close

आईफोन १७ः दुवै क्यामेराले एकसाथ काम गर्ने, टिकाउ ब्याट्री, सुरुवाति स्टोरेज नै २५६ जीबी

टेकपाना टेकपाना

भदौ २९, २०८२ ९:३५

आईफोन १७ः दुवै क्यामेराले एकसाथ काम गर्ने, टिकाउ ब्याट्री, सुरुवाति स्टोरेज नै २५६ जीबी

काठमाडौँ । ९ सेप्टेम्बर, २०२५ मा एप्पलले आफ्नो बहुप्रतीक्षित आईफोन १७ सिरिज सार्वजनिक गरेको छ । जसमा आईफोन १७, आईफोन एयर, आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्स गरी चार नयाँ मोडलहरू समावेश छन् ।

यो नयाँ लाइनअपमा डिस्प्ले, क्यामेरा सिस्टम, कार्यसम्पादन र ब्याट्री लाइफमा महत्त्वपूर्ण सुधारहरू गरिएको छ, जसले स्मार्टफोन बजारमा एप्पलको उपस्थितिलाई अझ बलियो पार्ने अपेक्षा गरिएको छ । प्रि-अर्डर १२ सेप्टेम्बरदेखि सुरु भइसकेको छ भने यो नयाँ आईफोनहरू १९ सेप्टेम्बरदेखि उपलब्ध हुनेछन् । त्यस मध्ये यहाँ आईफोनको बेस मोडल आईफोन १७ कस्तो छ भन्ने विषयमा चर्चा गर्दै छौँ ।

आईफोन १७ एप्पलको सबैभन्दा किफायती फ्ल्यागशिप आईफोन हो । जसको मूल्य ७९९ अमेरिकी डलरबाट सुरु हुन्छ । यो मोडेलमा यसपालि केही 'प्रो' फिचरहरू पनि समावेश गरिएका छन्, जसले यसलाई धेरै उपभोक्ताका लागि एउटा राम्रो विकल्प बनाएको छ ।

सबै आईफोन १७ सिरिजका मोडलहरूमा आईओएस २६ र नयाँ एप्पल इन्टेलिजेन्स क्षमताहरू समावेश छन् । आईओएस २६ ले लिक्विड ग्लास डिजाइनका साथै लाइभ ट्रान्सलेसन, भिजुअल इन्टेलिजेन्स र अफलाइन एआई जस्ता सुविधाहरू प्रदान गर्दछ । कल र मेसेजका लागि नयाँ स्क्रिनिङ टुलहरू पनि दिइएका छन् । कारप्ले, एप्पल म्युजिक, प्याप्स, वालेट र नयाँ एप्पल गेम्स एपमा पनि सुधारहरू गरिएको छ ।

डिस्प्ले: यसमा ६.३ इन्चको सुपर रेटिना एक्सडीआर डिस्प्ले छ, जुन अघिल्लो ६.१ इन्च मोडलभन्दा ठुलो र उज्यालो छ । यसमा पहिलो पटक प्रोमोसन डिस्प्ले प्रविधि (१२० हर्ज सम्म) र अल्वेज-अन डिस्प्ले समावेश गरिएको छ । जसले स्क्रोलिङलाई थप सहज र गेम खेल्नलाई इमर्सिभ बनाउँछ । बाहिरी प्रकाशमा यसको उच्चतम ब्राइटनेस ३००० निट्स रहेको छ । जुन आईफोनहरू मध्येमा अहिलेसम्मकै उच्च हो ।

डिजाइन र टिकाउपन: आईफोन १७ को अगाडिको भाग सेरामिक शिल्ड २ द्वारा सुरक्षित छ, जसले अघिल्लो जेनेरेसनको तुलनामा ३ गुणा राम्रो स्क्र्याच प्रतिरोध प्रदान गर्दछ र यसमा घामको चमक कम गर्ने एन्टी-रिफ्लेक्शन कोटिङ पनि छ । फोन आल्मुनियम फ्रेम र फ्रस्टेड ग्लास ब्याकको साथ आउँछ । यसमा डाइनामिक आइल्यान्ड र एक्सन बटन पनि यथावत् छन्। यो कालो, ल्याभेन्डर, मिस्ट ब्लु, से, र सेतो गरी पाँच वटा आकर्षक रङ्गहरूमा उपलब्ध हुनेछ ।

प्रोसेसर र कार्यसम्पादन: यसमा नयाँ जेनेरेसनको ए १९ चिप प्रयोग गरिएको छ, जसले उच्च कार्यसम्पादन र लामो आयु सुनिश्चित गर्दछ । ए १९ चिप तेस्रो पुस्ताको ३ नानोमिटर प्रविधिमा आधारित छ र यसमा ६ कोर सीपीयू (ए१५ बायोनिक चिपभन्दा १.५ गुणा छिटो) र ५ कोर जीपीयू (ए१५ बायोनिक भन्दा २ गुणा छिटो) छ । यसमा ८ जीबी र्‍याम रहेको छ ।

क्यामेरा सिस्टम: आईफोन १७ मा नयाँ सेन्टर स्टेज फ्रन्ट क्यामेरा रहेको छ, जसले सेल्फीको अनुभवलाई नयाँ उचाइमा पुर्‍याउँछ । यो पहिलो स्क्वायर फ्रन्ट क्यामेरा सेन्सर हो, जसले १८ एमपीसम्मको फोटोका लागि फराकिलो फिल्ड अफ भ्यु र उच्च रिजोल्युसन प्रदान गर्दछ । प्रयोगकर्ताहरूले फोनलाई ठाडो राखेर पोट्रेट वा ल्यान्डस्केपमा फोटो र भिडिओ खिच्न सक्छन् ।

ग्रुप शटका लागि सेन्टर स्टेजले एआई प्रयोग गरी फिल्ड अफ भ्युलाई स्वतः विस्तार गर्दछ । यसमा शक्तिशाली ४८ एमपी डुअल फ्युजन क्यामेरा सिस्टम छ, जसमा अप्टिकल क्वालिटी २x टेलिफोटोसहितको ४८ एमपी फ्युजन मेन क्यामेरा र नयाँ ४८ एमपीकै फ्युजन अल्ट्रा वाइड क्यामेरा समावेश छ । यसले फोरके एचडीआरमा अल्ट्रा स्टेबलाइज्ड भिडिओ रेकर्ड गर्न सक्छ र डुअल क्याप्चर सुविधाले अगाडि र पछाडिका दुवै क्यामेराबाट एकैसाथ रेकर्डिङ गर्ने अनुमति दिन्छ ।

ब्याट्री: आईफोन १७ मा पुरा दिन टिक्ने ब्याट्री लाइफ पाउन सकिन्छ । प्रोमोसनको साथमा यसले ३० घण्टासम्म भिडिओ प्लेब्याक गर्न सक्छ, जुन अघिल्लो पुस्ताभन्दा आठ घण्टा बढी हो । यो फोन ४० वाट यूएसबी सी पावर एडप्टरको सहयोगमा २० मिनेटमा ५० प्रतिशतसम्म चार्ज हुन सक्छ ।

स्टोरेज र कनेक्टिभिटी: आईफोन १७ को स्टोरेज २५६ जीबीबाट सुरु हुन्छ, जुन अघिल्लो पुस्ताको इन्ट्री-लेभल स्टोरेजको दोब्बर हो । साथै यसमा ५१२ जीबीको विकल्प पनि उपलब्ध छ । यसमा एन वन नामक नयाँ एप्पलकै डिजाइनमा बनेको वायरलेस नेटवर्किङ चिप छ, जसले वाई-फाई ७, ब्लुटुथ ६ र थ्रेडलाई साथ दिन्छ । यसमा यूएसब-सी पोर्ट छ । 

पछिल्लो अध्यावधिक: भदौ २९, २०८२ १०:५८