close

टेकपाना फ्याक्टचेक: देउवा निवासमा जलेका नोटहरू भेटिएको दाबीसहितका भिडिओको वास्तविकता के हो ?

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

असोज ५, २०८२ १५:५७

टेकपाना फ्याक्टचेक: देउवा निवासमा जलेका नोटहरू भेटिएको दाबीसहितका भिडिओको वास्तविकता के हो ?

काठमाडौँ । २४ भदौमा जेनजी आन्दोलनको आडमा विभिन्न निजी, व्यापारिक र सार्वजनिक तथा सरकारी भवनहरूमा आगजनी भयो । सोही दिन दिउँसोदेखि  नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरमा अर्बौँ रकम जलेर नष्ट भएको दाबी सहित विभिन्न पोस्ट र भिडिओहरू सार्वजनिक भए ।

देउवाको सचिवालयले केही दिन अघि ती भिडि‌ओहरूको खण्डनमा विज्ञप्ति नै प्रकाशन गरेको छ । ती दाबीहरू वास्तविक हुन् या भ्रामक भनेर प्रश्न उठिरहेका छन् । यसै क्रममा टेकपाना तथ्यजाँच टोलीले देउवाको घरमा ठुलो मात्रामा पैसा भेटिएको दाबी गरिएका विभिन्न भिडिओहरूको तथ्यजाँच गरेको छ । तथ्यजाँचका क्रममा देउवाको घरमा पैसा भेटिएका दाबी सहित राखिएका अधिकांश भिडिओहरूको दाबी वास्तविक रहेको पाइएको छ । केही भिडिओहरू भने भ्रामक समेत रहेको टेकपाना तथ्यजाँचका क्रममा देखिएको छ । यस्तै आकाशबाट पैसा उठेका भिडिओहरूमा भने निवर्तमान उर्जामन्त्री दीपक खड्काको घर रहेको पाइएको छ ।

दाबीः १

पूर्व प्रधानमन्त्री देउवा र उनकी श्रीमती तथा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाको निवासमा पैसा भेटिएको दाबी गर्दै ‘nepali.fireflies’ नामक टिकटक अकाउन्टमा ११ सेप्टेम्बरमा एउटा भिडिओ सार्वजनिक भयो । बन्द कोठामा कैद गरिएको उक्त भिडिओमा एक हजार र पाँच सय रुपैयाँका नोटहरू जलेको अवस्थामा असरल्ल छरिएका देखिन्छन् । मानिसहरूले ती नोट उठाउँदै देउवाको घरको भएको दाबी गरेका छन् । हेर्नुहोस् उक्त भिडिओ । ‘viralvideohub5’ ले पनि सोही भिडिओ राखेको छ ।

दाबी १ को तथ्यजाँच

तथ्य जाँचका लागि सबैभन्दा पहिला हामीले उक्त भिडिओ वास्तविक हो कि होइन, कुनै अडिओ वा भिडिओ तयार पार्न एआईको प्रयोग भएको छ वा छैन भनेर जाँच गर्‍यौँ । हाइभ मोडेरेसनमार्फत जाँच गर्दा उक्त भिडिओ तयार गर्न कुनै पनि एआईको प्रयोग नभएको पाइयो ।

उक्त भिडिओमा एक हजार र ५०० रुपैयाँका कयौँ नोटहरू देख्न सकिन्छ । तर कुन ठाउँको हो भनेर पत्ता लगाउन मुस्किल पर्छ । त्यसैले उक्त भिडिओको वास्तविकता पत्ता लगाउन हामीले भिडिओको किफ्रेम निकाल्यौँ । निकालिएका किफ्रेमले केही निष्कर्ष तर्फ डोर्‍यायो । तल किफ्रेमसँग ती निष्कर्षको विश्लेषण गरिएको छ ।

भाइरल उक्त क्लिपलाई हामीले विश्वसनीय अनलाइन मिडियाले स्थलगत रिपोर्टिङ गरेर सार्वजनिक गरेका शेरबहादुर देउवाको घरका दृश्यसँग तुलना गर्ने प्रयास गर्‍यौँ । यस क्रममा ‘सिधाकुरा’ ले २५ भदौमा देउवा निवासमा अवलोकन गरेको भिडिओसँग दाजेर हेर्यौँ । सिधाकुराको भिडिओको १६ मिनेट १९ सेकेन्डमा खिचिएको दृश्यसँग भाइरल भिडिओ मेल खायो । हेर्नुहोस्, सिधाकुराको देउवा निवासको घरको “देउवा र आरजुको घरमा अकुत कालोधन” शीर्षकमा सार्वजनिक भिडिओ

दाबी १ को निष्कर्ष

देउवाको घरमा भेटिएको भिडिओ तयार पार्न एआईको प्रयोग भएको छैन ।  सिधाकुराले देउवाको घरमा आगजनी भएको भिडिओसँग भाइरल भिडिओको स्थान मेल खायो । त्यसैले हामी उक्त भिडिओ देउवाकै घरको हो भन्ने निष्कर्षमा पुग्यौँ ।

दाबीः२

टिकटक प्रयोगकर्ता  ‘sevandi3’ ले देउवा निवासमा ‘पैसा नै पैसा’ भेटिएको दाबीसहित भिडिओ सार्वजनिक गरेकी  छिन् । यो सामग्री तयार पार्दासम्म एक लाख १२ हजारभन्दा धेरै लाइक गरेको उक्त भिडिओमा देखिएको आँगनमा एक हजार र पाँच सयका कयौँ नोटहरू छन् । नोटका बिटाहरू पनि ती महिलाले हातमा लिएकी छिन् । हेर्नुहोस् उक्त भिडिओ ।  

दाबी २ माथि तथ्यजाँच

देउवाको आगँनमा पैसा भेटिएको दाबी गरिएको भिडिओमा पनि एआईको प्रयोग भएको छ वा छैन जाँच गर्‍यौँ । यस भिडिओमा पनि कुनै प्रकारको एआई टुल प्रयोग गरेको पाइएन ।

त्यसपछि उक्त भिडिओमा देखिएका स्थानहरू किफ्रेम निकालेर पहिचान गर्ने प्रयास गर्‍यौँ । किफ्रेम निकालेर देउवा निवास भनिएको भिडिओमाथि विभिन्न निष्कर्ष निस्किए । उक्त निष्कर्षलाई तल तस्बिरमा विश्लेषण गरिएको छ ।

त्यसपछि हामीले देउवा निवासको बाहिरी भाग देखिने गरी खिचिएका फोटोहरू खोज्यौँ । यस क्रममा ‘अनलाइनखबर’ ले देउवा निवास जलेपछि देउवाको घरको मूख्य प्रवेशद्वार देखिने गरी खिचेको तस्बीरसहित युट्युब च्यानलमा राखेको भिडिओ फेला पर्‍यो । हेर्नुहोस् ११ सेप्टेम्बर (२६ भदौ) मा अनलाइनखबरले ‘खण्डहर बन्यो देउवा निवास’ शीर्षकमा सार्वजनिक गरेको भिडिओ ।  हामीले भाइरल भिडिओलाई अनलाइनखबरको भिडिओसँग तुलना गर्दा स्थान एउटै भएको पायौँ ।

 

दाबी २ निष्कर्ष

देउवाको आगँनमा पैसा भेटिएको दाबी गरिएको भिडिओ पनि कुनै एआईको प्रयोग गरेर तयार पारिएको होइन । भाइरल भिडिओमा दाबी गरिएको स्थानलाई अनलाइनखबरले खिचेको देउवा निवासको तस्बीरसँग तुलना गर्दा एउटै स्थान भएको पायौँ । त्यसैले देउवाको आँगनमा पैसा भेटिएको यो दाबी पनि साँचो हो ।

दाबीः ३

१० सेप्टेम्बरमा टिकटक अकाउन्ट ‘राप्रपा रुपन्देही’बाट ५९ सेकेन्ड लामो भिडिओ सार्वजनिक भएको छ । उक्त भिडिओमा देउवाको घर बाहिर हजार र पाँच सयका कयौँ नोटहरू महिलाले देखाएकी छिन् । उनले घरको दोस्रो तल्लातर्फ देखाउँदै सो स्थानमा लकर रहेको बताउँछिन् । त्यत्तिकैमा अर्की महिलाले माथिल्लो तलाबाट जलेका नोटहरू बाहिर फाल्दै उक्त तलामा जलेका कयौँ नोटहरू रहेको बताउँछिन् । हेर्नुहोस्, उक्त भिडिओ

दाबी ३ माथि तथ्यजाँच

दाबी २ कै तथ्यजाँचका क्रममा देउवाको आगँनमा पैसा भेटिएको दाबी सत्य भएको प्रमाणित भइसकेको छ । त्यसैले यो अर्को भिडिओमा भने महिलाले दोस्रो तलाबाट जलेका रकम फालेको दृश्य देउवाको घरको हो वा होइन भनेर जाँच गर्न केन्द्रित रह्यौँ ।

सबैभन्दा पहिला यो भिडिओ वा अडिओ निर्माणमा कुनै पनि किसिमले एआईको प्रयोग भएको छ वा छैन पत्ता लगायौँ । हाइभ मोडेरेसनले भिडिओमा एआईको प्रयोग नभएको देखायो ।

त्यसपछि हामीले उक्त भिडिओको किफ्रेम निकाल्यौँ । र फरक फरक तस्बीरहरूलाई विश्लेषण गर्दै हामीले अनलाइनखबरले खिचेको देउवा निवाससँग तुलना गर्‍यौँ । यसरी निकाल्दा उक्त भिडिओमा देखिएको स्थान र देउवा निवास एउटै रहेको प्रमाणित भयो ।

दाबी ३ माथिको निष्कर्ष

देउवा निवासको दोस्रो तलामा पैसा भेटिएको दाबीसहित जलेका नोटहरू फ्याँकिएको भिडिओ वास्तविक हो ।

दाबीः ४

११ सेप्टेम्बरमा ‘amarkhadka7’ नामक टिकटक प्रयोगकर्ताले ‘पैसै पैसा’ भेटिएको दाबीसहित भिडिओ राखेका छन् । मोबाइलको टर्च बालेर एउटा अध्याँरो कोठामा उक्त भिडिओ खिचिएको छ । त्यहाँ एक पुरुषले दुबै तिरबाट जलेको ‘एक लाख रुपैयाँको बिटो’ भेटाएको भन्दै देखाएका छन् । हेर्नुहोस् उक्त भिडिओ । उक्त भिडिओको ह्यासट्यागमा ‘shere’  (शेरे) लेखिएकाले उक्त पैसा शेरबहादुर देउवाको घरको भएको तर्फ इङ्कित गरिएको छ ।

तथ्यजाँच

बन्द कोठाको भिडिओ भएकाले उक्त भिडिओ कुन ठाउँको हो भनेर पत्ता लगाउन मुश्किल लाग्छ । तर भिडिओमा दुई ओटा कोठाको बिचमा पर्खालजस्तो दृश्य देख्न सकिन्छ । हामीले भिडिओको कि फ्रेम निकालेर उक्त तस्बीर नियालेर विश्लेषण गर्‍यौँ ।

किफ्रेममा पैसा भेटिएको घरको भित्ताको केही अंश देखिएको छ । उक्त अंशलाई हामीले शेरबहादुर देउवाको घरको भिजिटका क्रममा खिचिएका विभिन्न भिडिओहरूसँग दाँजेर विश्लेषण गर्‍यौँ । शेरबहादुर देउवाको घरका विभिन्न कोठाका ढोकाहरू जलेको ती भिडिओहरूमा देखिन्छ । तर,  ‘amarkhadka7’ को दाबीसँग ठ्याक्कै मिल्ने भित्ता भने ‘रातो पर्दा टिभी’ युट्युब च्यानलको “देउवा निवासमा ४ ओटा कोठाभरी पैसा सबै खरानी, घरमुनिको सुरुङमा करोडौँ भेटियो, पैसा र सुन खोज्नेको भिड” शीर्षकको भिडिओमा १५:१३ सेकेन्डमा देखिएको दृश्यसँग मेल खायो । हेर्नुहोस् रातोपर्दा टिभीको भिडिओ

उक्त भिडिओमा प्रस्तोतालाई देउवा निवासको घरमा सुन, चाँदी तथा पैसा खोज्न गएका मध्येका एक पुरुषले सेफ देखाउने भन्दै एउटा कोठा तर्फ लैजान्छन् । ती पुरुषले उक्त कोठातर्फ भिडिओ प्रस्तोतालाई लैजादै गर्दा देखिएको दृश्य ‘amarkhadka7’ नामक टिकटक प्रयोगकर्ताले दाबी गरेको दृश्यसँग मेल खाएको हो ।

दाबी ४ माथिको निष्कर्ष

एक लाख रुपैयाँ जलेको नोटसहित कयौँ नोटहरू देखिएको भनिएको भिडिओ पनि देउवा निवासकै हो ।

दाबीः ५

सामाजिक सञ्जालमा देउवाको घरमा १०० अमेरिकी डलरका कयौँ नोटहरू भेटिएको दाबी सहितका भिडिओ पनि भाइरल भएका छन् । ‘gyanprakashkarki’ नामक टिकटक प्रयोगकर्ताले ६ दिन अघि राखेको पोस्टमा एक व्यक्तिले हिलोबाट डलर निकालेर देखाइरहेको भिडिओ राखेका छन् । भिडिओमा लेखिएको छ, “शेरबहादुर देउवा हाउस युएस डलर” । हेर्नुहोस्, भिडिओ र तलको फोटो । सोही दाबी सहितको पोस्ट ‘परिवर्तन नेपाल’ नामक फेसबुक पेजले समेत राखेको छ ।

 

 

दाबी ५ माथिको तथ्यजाँच

‘gyanprakashkarki’ नामक टिकटक प्रयोगकर्ता सहितले दाबी गरेको उक्त भिडिओ कुन ठाउँको हो भनेर स्पष्ट देखिएको छैन । भिडिओमा भुईँमा झरेका पातहरू, ओसिलो माटो र माटोमा लतपतिएका भिजेका नोटहरू छन् । यो भिडिओलाई हामीले गुगल रिभर्स सर्च गरेर हेर्‍यौँ । गुगलले उक्त भिडिओ कम्तीमा एक महिना पूरानो रहेको देखायो ।

गुगल रिभर्स सर्चबाट नै उक्त भिडिओलाई लिएर गरिएको एउटा तथ्यजाँच पनि फेला पर्‍यो । भारतीय अनलाइन ‘डिजिटल फरेन्सिक्स, रिसर्च एन्ड एनालिटिक्स सेन्टर- डिफ्राक’ ले ४ सेप्टेम्बरमा उक्त भिडिओको तथ्यजाँच गरेको रहेछ । भारतको पञ्जाबमा सेप्टेम्बरको सुरुवातमा भीषण बाढी गएको थियो । उक्त बाढीपछि डलर फेला परेको भन्दै सामाजिक सञ्जालमा भिडिओ भाइरल भएपछि डिफ्राकले तथ्यजाँच गरेको थियो । उक्त तथ्यजाँचमा ३० जुलाईदेखि उक्त भिडिओ भाइरल भएको बताइएको छ । तर, भिडिओ वास्तविकका लागि कहाँको भनेर चाहिँ उसले पुष्टि गर्न सकेको छैन ।

दाबी ५ माथिको निष्कर्ष

हिलोमा डलर भेटिएको भिडिओ पछिल्लो एक महिनाभन्दा लामो समयदेखि सामाजिक सञ्जालमा भाइरल छन् । शेरबहादुर देउवाको घरमा ९ सेप्टेम्बरमा आगजनी भएको हो । तर आगजनी हुनुभन्दा पहिले नै सो भिडिओ भारतमा भाइरल भइसकेकाले उक्त भिडिओ शेरबहादुर देउवाको घरको होइन ।

दाबीः ६

नेताहरूको घरबाट पैसाको वर्षा भएको भन्दै कतिपय भिडिओ सामाजिक सञ्जालमा भाइरल भएका छन् । भिडिओहरूमा कतिपयले उक्त पैसा काङ्ग्रेस सभापति शेरबहादुर देउवाको घरको रहेको दाबी गरेका छन् भने कतिपयले निवर्तमान उर्जामन्त्री दीपक खड्काको घर भएको भनेका छन् ।

गोपाल पाल्पाली आचार्यले ९ सेप्टेम्बरको दिउँसो १२:४२ मा “भ्रष्ट नेताको घरबाट भ्रष्टाचार गरेर देश लुटेको पैसा हावामा उडाउदै आन्दोलनकारीहरु !” शीर्षकमा भिडिओ राखेका छन् । पैसा बर्साइएको भन्दा पल्लो घरको छतबाट खिचेको उक्त भिडिओ ३६ सेकेन्ड लामो छ । भिडिओ आर्काइभ लिङ्क । नेताहरूको घरबाट पैसा उडाइएको दाबीसहितको भिडिओहरू हेर्न यहाँ, यहाँ, यहाँ, यहाँ, यहाँ, यहाँ क्लिक गर्न सक्नु हुन्छ ।

दाबी ६ माथि तथ्यजाँच

आकाशबाट हजार र पाँच सयका रुपैयाँहरू वर्साइएको भिडिओ कहाँको हो भन्ने अन्योलता देखिएपछि यस विषयमा टेकपानाले तथ्यजाँच अघि बढायो । यस क्रममा आकाशबाट पैसा झरिरहेको फरक फरक एङ्गलका भिडिओ भाइरल भएको पाइयो ।

त्यसपछि टेकपाना तथ्यजाँच टोलीले भाइरल भिडिओहरूमध्ये फरक फरक एङ्गलबाट खिचिएका भिडिओहरूलाई नमुनाको रूपमा लिएर ती भिडिओ एकै स्थानको हो कि होइन जाँच गर्‍यो ।

यसका लागि पहिलो भिडिओ ‘रिजन बुढाथोकी’ नामक फेसबुक प्रयोगकर्ताले २४ भदौ (९ सेप्टेम्बर) दिउँसो १२:३९ मा सार्वजनिक गरेको १ मिनेट १८ सेकेन्ड लामो भिडिओ लिइयो । उक्त भिडिओ आकाशबाट पैसा झरिरहेको घरको छेउको सडकबाट खिचिएको छ भने निवर्तमान ऊर्जामन्त्री दीपक खड्काको घरको रहेको दाबी गरिएको छ । भिडिओआर्काइभ लिङ्क

दोस्रो भिडिओमा ‘गोपाल पाल्पाली आचार्य’ ले सार्वजनिक गरेको भिडिओ लियौँ । उक्त भिडिओ पैसा बर्साइएको भन्दा पल्लो घरको छतबाट खिचिएको छ ।

तेस्रो भिडिओका लागि ‘हराएका वर्षहरू’ नामक फेसबुक पेजले ९ सेप्टेम्बर दिउसो १२:४२ मा सार्वजनिक गरेको भिडि‌ओ लिइयो । उक्त भिडिओ पैसा बर्साइएको घरको आँगनबाट खिचिएको छ । ४३ सेकेन्ड लामो उक्त भिडिओमा पैसा पैसा भन्दै मानिसहरू चिच्याइ रहेका छन् । भिडिओ लिंक र तलको फोटो ।

हामीले फरक फरक एङ्गलबाट खिचिएका यी तीन ओटै भिडिओ बनाउन एआईको प्रयोग भएको छ वा छैन भनेर जाँच गर्‍यौँ । तीन ओटै भिडिओमा एआई प्रयोग नभएको पाइयो ।

‘रिजन बुढाथोकी’ ले सार्वजनिक गरेको भिडिओ हाइभ मोडेरेसनबाट हेर्दा एआईको प्रयोग गरिएको देखिएन ।

‘गोपाल पाल्पाली आचार्य’ ले सार्वजनिक गरेको भिडि‌ओमा पनि कुनै किसिमको एआईको प्रयोग भएको छैन ।

त्यस्तै ‘हराएका वर्षहरू’ ले सार्वजनिक गरेको भिडिओ हाइभ मोडेरेसनमा राख्दा यो भिडिओ पनि वास्तविक नै रहेको पाइयो ।

त्यसपछि फरक फरक एङ्गलबाट खिचिएका यी भिडिओ एकै स्थानको हो वा होइन भनेर तुलना गरियो । यसरी तुलना गर्दा तीन ओटै भिडिओमा देखिएको घर एउटै रहेको पाइयो । 

उक्त घर एउटै भएको पाइएपछि हामीले देउवा निवाससँग उक्त घर तुलना गर्दा उक्त घर ‘देउवा निवास’ नरहेको पाइयो । त्यसपछि हामीले २४ भदौको आगजनी पछि उर्जामन्त्री दीपक खड्काको घरमा स्थलगत रिपोर्टिङ गरेर तयार पारिएका भिडिओसँग पैसा बर्साइएको भिडिओ तुलना गर्‍यौँ ।

११ सेप्टेम्बरमा सिधाकुराले दीपक खड्काको घरको स्थलगत रिपोर्टिङ गरेको ९ मिनेट ३४ सेकेन्ड लामो भिडिओ सार्वजनिक गरेको छ । सिधाकुराको युट्युब भिडिओ लिंक । उक्त भिडिओमा देखाइएको खड्काको घर र भाइरल भिडिओको घर एउटै रहेको पाइयो ।

सोही दिन ‘रातोपर्दा टिभी’ नामक युट्युब च्यानलबाट पनि उर्जामन्त्री दीपक खड्काको घरको स्थलगत रिपोर्टिङपछि तयार गरिएको १४ मिनेट ३ सेकेन्ड लामो भिडिओ राखिएको छ । ‘रातोपर्दा टिभी’ को भिडिओको लिंक । उक्त भिडिओको रिपोर्टमा देखिएको दीपक खड्काको घरको कम्पाउन्ड र पैसा बर्साइएको घरको कम्पाउन्ड एउटै रहेको पाइयो ।

 

दाबी ६ माथिको निष्कर्ष

२४ भदौमा आगजनी भएपछि नेताको घरबाट पैसा बर्साइएको भिडिओ सार्वजनिक भएको छ । उक्त भिडिओ कसैले काङ्ग्रेस सभापति शेरबहादुर देउवाको घरको भएको भनेका छन् भने कतिपयले निवर्तमान उर्जामन्त्री दीपक खड्काको घरको रहेको दाबी गरेका छन् । टेकपाना तथ्यजाँचले पैसा बर्साएको घटना वास्तविक रहेको र उक्त घर निवर्तमान उर्जामन्त्री दीपक खड्काको रहेको पुष्टि भएको छ ।

 

दाबीहरू

दाबी १: देउवा निवासमा जलेका ५००/१००० का नोटहरू भेटियो।

दाबी २: देउवाको आगँनमा जलेका ५००/१००० का नोटहरू भेटियो।

दाबी ३: देउवाको घरको दोस्रो तलाबाट जलेका नोटहरू फेला पर्‍यो ।

दाबी ४: ‘एक लाखको बिटो’ जलेको पैसाहरू भेटियो ।

दाबी ५ : देउवाको घरमा अमेरिकी डलरका बिटाहरू भेटियो ।

दाबी ६: नेताहरूको घरबाट पैसा बर्सियो ।

दाबीकर्ताहरू

दाबी १: टिकटक अकाउन्ट 'nepali.fireflies', 'viralvideohub5' लगायत सामाजिक सञ्जाल प्रयोगकर्ता ।

दाबी २: टिकटक अकाउन्ट 'sevandi3' लगायत सामाजिक सञ्जाल प्रयोगकर्ता ।

दाबी ३: टिकटक अकाउन्ट 'राप्रपा रुपन्देही' लगायत सामाजिक सञ्जाल प्रयोगकर्ता ।

दाबी ४: टिकटक अकाउन्ट ' amarkhadka7' लगायत सामाजिक सञ्जाल प्रयोगकर्ता ।

दाबी ५ :  टिकटक अकाउन्ट ' gyanprakashkarki' लगायत सामाजिक सञ्जाल प्रयोगकर्ता ।

दाबी ६  : ‘गोपाल पाल्पाली आचार्य’, ‘रिजन बुढाथोकी’, ‘हराएका वर्षहरू’ लगायत सामाजिक सञ्जाल प्रयोकर्ता​ ।

तथ्यहरू

दाबी १ को तथ्य: सिधाकुराको २५ भदौको रिपोर्टमा देखिएको तस्बिरसँग तुलना गर्दा भिडिओ देउवा निवासकै हो भन्ने पुष्टि भयो । त्यसैले देउवाको घरमा जलेका ५००/१००० का नोटहरू भेटिएको दाबी साँचो हो ।

दाबी २ को तथ्य: अनलाइनखबरको भिडिओमा देखिएको देउवाको घर अगाडिको तस्बिरसँग टिकटक अकाउन्ट 'sevandi3' ले दाबी गरेको देउवाको आँगन मेल खायो । उक्त भिडिओ पनि वास्तविक नै हो ।

दाबी ३ को तथ्य: दाबी ३ मा देखाइएको दृश्य पनि अनलाइनखबरको भिडिओमा राखेको देउवा निवासको घरसँग मिलेको छ । टेकपाना तथ्यजाँचमा उक्त भिडिओ पनि सत्य रहेको पाइएको छ ।

दाबी ४ को तथ्य: ' amarkhadka7' लगायत सामाजिक सञ्जाल प्रयोगकर्ताले एक लाखको बिटा सहित जलेको पैसाहरू भेटिएको भन्दै गरेको दाबी पनि साँचो रहेको पाइएको छ । उक्त भिडिओको किफ्रेम 'रातोपर्दा टिभी'को स्थलगत रिपोर्टको अंशसँग मेल खायो ।

दाबी ५ को तथ्य: देउवाको घरमा अमेरिकी डलरका बिटाहरू भेटिएको भिडिओ भने भ्रामक रहेको पुष्टि भएको छ । उक्त भिडिओ देउवाको घरमा आगजनी हुनु भन्दा पहिले नै अर्थात जुलाई अन्तिमदेखि भारतमा समेत भाइरल भएको पाइएको छ ।

दाबी ६ को तथ्य: फरक फरक एङ्गलबाट खिचिएका कम्तीमा तीन ओटा भिडिओ फेला पारेर तुलना गर्दा आकाशबाट पैसा बर्साइएको दाबी गरेको घर एउटै रहेको पाइएको छ । स्थलगत रिपोर्टिङ गरेर सिधाकुरा र रातोपर्दा टिभीले तयार पारेको भिडिओसँग भाइरल भिडिओहरू तुलना गर्दा त्यो घर देउवा निवास नभई तत्कालीन उर्जामन्त्री दीपक खड्काको घर भएको पुष्टि भयो ।

समग्र निष्कर्ष

२४ भदौमा जेनजी आन्दोलनको आडमा कयौँ नेता, व्यावसायिक भवन, सरकारी कार्यालयको भवनहरू आगजनीमा परे । सोही दिन पूर्वप्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको घरमा पनि आगजनी भएको थियो । उक्त आगजनीपछि सामाजिक सञ्जालमा देउवा निवासमा आगजनी भएको दाबीसहित अनेकौँ भिडियोहरू भाइरल भए । तीमध्ये टेकपानाले देउवाको घरमा पैसा भेटिएको दाबी सहितका छ ओटा टिकटक भिडिओको तथ्यजाँच गर्‍यो । तथ्यजाँचका क्रममा देउवा निवासको आँगन र घरभित्र पैसा भेट्टिएको भन्ने चार ओटा दाबी साँचो रहेको पाइएको छ ।

तर टेकपानाले तथ्यजाँच गरेको पाँचौँ दाबी भने भ्रामक रहेको पाइएको छ । देउवाको घरमा अमेरिकी डलर भेटिएको दाबी सहित भिजेको डलरका बिटा भुईँबाट टिपिएको भिडिओ (दाबी ५) भने भ्रामक भएको प्रमाणित भएको हो । उक्त भिडियो नेपालमा भएको जेनजी आन्दोलन अगावै भारतमा भाइरल भइसकेको थियो र उक्त भिडिओ देउवाको घरसँग सम्बन्धित छैन । यस्तै आकाशबाट पैसा बर्साइएको भाइरल भिडिओहरू भने  निवर्तमान उर्जामन्त्री दीपक खड्काको रहेको पुष्टि भएको छ ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज ५, २०८२ १५:५८