close

जेन-जी आन्दोलनको बलमा प्रधानमन्त्री बनिन् सुशीला कार्की, ६ महिनाभित्र चुनाव गराउने म्यान्डेट

टेकपाना टेकपाना

भदौ २७, २०८२ २२:३४

जेन-जी आन्दोलनको बलमा प्रधानमन्त्री बनिन् सुशीला कार्की, ६ महिनाभित्र चुनाव गराउने म्यान्डेट

काठमाडौँ । २३ र २४ भदौमा जेन-जी पुस्ताले गरेको आन्दोलनको बलमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी छन् । शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खाएसँगै कार्की नेपालको प्रथम महिला प्रधानमन्त्री बन्न सफल भएकी हुन् । 

राष्ट्रपति पौडेलले मुलुकमा उत्पन्न विषम तथा असाधारण परिस्थितिलाई सम्बोधन गर्दे युवा पुस्ताद्वारा प्रकट गरिएको इच्छा र आकाङ्क्षा अनुसार राजनीतिक दल तथा सरोकारवालासँगको परामर्श पछि नेपालको संविधानबमोजिम कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका छन् । अन्तरिम मन्त्रिपरिषद्की प्रधानमन्त्री कार्कीलाई अबको ६ महिना भित्र प्रतिनिधि सभाको निर्वाचन गराउने म्यान्डेड दिइएको छ ।

“राष्ट्रपतिका अन्तरनिहीत संवैधानिक अधिकार प्रयोग गरी नेपालको संविधानको पालना र संरक्षण एवम् नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकोले राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिस र सम्मतिको आधारमा नेपालको संविधानले राष्ट्रपतिलाई सुम्पिएको संवैधानिक प्रतिबन्धात्मक व्यवस्था बमोजिम ६ महिनाभित्र प्रतिनिधि सभाको अर्को निर्वाचन गर्ने गरी कार्कीको नेतृत्वमा अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिएको छ,” राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।   

शुक्रबार प्रधानमन्त्री कार्कीले मात्रै शपथ लिएकी छन् । सरकारका सबै मन्त्रालय अहिलेलाई प्रधानमन्त्री कार्कीले नै सम्हाल्ने छिन् ।

शपथ ग्रहण समारोहमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ लगायत सहभागी थिए । यस्तै, उद्यमी संजोग कोइराला, अशीममान सिंह बस्नेत, गोविन्द नारायणलगायत पनि सरिक थिए । अमेरिका, भारत, चीनलगायतका राष्ट्रका राजदूत पनि शपथ ग्रहण समारोहमा भाग लिन शीतल निवास पुगेका थिए । 

 

पछिल्लो अध्यावधिक: भदौ २९, २०८२ ९:३८