काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हालै सार्वजनिक गरेका प्रधानमन्त्री सुशीला कार्कीका नयाँ सामाजिक सञ्जाल अकाउन्टमा जिमेल एड्रेस प्रयोग भएको विषयले सामाजिक सञ्जालमा बहस सिर्जना गरेको छ । सरकारको आफ्नै आधिकारिक ईमेल प्रणाली हुँदाहुँदै तेस्रो पक्षको सेवा प्रयोग गरिनुले विश्वसनीयता र सुरक्षामाथि प्रश्न उठेको हो ।
आइतबार कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका लागि एक्स, फेसबुक र इन्स्टाग्रामका नयाँ ह्यान्डल सार्वजनिक गरेको थियो । उक्त विज्ञप्तिमा फेसबुक र इन्स्टाग्राम खाताको पहिचानका लागि ‘[email protected]’ नामक जिमेल ठेगाना उल्लेख छ ।
लगत्तै सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रधानमन्त्री जस्तो गरिमामय पदका लागि जिमेल जस्तो निजी सेवा प्रदायकको ईमेल प्रयोग गर्नुको औचित्यमाथि प्रश्न उठाए । उनीहरूले यसलाई अव्यावसायिक र सरकारी सूचना प्रविधि नीतिको विपरीत भएको टिप्पणी गरेका छन् ।
यस विषयमा उठेका जिज्ञासाबारे प्रधानमन्त्री कार्यालयको सूचना प्रविधि महाशाखा हेर्ने सहसचिव सुवास ढकालले उक्त जिमेल ईमेल पत्राचारका लागि नभई सामाजिक सञ्जाल खाता खोल्नका लागि मात्र प्रयोग गरिएको स्पष्ट पारेका छन् ।
“त्यो जिमेल एड्रेस प्रधानमन्त्रीलाई ईमेल पठाउनका लागि होइन । सामाजिक सञ्जाल खाताको पहिचानकर्ता (आइडेन्टिफायर) को रूपमा मात्र प्रयोग गरिएको हो,” ढकालले भने, “कार्यालयको आधिकारिक पत्राचारका लागि छुट्टै ईमेल ठेगाना छ ।”
उनका अनुसार प्रधानमन्त्रीको नाममा खोलिएका सामाजिक सञ्जाल खाता प्रमाणीकरण हुन केही समय लाग्ने भएकाले तत्कालका लागि आधिकारिकता पहिचान गर्न उक्त जिमेल सहयोगी हुनेछ । फेसबुक एपबाट प्रयोग गर्दा प्रयोगकर्ता नाम (युजरनेम) प्रस्ट नदेखिने तर जिमेल ठेगानाबाट सजिलै आधिकारिक खाता पहिचान गर्न सकिने भएकाले यसो गरिएको उनको भनाइ छ ।
डेटा गोपनीयताको सवालमा ढकालले उक्त जिमेल नितान्त सामाजिक सञ्जालका लागि मात्र बनाइएको र यसबाट कुनै पनि किसिमको सरकारी डेटाको गोपनीयता भङ्ग नहुनेमा विश्वस्त हुन आग्रह गरे ।
सामाजिक सञ्जालका विवरण निम्नानुसार रहेका छन्:
-
एक्स (X): @pmsushilakarki
-
फेसबुक (Facebook): PM Sushila Karki ([email protected])
-
इन्स्टाग्राम (Instagram): pm.sushila.karki ([email protected])
पछिल्लो अध्यावधिक: असोज २०, २०८२ १८:४४
