अर्थमन्त्री रामेश्वर खनाललाई समेत झुक्यायो प्रधानमन्त्री कार्कीको नक्कली फेसबुक प्रोफाइलले
असोज २०, २०८२ १२:४
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको नाममा खोलिएको नक्कली फेसबुक अकाउन्टले अर्थमन्त्री रामेश्वर खनाललाई समेत झुक्याएको पाइएको छ । फेसबुकमा २८ हजारभन्दा बढी फलोअर भएको उक्त नक्कली अकाउन्टलाई खनालले फलो गरेका हुन् ।
प्रधानमन्त्रीको नाममा नक्कली अकाउन्टको बिगबिगी भएपछि आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनको आधिकारिक एक्स, फेसबुक र इन्स्टाग्राम अकाउन्टबारे जानकारी दिएको थियो । तर, त्यसलगत्तै उही प्रोफाइल पिक्चर र नाम प्रयोग गरेर अकाउन्ट बनाउनेहरूको होडबाजी चलेको छ । यतिसम्म कि त्यही २८ हजार फलोअर भएको नक्कली अकाउन्टले नै आफू नक्कली नभएको भन्दै स्पष्टीकरण दिइरहेको छ ।
यो त्यही अकाउन्ट हो, जसलाई वास्तविक ठानेर अर्थमन्त्री खनालले समेत फलो गरेका छन् ।
यो पहिले सामान्य फेसबुक अकाउन्ट थियो भने पछि यसलाई 'प्रोफेसनल मोड'मा परिवर्तन गरिएको छ ।
उक्त नक्कली अकाउन्टबाट प्रधानमन्त्रीको नाम दुरुपयोग गर्दै विभिन्न किसिमका सामग्री राखिएका छन् । त्यसमा एआईबाट बनाइएका टिकटक भिडिओ, अरूले फेसबुकमा राखेका पोस्टहरू र विगतका सरकारलाई आक्षेप लगाउने किसिमका सामग्रीसमेत छन् । धेरैले तिनै पोस्टलाई आधार बनाएर प्रधानमन्त्री कार्की फेसबुकमा कति सक्रिय भएकी, विगतका सरकारलाई कति सरापेकी भन्दै आलोचना गरिरहेका छन् ।
उक्त अकाउन्टमा निकै छुद्र भाषा प्रयोग गरिएको छ । धेरै फलोअर देखेरै त्यसलाई आधिकारिक अकाउन्ट ठान्दै धेरैले फलो गरेका छन् । सोही प्रोफाइल र नाम प्रयोग गरी बनाइएका सयौँ फेसबुक अकाउन्ट सक्रिय छन् र धेरैले तिनै अकाउन्टलाई फलो गरेका छन् । यस्ता अकाउन्ट तथा पेजबाट प्रधानमन्त्रीको नाम र फोटो दुरुपयोग गरी भ्रामक तथा मिथ्या सूचना फैलाइएको छ ।
सामाजिक सञ्जालका विवरणहरू निम्नानुसार रहेका छन्:
-
एक्स (X): @pmsushilakarki
-
फेसबुक (Facebook): PM Sushila Karki
-
इन्स्टाग्राम (Instagram): pm.sushila.karki
सरकारसँग सम्बन्धित पदाधिकारीका लागि एक्सले खैरो चेकमार्क उपलब्ध गराउँछ । तर, फेसबुक र इन्स्टाग्राममा भने शुल्क तिरेकै भरमा भेरिफाइड चेकमार्क लिन सकिन्छ । प्रम कार्कीका आधिकारिक ह्यान्डललाई भेरिफाइड गराउन कार्यालयले केके काम गरिरहेको छ भन्ने स्पष्ट छैन ।
पछिल्लो अध्यावधिक: असोज २०, २०८२ १२:२२
