close

जेनजी आन्दोलनको आडमा यातायात विभाग ध्वस्त: सर्भर, ८ लाख नम्बर प्लेट र हजारौं लाइसेन्स खरानी

टेकपाना टेकपाना

असोज ४, २०८२ ११:३६

जेनजी आन्दोलनको आडमा यातायात विभाग ध्वस्त: सर्भर, ८ लाख नम्बर प्लेट र हजारौं लाइसेन्स खरानी

काठमाडौँ । २४ भदौमा मीनभवनस्थित यातायात व्यवस्था विभागको केन्द्रीय कार्यालयमा भएको भीषण आगजनी र तोडफोडले राष्ट्रिय महत्त्वका सूचना प्रविधि प्रणालीहरूमा गम्भीर क्षति पुगेको छ । घटनाबाट विभागको सर्भर कक्ष, लाइसेन्स छपाइ मसिन, इम्बोस्ड नम्बर प्लेट उत्पादन गर्ने प्लान्ट तथा आठ लाखभन्दा बढी तयारी अवस्थामा रहेका इम्बोस्ड नम्बर प्लेटसहित सवारीसाधन जलेर खरानी भएका छन् ।

यसबाट करोडौँ रुपैयाँ बराबरको भौतिक तथा प्रणालीगत क्षति भएको र देशभरका यातायात सेवा अनिश्चितकालका लागि ठप्प भएको विभागका सूचना अधिकारी गणेशमान सिंहले जानकारी दिए ।

यो भवनको सबैभन्दा सुरक्षित सर्भर कक्ष थियो, जसमा फायरप्रुफ ढोका र वाल जडान गरिएको थियो । यति हुँदाहुँदै पनि ढोकालाई मसिनको प्रयोगले तोडफोड गरी भित्र प्रवेश गरेर आगजनी गरिएको उनले सुनाए ।

सर्भर, हार्डडिस्क र स्क्यान डिभाइसहरू लगायतका महत्त्वपूर्ण उपकरणहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने केही उपकरण चोरी भएका छन् । उनका अनुसार यी सर्भरहरू पूर्ण रूपमा काम नलाग्ने भएका छन् । यसबाट १२ देखि १५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको उनको भनाइ छ ।

सर्भरहरूको अवस्था यकिन गर्न निरीक्षण भइरहेको उनले जानकारी दिए । यदि यी उपकरणहरू मर्मतसम्भार गर्न सकिने अवस्थामा भए दशैँ र तिहारको बीचमा १५ देखि २० दिनभित्र सेवा सुरु गर्ने प्रयास भइरहेको उनले जानकारी दिए । तर, पूर्ण रूपमा क्षति भएको खण्डमा नयाँ उपकरण खरिद गर्न सरकारी प्रक्रिया र अन्तर्राष्ट्रिय आपूर्ति व्यवस्थाका कारण दुईदेखि तीन महिना लाग्न सक्नेछ ।

अर्कोतर्फ, विभागमा रहेको लाइसेन्स छपाइ गर्ने मसिन पनि आगजनीबाट ध्वस्त भएको छ । विभागका अनुसार यो मसिनको लागत करिब सातदेखि आठ करोड रुपैयाँ पर्नेछ ।

“यो मसिन मर्मत गर्न सम्भव भए १५ देखि २० दिनमा लाइसेन्स छपाइ कार्य सुरु गर्न सकिनेछ । तर, मसिन पूर्ण रूपमा बिग्रिएको खण्डमा नयाँ खरिद गरी ल्याउन कम्तीमा दुई महिना लाग्नेछ । किनभने नेपालमा यस्तो मसिन बनाउने व्यक्ति वा मर्मत गर्ने जनशक्ति छैन र यसका लागि विदेशबाट प्राविधिक ल्याउनुपर्ने हुन्छ,” सूचना अधिकारी सिंहले भने ।

आगजनीका कारण २० हजारभन्दा बढी छापिएका स्मार्ट ड्राइभिङ लाइसेन्सहरू जलेर नष्ट भएका छन् भने अन्य स्मार्ट कार्डहरू पनि क्षति भएका छन् । यसबाहेक, कार्यालयका अन्य कम्प्युटर, ल्यापटप र प्रणालीगत उपकरणहरू तथा फर्निचरहरू पनि जलेर खरानी भएका छन् ।

यता, विभाग परिसरभित्र रहेको इम्बोस्ड नम्बर प्लेट उत्पादन गर्ने फ्याक्ट्री र तयारी अवस्थामा रहेका आठ लाख इम्बोस्ड नम्बर प्लेटहरू पनि पूर्ण रूपमा जलेर खरानी भएका छन् । यी नम्बर प्लेटहरू संघीय कार्यालय र विभिन्न प्रदेशस्थित यातायात कार्यालयहरूमा पठाउनका लागि तयार पारिएका थिए ।

यसपहिले १ असोजदेखि नयाँ दर्ता, नामसारी र नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने निर्णय भएकोमा जेनजी आन्दोलनको आडमा गरिएको आगजनीले त्यो कार्यलाई अनिश्चितकालका लागि रोकिदिएको छ । यसबाहेक, इम्बोस्ड नम्बर प्लेट जडान गरेबापतको राजस्व तिरेका रसिदहरू प्रदेशस्थित कार्यालयले काटे पनि केन्द्रीय प्रणाली नचल्दा प्रदेशका प्रणालीहरू समेत चलेका छैनन् ।

केन्द्रीय सर्भर र मुख्य उपकरणहरूमा भएको क्षतिका कारण देशभरका यातायात कार्यालयहरूबाट प्रदान गरिने सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण, इम्बोस्ड नम्बर प्लेट जडान, सवारीसाधन दर्ता (भीआरएस) लगायतका सम्पूर्ण सूचना प्रविधि आधारित सेवाहरू पूर्ण रूपमा ठप्प भएका छन् ।

नागरिक एपमा पनि लाइसेन्सको विवरण नदेखिने अवस्था सिर्जना भएको छ । विभागका अनुसार सर्भर सञ्चालनमा नआउन्जेल नागरिक एपमा पनि डेटा देखिने छैन । यसका लागि कम्तीमा दुई साता लाग्ने बताइएको छ ।

विशेषगरी अध्ययन वा रोजगारीका लागि विदेश जाने नागरिकहरू, शान्ति सेना मिसनमा खटिने सुरक्षाकर्मी र गैरआवासीय नेपालीहरूले अत्यावश्यक लाइसेन्स पाउनबाट वञ्चित भएका छन् ।

त्यस्तै आगजनीका कारण विभाग परिसरमा रहेका करिब १७ ओटा सवारीसाधनहरू (कार र मोटरसाइकल) जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । विभागले हाल बाहिर टहरा बनाएर सामान्य प्रशासनिक कार्य थालेको छ । क्षतिको मूल्याङ्कन गर्न समिति गठन गरिएको र केही दिनभित्रै क्षतिको यकिन विवरण बाहिर आउने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज ४, २०८२ १२:२