close

ब्राउजिङ गर्दा कुकिज एसेप्ट गर्ने कि नगर्ने ? जान्नैपर्ने कुरा

टेकपाना टेकपाना

असोज १७, २०८२ १७:३४

ब्राउजिङ गर्दा कुकिज एसेप्ट गर्ने कि नगर्ने ? जान्नैपर्ने कुरा

काठमाडौँ । इन्टरनेट प्रयोग गर्दा हरेक गतिविधि ट्र्याक हुने गर्छ । यस प्रक्रियामा कुकिज (Cookies) ले महत्त्वपूर्ण भूमिका खेल्छन् । कुकिजले प्रयोगकर्ताको ब्राउजिङ अनुभव सहज बनाउने मात्र होइन, गोपनीयतामा पनि सीधा असर पार्छ ।

ब्राउजिङ गर्दा प्रायः वेबसाइटहरूले बारम्बार कुकिज स्वीकार गर्ने (Accept Cookies) विकल्प देखाउँछन् । जसले धेरैलाई झर्को लाग्छ । धेरैजसो प्रयोगकर्ताले चेतावनी नपढीकनै ‘Accept All’ मा क्लिक गर्ने गर्छन् । तर यसो गर्दा उनीहरूको व्यक्तिगत डेटा समेत जोखिममा पर्न सक्छ ।

एसेप्टको कुरा गर्नुअघि कुकिज के हुन् त भनेर जानौँ

कुकिज साना फाइलहरू हुन्, जुन कुनै वेबसाइटले तपाईंको फोन वा कम्प्युटरमा सेभ गर्छ । कुकिजले तपाईँले वेबसाइटमा गरेका कामहरू सम्झन्छन् । उदाहरणको लागि लगइन जानकारी, शपिङ कार्टमा राखेका सामान र तपाइँले रोजेको भाषा । उदारहणको लागि तपाइँले ‘accept all’ अप्सन रोज्नुभएको छ भने विज्ञापनदाताहरूले तपाईंको अनलाइन गतिविधि ट्र्याक गरेर तपाईँलाई लक्षित (Targeted) विज्ञापन देखाउन प्रयोग गर्छन् ।

कुकिज खासगरी चार प्रकारका हुन्छन्-

जरुरी कुकिज – वेबसाइटलाई काम गर्न अति आवश्यक हुने ।

सेटिङ सम्बन्धी कुकिज – भाषा, स्थानजस्ता व्यक्तिगत रोजाइ सम्झने ।

डेटा सङ्कलन गर्ने कुकिज – प्रयोगकर्ताले साइटमा के-के गरिरहेको छ भन्ने रेकर्ड गर्ने ।

विज्ञापन कुकिज – प्रयोगकर्ताको गतिविधि पछ्याएर उसको रुचिअनुसार विज्ञापन देखाउने ।

कुकिज स्वीकार गर्ने कि अस्वीकार ?

सबै कुकिज स्वीकार अर्थात् Accept All Cookies क्लिक गर्दा तपाईंलाई वेबसाइट प्रयोग गर्न सजिलो हुन्छ, किनकि पटक पटक सेटिङहरू गर्नु पर्दैन । तर यसमा कम्पनीहरूले तपाईंको गतिविधि लगातार ट्र्याक गर्ने नकारात्मक पक्ष पनि छ ।

सबै कुकिज अस्वीकार अर्थात् Reject All Cookies क्लिक गर्दा तपाईंको प्राइभेसी सुरक्षित हुन्छ, तर वेबसाइटको सुविधा केही सीमित हुन्छ ।

सबै स्वीकार र सबै अस्वीकार गर्ने दुवै अप्सनको बीचमा रहेर हामीले विकल्प रोज्नुपर्छ । किनकि, केही कुकिज अनिवार्य हुन्छन्, जसलाई रिजेक्ट गर्न सकिँदैन,  यस्ता कुकिज प्रायः वेबसाइट सञ्चालनका लागि मात्र प्रयोग हुन्छन् ।

त्यसैले कुकिज स्वीकार गर्नु सधैं खराब हुँदैन । तर सचेत भएर निर्णय लिनु आवश्यक हुन्छ । जरुरी कुकिज मात्र स्वीकार गर्नु उपयुक्त हुन्छ । यदि वेबसाइटले रिजेक्ट गर्ने अप्सन नै नदिएमा, त्यो वेबसाइट प्रयोग नगर्नु नै राम्रो विकल्प हो ।

यसरी, कुकिजलाई सन्तुलित ढङ्गले व्यवस्थापन गर्न सकेमा तपाईंले इन्टरनेटको सुविधा पनि लिन सक्नुहुन्छ र आफ्नो प्राइभेसी पनि सुरक्षित राख्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज १७, २०८२ १७:३५