प्रधानमन्त्रीको नामबाट खोलिएका नक्कली अकाउन्ट डिलिट गर्न साइबर ब्युरोलाई पत्राचार
असोज २०, २०८२ १४:१९
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको नाम र फोटो दुरुपयोग गरी खोलिएका नक्कली सामाजिक सञ्जाल अकाउन्ट हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साइबर ब्युरोलाई पत्राचार गरेको छ । प्रधानमन्त्री कार्कीको नाम र फोटो दुरुपयोग गर्दै लाखौँ फलोअर भएका अकाउन्ट छ्यापछ्याप्ती देखिन थालेपछि कार्यालयले ब्युरोलाई पत्राचार गरेको हो ।
प्रधानमन्त्री कार्यालयको सूचना प्रविधि महाशाखा हेर्ने सहसचिव सुवास ढकालले टेकपानासँगको कुराकानीमा प्रधानमन्त्रीको नाममा खोलिएका जति पनि नक्कली अकाउन्ट छन्, ती पहिचान गरी साइबर ब्युरोले हटाउने प्रयास गरिरहेको बताए । “हामीले दसैँअघि नै धेरै सामाजिक सञ्जालका अकाउन्ट डिलिट गर्नका लागि साइबर ब्यूरोलाई पत्राचार गरिसकेका छौँ,” ढकालले भने, “लाखौँ फलोअर भएका केही अकाउन्ट डिलिट भए, केही प्रक्रियामा छन् ।”
उनका अनुसार आइतबारदेखि प्रयोगमा आएका प्रधानमन्त्रीका आधिकारिक फेसबुक पेज, इन्स्टाग्राम अकाउन्ट र एक्स ह्यान्डल भेरिफिकेसनको प्रक्रिया अगाडि बढेको छ । बहालवाला प्रधानमन्त्रीको आधिकारिक एक्स ह्यान्डलमा खैरो भेरिफिकेसन मार्क हुन्छ भने बाँकी सामाजिक सञ्जालमा निलो चेकमार्क हुन्छ ।
पछिल्लो अध्यावधिक: असोज २०, २०८२ १४:१९
