायी सरकारका लागि तयार हुन आग्रह गर्दै तत्कालको नेतृत्वमा हानथाप नगर्न सुझाएका हुन् ।
जेन–जी तथा सम्पूर्ण नेपालीहरूलाई सम्बोधन गर्दै उनले अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा रहेकाले नआत्तिन र धैर्य राख्न आह्वान समेत गरेका छन् । "अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ । यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने र देशलाई नयाँ जनादेश दिने हो," उनले भनेका छन् ।
यो अन्तरिम तथा चुनावी सरकारको नेतृत्वका लागि कार्कीलाई प्रधानमन्त्री बनाउने जेन-जीहरूको प्रस्तावमा आफ्नो पूर्ण समर्थन रहेको भन्दै बालेनले जेन-जीहरूको सुझबुझ, विवेक र एकताको प्रशंसा समेत गरेका छन् । अहिले नै हतारमा नेतृत्वमा आउन चाहेका आकाङ्क्षी धरानका मेयर हर्क साम्पाङप्रति लक्षित गर्दै बालेनले भनेका छन्, "तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन । त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला ।"
उनले जेन-जीहरूले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन तत्काल गर्न राष्ट्रपतिलाई अनुरोध समेत गरेका छन् । देशलाई सङ्क्रमणकालीन रूपमा अगाडि बढाउन कार्कीको कानुनी ज्ञान र इमान्दारितामाथि धेरैले विश्वास गरेका छन् । तर कतिपयले संविधानको व्यवस्थाले नै प्रधान न्यायाधीश रहिसकेको व्यक्ति सरकार प्रमुख बन्न नसक्ने तर्क समेत गरिरहेका छन् ।
यद्यपि प्रधान न्यायाधीशको रूपमा कार्कीकै कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्की पदमुक्त भएका थिए । उनको भ्रष्टाचार विरोधी छवि पनि छ । सोमबारदेखि सुरु भएको जेन-जीको आन्दोलनमा चर्को प्रहरी दमन भएपछि पूर्व प्रधानन्यायाधीश कार्की आफैँ सडकमा उत्रिएकी थिइन् ।
उनले कानुनी लगायत देशका महत्त्वपूर्ण विषयहरूमा आफ्नो स्पष्ट र साहसपूर्ण अभिव्यक्ति दिने गरिकी छिन् । एक-अर्कामाथि अविश्वास गरेका राजनीतिक दलहरूले सहमतिको आधारमा तत्कालीन प्रधान न्यायाधीश खिलराज रेग्मीलाई चुनावी मन्त्रीपरिषद्को नेतृत्व सुम्पिएका थिए । दोस्रो संविधानसभा निर्वाचन गराउन उनले ९ चैत २०६९ मा चुनावी सरकारको प्रमुख बनेर ११ महिना सत्ता सञ्चालन गरेका थिए ।
तत्कालीन समयमा समेत बहालवाला प्रधान न्यायाधीशलाई सरकार प्रमुख बनाउने विषय विवादास्पद रहेको भए पनि उनैले संविधानसभा निर्वाचन सम्पन्न गराए र नेपालले नयाँ संविधान पाएको थियो । सोही नजिरको आधारमा वर्तमान समयमा पूर्व प्रधान न्यायाधीश कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाएर उनकै नेतृत्वमा चुनाव गराउन सकिने विषयमा अहिले बहस चलिरहेको छ ।
यस पटक उनी बहालवाला प्रधान न्यायाधीश समेत नरहेकोले कार्की जत्तिकै योग्य र सर्वमान्य विकल्प अहिलेको लागि अर्को पात्र अरू नभएको विषयमा आम सहमतिको वातावरण बन्ने अपेक्षा गरिएको छ । अहिलेको अराजक अवस्थामा विश्वासको ठुलो छलाङ मार्नुपर्ने आवश्यकता समेत रहेकाले सम्भवतः अब चुनावी तथा अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीकै हुने सम्भावना बढेको छ ।
पछिल्लो अध्यावधिक: भदौ २५, २०८२ २३:८
