close

आगजनी र लुटपाटपछि यातायात विभागको सेवा एक महिनादेखि ठप्प, सर्भरको हार्डड्राइभ नै चोरी

टेकपाना टेकपाना

असोज २२, २०८२ २२:१८

आगजनी र लुटपाटपछि यातायात विभागको सेवा एक महिनादेखि ठप्प, सर्भरको हार्डड्राइभ नै चोरी

काठमाडौँ । पछिल्लो एक महिनादेखि यातायात व्यवस्था विभागको सेवा ठप्प छ । २४ भदौमा जेनजी पुस्ताको आन्दोलनका क्रममा यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा भएको आगजनी र तोडफोडका कारण विभागले दिने सेवा ठप्प भएका हुन् । 

एक महिनादेखि रोकिएको विभागको सेवा सञ्चालनमा आउन अझै कति समय लाग्छ भनेर हामीले यातायात व्यवस्था विभागसँग बुझेका छौँ । विभागका प्रवक्ता गणेशमान राइले भवनमा पूर्ण क्षति पुगेकाले मर्मत भइरहेको बताए । हाल आफूहरूले कार्यालयमा तयार पारिएको अस्थायी संरचनामा रहेर काम गरिरहेको उनले सुनाए । 

यस्तै विभागका कम्प्युटर इन्जिनियर भानुभक्त जोशीले सेवा पुनः सञ्चालनमा ल्याउन तीव्र गतिमा काम गरिरहेको सुनाए । तर, धेरैजसो हार्डवेयर चोरी तथा नष्ट भएकाले तत्काल सेवा सुरु गर्न कठिन देखिएको उनको भनाइ छ । केही सेवा भने अबको १० देखि १२ दिनभित्र सञ्चालनमा ल्याउने गरी मर्मतको काम भइरहेको उनले जानकारी दिए । 

यातायात व्यवस्था विभागको वेबसाइटको होस्टिङ त्यहीँको डेटा सेन्टरमा राखिएको थियो । तर डेटा सेन्टरमा क्षति भएकाले वेबसाइटसमेत सञ्चालनमा ल्याउन सकिएको छैन । आगजनी र लुटपाटका क्रममा विभागमा रहेका चार ओटा सर्भरमध्ये दुई ओटा सर्भरका हार्डड्राइभहरू चोरी भएका छन् । 

विभागले अहिले बाँकी रहेका सर्भरहरूमा उपलब्ध स्रोत साधनको प्रयोग गरी डेटा सेन्टरलाई सञ्चालनमा ल्याउने प्रयास गरिरहेको उनले बताए । यसका लागि विभागको प्रणालीलाई जीआईडीसीमा एसेम्बल गर्ने काम भइरहेको छ । यस्तै ब्याकअप डेटा प्रयोग गरेर प्रणाली रिकभर गर्ने काम भइरहेको उनले जानकारी दिए ।

विभागसँग स्यान स्टोरेज नभएका कारण हाल सुरक्षण मुद्रण केन्द्रबाट स्यान स्टोरेज मागेर ल्याएर हार्डवेयर व्यवस्थापन गर्न लागिएको उनले सुनाए ।  

उनले भने, “सरकारी प्रक्रियामा नयाँ सर्भर खरीद गर्नका लागि समय लाग्छ । त्यसैले हाल उपलब्ध भएका सर्भरहरूको प्रयोग गरि काम चलाउने गरि मर्मत गरेर छिटो सेवा सञ्चालन गर्ने प्रयास गरि रहेका छौँ ।” 

हाल उपलब्ध सर्भरले धान्न सक्ने लोडको बारेमा अध्ययन गरेर सोही अनुसार सेवाहरू मिलाउने प्रयास गरिरहेको उनले सुनाए । उनले थपे, “तर सर्भरहरूलाई पुनः एसेम्बल गर्दा चल्छन् कि चल्दैनन् भन्ने यकिन भइसकेको छैन । परीक्षण गरेपछि मात्र थाहा हुन्छ ।”

वेबसाइट सञ्चालन, लाइसेन्स नवीकरण र नयाँ लाइसेन्स आवेदनसम्मको विभागको सेवा सर्भर सञ्चालनमा आएसँगै सुरु हुनेछन्  । तर लाइसेन्स छपाइका काम भने सुरु हुन अझै समय लाग्ने देखिएको कम्प्युटर इन्जिनियर जोशीले बताए । 

उनका अनुसार विभागमा भएका लाइसेन्स प्रिन्ट गर्ने मसिन इटालीबाट आयात गरिएको हो । ती मसिन आगजनीमा नभए पनि तोडफोड भएर क्षति पुगेको छ । उक्त प्रिन्टरलाई चलाउन मिल्छ कि मिल्दैन भन्ने जानकारी हालसम्म प्राप्त हुन सकेको छैन । 

उनले भने, “प्रिन्टर निर्माता कम्पनीकै इन्जिनियरलाई बोलाएर एसेसमेन्ट गराएपछि मात्र प्रिन्टर चलाउन मिल्छ कि मिल्दैन भन्ने थाहा हुन्छ ।” यस्तै लाइसेन्स छपाइ हुने कार्डहरू पनि विभागसँग बाँकी रहेको उनले बताए । तर उक्त कार्डमा भएका चिप काम लाग्ने अवस्थामा छन् कि छैनन् भनेर हालसम्म जानकारी प्राप्त हुन सकेको छैन । 

जोशीले भने, “लाइसेन्स छपाइ सामान्यत २३ देखि २४ डिग्री तापक्रम भएको एसी भएको कोठामा गरिन्छ । आगोको तापले गर्दा कार्ड नजले पनि चिपमा  असर पारेको हुन सक्छ ।  प्रिन्टर तयार नभएसम्म कार्डमा लेख्न मिल्छ कि मिल्दैन भन्ने बारेमा एकीन भइसकेको छैन ।” लाइसेन्स छपाइ गर्ने प्रिन्टर र कार्ड खरिद प्रक्रियाका लागि विभागले छिट्टै टेन्डर निकाल्ने तयारी समेत गरेको उनले सुनाए ।

चोरी भएको हार्डड्राइभमा भएका डेटा दुरुपयोग हुने चिन्ता 

विभागको दुई ओटा हार्डड्राइभ चोरी हुँदा त्यसको दुरुपयोग हुने जोखिम समेत बढेको उनले बताए । जोशीका अनुसार चोरी भएका हार्डड्राइभमा सेवाग्राहीका विवरण छन् । जसमा बायोग्राफिक डेटा (नाम, नागरिकता नम्बर) र बायोमेट्रिक डेटा (फिंगरप्रिन्ट, फोटो, सिग्नेचर) समावेश छन् । 

उनले भने, “प्राविधिक ज्ञान भएको मानिसले नै चोरी गरेको हो कि जस्तो लागेको छ । हार्डड्राइभबाट त्यहाँ भएको डेटा चोरी हुन सक्छन् । डेटा बिक्री गर्न सक्ने खतरा पनि छ ।”

पछिल्लो अध्यावधिक: असोज २२, २०८२ २२:१८