close

आगजनीले यातायात विभाग क्षतिग्रस्त, देशैभर रोकियो लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटको काम

टेकपाना टेकपाना

भदौ २९, २०८२ १३:२२

आगजनीले यातायात विभाग क्षतिग्रस्त, देशैभर रोकियो लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटको काम

काठमाडौँ । २४ भदौमा जेन-जी पुस्ताको आन्दोलनका क्रममा यातायात व्यवस्था विभागमा गरिएको आगजनीले केन्द्रीय सर्भरमा क्षति पुग्दा देशभरका यातायात कार्यालयले दिने सबै सेवा अनिश्चितकालका लागि रोकिएको छ । आगलागीका कारण विभागमा रहेका सबै वस्तु तथा सामग्री नष्ट भएका छन् । नयाँ लाइसेन्स, नवीकरण, अत्यावश्यक प्रिन्टिङको काम देशैभरि रोकिन पुगेको छ । इम्बोस्ड नम्बर प्लेट छपाइ र वितरण पनि रोकिएको छ । सवारीसाधन दर्ता, आयात अनुमतिदेखि ब्लुबुक नवीकरणलगायतका काम सबै रोकिएको छ ।

विभागमा गरिएको आगजनीले केही पनि बाँकी नरहेको सूचना अधिकारी गणेशमान सिंह राईले जानकारी दिए । केन्द्रीय सर्भर नै विभागमा रहेकाले देशैभरका यातायात कार्यालयबाट प्रदान हुने सेवा ठप्प बनेको उनले बताए ।

“लाइसेन्स, इम्बोस्ड नम्बर प्लेटलगायतका सबै काम रोकिएको छ । तत्कालै सुरु गर्न सक्ने अवस्था छैन । बसेर काम गर्ने ठाउँ छैन । आज बल्ल विजुलीको काम गर्दैछौं । विभागको पहिलो र दोस्रो तला सफाइ गरेर बस्नयोग्य बनाउन समय लाग्ने देखिन्छ । त्यतिञ्जेल टहरा बनाएर काम अघि बढाउने हो कि भनेर सोचिरहेका छौँ,” राईले भने ।

यातायातसम्बन्धी सबै विवरणसहितको केन्द्रीय सर्भर विभागको मीनभवन कार्यालयमै थियो । केन्द्रीय सर्भर नै ध्वस्त भएपछि यातायात कार्यालयहरूमा ‘EDLVRS System’ चलेको छैन । देशभरका यातायात कार्यालयहरूले उक्त प्रणाली नचलेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सेवा स्थगित गरेका छन् ।

विभागले आफूसँग ८-१० दिन अघिसम्मका ब्याकअप सुरक्षित रहेको बताए पनि त्यो प्रयोगमा ल्याउन समय लाग्ने जनाएको छ । आगलागीका कारण विभागले प्रयोग गर्ने सबै सवारीसाधन नष्ट भएको छ । ८ लाख ओटा इम्बोस्ड नम्बर प्लेट जलेर काम नलाग्ने भएका छन् । विभागमा तयार भएका र छाप्न बाँकी स्मार्ट कार्ड पनि नष्ट भएको राईले जानकारी दिए ।

“सबै जलेको छ । बाँकी केही छैन । इम्बोस्ड प्लेट पनि जलेको छ । लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटको प्लान्ट/मेसिनरी सबै ध्वस्त भएको छ । सेवा तत्काल दिन कुनै हालतमा सम्भव देखिँदैन,” राईले भने ।

सरकारले सवारीसाधन दर्ता, नामसारी र नवीकरण गर्दा असोज १ बाट अनिवार्य इम्बोस्ड नम्बर जडान गर्नुपर्ने व्यवस्था पनि अब कार्यान्वयन नहुने देखिएको छ ।

“असोज १ बाट इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय तत्काल कार्यान्वयन गर्न सक्ने अवस्था छैन,” राईले भने । सर्भरमा क्षति पुग्दा विभागको आधिकारिक वेबसाइट पनि चलेको छैन ।

पछिल्लो अध्यावधिक: भदौ २९, २०८२ १३:२२