काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट हस्तान्तरण नगरेको पाइएको छ । ती अकाउन्टहरूमा अझै पनि ओलीकै तस्बिर र विवरणहरू राखिएका छन् ।
प्रधानमन्त्री कार्यालयको ‘@PMO_nepal_’ नामक एक्स ह्यान्डलमा सात लाख २३ हजारभन्दा बढी फलोअर छन् । तर, सरकार परिवर्तन भएको यतिका दिन बितिसक्दा पनि यस ह्यान्डलको प्रोफाइल र कभर फोटोमा ओलीकै तस्बिर छ। १० दिनअघि (सेप्टेम्बर ३ मा) ओली चीन भ्रमणबाट फर्किएको जानकारी पोस्ट भएयता यो ह्यान्डल पूर्ण रूपमा निष्क्रिय छ।
यस्तै अवस्था फेसबुकमा पनि छ । १६ हजार फलोअर रहेको प्रधानमन्त्री कार्यालयको आधिकारिक पेजमा पनि ओलीकै तस्बिर र पुरानै विवरण छन् ।
इन्स्टाग्राम र टिकटकका आधिकारिक अकाउन्टहरूमा पनि नयाँ सरकारबारे कुनै अद्यावधिक गरिएको छैन।
टिकटकमा ओलीकै तस्बिर छ भने इन्स्टाग्राममा नेपालको निशान छाप राखिए पनि लामो समयदेखि निष्क्रिय छ ।
यता निवर्तमान प्रधानमन्त्री ओलीले भने आफ्ना व्यक्तिगत सामाजिक सञ्जालका अकाउन्टहरूमा आफ्नो बायो परिवर्तन गरी 'नेपालको पूर्व प्रधानमन्त्री' लेखिसकेका छन् ।
पछिल्लो अध्यावधिक: भदौ २८, २०८२ १७:२
