अनलाइन ठगीमा अनुसन्धान गर्ने टेकु प्रहरी कार्यालय खण्डहर, हजारौं पीडितका उजुरी र प्रमाण खरानी
असोज १, २०८२ १७:२९
काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा भएको आगजनीले टेकुस्थित काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय (अनलाइन ठगी अनुसन्धान गर्ने मुख्य निकाय) ध्वस्त भएको छ । यस कार्यालयमा रहेका हजारौँ पीडितका उजुरी र प्रमाण जलेर नष्ट भएका छन् ।
चिठ्ठा ठगी, अनलाइन किनमेल ठगी, सामाजिक सञ्जाल ह्याकिङ, डिजिटल वालेट र बैंकिङ ठगी, नक्कली सिममार्फत खाता खाली गर्ने जस्ता घटनाको अनुसन्धान यस कार्यालयमार्फत हुँदै आएको थियो । तर, कार्यालयमा भएको आगजनीले करिब ९० प्रतिशतभन्दा बढी फाइल र प्रमाण खरानी भएको प्रहरी अधिकृतहरूले जानकारी दिएका छन् ।
अनलाइनमार्फत हुने सबै प्रकारका ठगीको अनुसन्धान गर्ने देशकै मुख्य निकायको रूपमा रहेको यो कार्यालय भौतिक रूपमा मात्र नभई, प्रमाण र अभिलेखको हिसाबले समेत ध्वस्त भएको छ । यसले गर्दा विचाराधीन हजारौं मुद्दाको भविष्य ‘अन्धकार’ बनेको छ ।
यो त्यही कार्यालय थियो जहाँ सर्वसाधारणका उजुरीको चाङ लाग्थ्यो । कार्यालयको ‘पिल्लर तीन’ विशेषगरी अनलाइन ठगीका घटनाले भरिएको हुन्थ्यो । चिठ्ठा परेको भनी ठगी, विदेशबाट सामान पार्सल गर्ने भन्दै ठग्ने, मोबाइल, ल्यापटप, क्यामेरा सस्तोमा बिक्रीमा राखेर अग्रिम भुक्तानी लिएर फरार हुने, सामाजिक सञ्जाल ह्याक गरेर पैसा माग्ने जस्ता घटनाको अनुसन्धान यहीँबाट हुन्थ्यो ।
त्यसैगरी डिजिटल वालेट तथा बैंकको कर्मचारी हुँ भन्दै ओटीपी मागेर खाता रित्याउने, अनलाइनमा जागिर मिलाइदिन्छु भन्दै रकम लिएर सम्पर्कविहीन हुने, अर्काको कागजात प्रयोग गरी नक्कली सिम निकालेर बैंक खाता खाली गर्ने गिरोहमाथि पनि यही कार्यालयले अनुसन्धान गरिरहेको थियो ।
सामाजिक सञ्जालमा वैदेशिक रोजगारीको प्रलोभन देखाएर हुने ठगीदेखि हालै व्यापक बनेको अनलाइन लगानी (इन्भेस्टमेन्ट स्क्याम) सम्बन्धी घटनाको अनुसन्धान पनि टेकु प्रहरीले नै गर्दै आएको थियो । साइबर ब्युरोले समेत अधिकांश अनलाइन ठगीका उजुरीकर्तालाई यहीँ पठाउने गरेको थियो ।
तर, प्रदर्शनका क्रममा भएको आगजनीले कार्यालयका महत्त्वपूर्ण भौतिक र डिजिटल सम्पत्ति खरानी बनाएको छ । कार्यालयको सर्भरदेखि पीडितले दिएका हजारौं उजुरी र प्रमाणका फाइलहरू जलेर नष्ट भएका छन्, केही लुटिएका छन् ।
आगजनीले कार्यालयमा रहेका पीडितका उजुरी, अनुसन्धानका फाइल र सबुत प्रमाणहरू पूर्ण रूपमा नष्ट गरिदिएको छ । कार्यालयका एक अनुसन्धान अधिकृतका अनुसार करिब १० प्रतिशत मात्रै फाइल फेला पारिएको छ । “हाम्रो निवेदन पूर्ण रूपमा जलिसकेको छ, फाइलहरू लगभग ९० प्रतिशत जति जले,” उनी भन्छन्, “अनुसन्धान आधा भइसकेका, पैसा उठ्न लागेका फाइलहरू पनि थिए । कसको कति पैसा उठ्यो, कसरी उठ्यो भन्ने कुनै रेकर्ड अब हामीसँग छैन ।”
कार्यालयमा रहेको मुख्य सर्भर रुम नै जलेपछि डिजिटल रूपमा प्रमाण सुरक्षित रहने सम्भावना पनि लगभग समाप्त भएको उनी सुनाउँछन् । “हामीले निवेदन स्क्यान गरेर राख्ने मुख्य सर्भर नै जल्यो,” ती अधिकृतले भने, “यदि प्रधान कार्यालयको सर्भरमा कुनै डेटा ‘ब्याकअप’ बसेको रहेछ भने पनि त्यो निवेदन मात्रै होला । प्रमाणहरू (पैसा पठाएको स्क्रिनशट आदि) हुँदैनन् । प्रमाण बिनाको निवेदनले अनुसन्धान अगाडि बढाउन सकिँदैन ।”
निवेदन दिएका पीडितले के गर्ने ?
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) काजी कुमार आचार्यका अनुसार पुराना सबै फाइल र प्रमाण नष्ट भएकाले पीडितले फेरि नयाँ निवेदन दिनुको विकल्प छैन । “हामीसँग अब कुनै फाइल नै छैन । पीडितहरूले सुरुको अवस्थामा जस्तै सबै प्रमाणसहित फेरि निवेदन दिनुपर्छ,” एसपी आचार्यले भने, “यदि पीडितसँग पनि प्रमाण सुरक्षित छैन भने अनुसन्धान अगाडि बढाउन निकै कठिन हुन्छ ।”
यो अवस्थाले ती पीडितहरूलाई सबैभन्दा बढी मर्का परेको छ, जसले आफ्नो मोबाइल वा कम्प्युटरबाट प्रमाणस्वरूप रहेका स्क्रिनशट वा अन्य विवरण मेटाइसकेका थिए ।
खण्डहरबाट काम सुरु गर्ने प्रयास, स्रोतसाधनको चरम अभाव
प्रहरीले हाल नजिकैको नयाँ भवनबाट आंशिक रूपमा काम सुरु गर्ने प्रयास गरिरहेको छ । तर, स्रोत र साधनको अभाव चरम छ । “हामीले भर्खर इन्टरनेट जोडेका छौं । सबै कम्प्युटर जलेका छन्, अब दुई-चार थान कम्प्युटर आएपछि केही काम सुरु होला,” एसपी आचार्यले भने ।
एक अनुसन्धान अधिकृतको पीडा अझ गहिरो छ । उनी भन्छन्, “पहिले यति धेरै कम्प्युटर हुँदा त उपत्यकाको चाप धान्न अभाव थियो, अब हामीले एउटा डेस्कटप र एउटा प्रिन्टर पायौं भने पनि ठुलो कुरा हुन्छ । एउटा कम्प्युटरले उपत्यकाको मुद्दा कसरी हेर्नु ? यो सम्भव नै छैन ।”
आधिकारिक रूपमा प्रहरी कार्यालयमा भएको क्षतिको विवरण आइसकेको छैन । बुधबार सार्वजनिक विदा परेकाले बिहीबार ती विवरण आउन सक्ने बताइएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सूचना प्रविधि निर्देशनालयसँग यसबारे बुझ्ने प्रयास भइरहेको बताए ।
पछिल्लो अध्यावधिक: असोज १, २०८२ १७:३४
