काठमाडौँ । शनिबार बिहान सबेरै एचटीपी खबर नामक फेसबुक पेजमा युट्युबर दिवाकर साहको एउटा भिडिओ पब्लिश भयो । जसमा उनले नाम नलिई तीन शब्द अङ्कित टी-शर्ट लगाएका मानिसहरूको बारेमा सनसनीपूर्ण सङ्केत गरे । तर आफू असुरक्षित रहेको र मारिन सक्ने भन्दै उनले उक्त समूहको नाम भने लिएनन् ।
उनको भिडिओ एकाएक भाइरल बन्यो । त्यसपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले २३-२४ भदौको जेन-जी आन्दोनका भिडिओहरू खोतल्न थाले । यसैक्रममा टीओबी (T.O.B) अङ्कित तीन शब्दको टी-शर्ट तथा ज्याकेट पहिरिएका भिडिओ र फोटोहरू सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् ।
त्यही टीओबी (T.O.B) कै वरिपरि केन्द्रित भएर प्रयोगकर्ताहरूले अनेकौँ अर्थ निकालिरहेका छन् । त्यस मध्ये टीओबीको अर्थ टिबेटयन ओरिजिनल ब्लड (तिब्बती मूलको रगत) भएको र तिब्बती शरणार्थीले नेपालमा चीन विरोधी फ्रि तिब्बत गतिविधि चर्काउन खोजेको विषय सबैभन्दा चर्चामा छ । टेकपानाले टीओबीको वास्तविक अर्थ के हो र जेन-जी आन्दोलनमा स्वतन्त्र तिब्बत पक्षधरहरू संलग्न थिए वा थिएनन् भन्ने विषयमा केही खोज पडताल गरेको छ ।
गत मार्चमा खोलिएको एउटा इन्स्टाग्राम अकाउन्ट छ । जसमा अहिले टीओबीलाई सोसल क्लब भन्दै उक्त अकाउन्टको बायोमा त्यसको पुरा रूप 'द ओरिजिनल ब्रदर्स' भन्ने राखिएको छ ।
यो नै जेन-जी आन्दोलनमा बुलेट बाइकसहित घुसपैठ गरेको टीओबी समूहको आधिकारिक अकाउन्ट हो । उक्त अकाउन्ट खोतल्दा यस पछाडिका अनकौँ रहस्य टेकपानाले फेला पारेको छ ।
टीओबीका एक सदस्य बिराज खड्काले ग्रुपको इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरेको भिडिओमा 'जेन जी भाइबैनीहरू'ले आन्दोलनमा गुहार मागेपछि आफूहरू त्यहाँ गएको बताएका छन् । उनका अनुसार जेन-जी आन्दोलनमा टीओबीको नेतृत्व तेन्जिङ दावाले गरेका थिए । कपाल पालेका, शरीरका विभिन्न भागमा ट्याटु खोपेका, कानमा ठुला मुन्द्रा लगाएका र बुलेटबाइकमा सवार व्यक्ति नै दावा हुन् ।
दावाले पहिरिएको ज्याकेटमा भने टीओबी-टिबेटयन ओरिजिनल ब्लड (TOB: TIBETAN ORIGINAL BLOOD) लेखिएको प्रस्ट देखिन्छ । फरक अर्थ लाग्ने बायो राखिएको भए पनि टीओबीको इन्स्टाग्राम अकाउन्टमा ‘टिबेटन ओरिजिनल ब्लड’ अर्थ लाग्ने र जर्सी देखिने थुप्रै भिडिओ तथा फोटोहरू भेटिए । दावाले अगस्ट, २०२४ मै आफ्नो फेसबुक अकाउन्टममा टीओबी-टिबेटन ओरिजिनल ब्लड' को लोगो अपलोड गरेका छन् । टीओबी अकाउन्टका विभिन्न पोस्टमा कोल्याब गरेका दावाको आईडी भने अहिले प्राइभेट छ ।
जेन-जी आन्दोलनको दोस्रो दिन (२४ भदौ) मा संसद भवन आसपास समेत दावाको समूह देखा परेको थियो । त्यस क्रममा खबर बुलेटिन टिभी नामक फेसबुक पेजमा उनले छोटो तर उग्र तथा अपाच्य अभिव्यक्ति दिएका छन् । "भोलि चौकी जान तयार छु, तर मा*मु* तर मलाई मेरो देश फिर्ता चाहियो । मेरो देश, मेरो शान ।" उनले भनेका थिए । उनीहरूको अर्को नारा थियो, “हाम्रो देश, हाम्रो राज ।”
दावाको हातमा एउटा झण्डा पनि देखिन्छ, जसको माथिल्लो भागमा ‘H’ जस्तो देखिने लोगोसहित ‘HAKIM’ लेखिएको छ । उक्त लोगो उनको समूहका सदस्यहरूले लगाएको टी-शर्टमा पनि अङ्कित छ । जुन हाकिम इन्टरटेनमेन्ट नामक एउटा म्युजिक कम्पनीको हो ।
जसका सञ्चालक हुन्, र्यापर तथा कलाकार हाकिम गुरुङ उर्फ सुरेन्द्र गुरुङ (Hakim Gurung - Ha King) । हाकिम गुरुङले टीओबीका कतिपय पोस्टमा कोल्याब (सहकार्य) पनि गरेका छन् । यति मात्र होइन, उनी टीओबीका विभिन्न गतिविधिमा प्रत्यक्ष सहभागी हुने र प्रवर्धन गर्ने काम पनि गरिरहेका हुन्छन् ।
एउटा भिडिओमा त उनी आफैँले दावासँगै टीओबी अङ्कित टीशर्ट लगाइरहेको अवस्थामा देखिए । आफ्ना कन्सर्टहरूमा हाकिम टीओबीकै टीशर्टमा पर्फर्म समेत गरिरहेका हुन्छन् ।
तर हाकिम गुरुङले फेसबुकमा भने टीओबीको अर्कै (द ओरिजिनल ब्रोज) अर्थ उल्लेख गरेका छन्, उक्त पोस्ट टीओबीको आधिकारिक इन्स्टाग्राम अकाउन्टको स्टोरीमा राखिएको छ । जसमा उनले टीओबीको तर्फबाट कम्तीमा १५० को सङ्ख्यामा आफूहरू बाइकमा जेन-जी आन्दोलनमा गएको उल्लेख गरेका छन् । आन्दोलनमा आफूले भने मास्क लगाएर गएको उनको भनाई छ । “त्यो कालो झण्डा हाम्रो टिमको हो । जसमा हाम्रो लोगो छ,” हाकिमले भनेका छन् ।
तर ‘टीओबीः टिबेटन ओरिजिनल ब्लड’ ग्रुपका संयोजक दावालाई गुरुङले आइतबार फेसबुक स्टोरीमा राख्दै आफ्नो टिमको सदस्य भएको स्वीकार गरेका छन् ।
टिबेटन ओरिजिनल ब्लड (T.O.B) कै नाममा १३ वर्षअघि खोलिएको एउटा फेसबुक ग्रुप समेत छ । तर त्यसका सबै एड्मिनको फेसबुक अकाउन्टमा पहुँच गुमेकाले यो ग्रप भने उनीहरूको नियन्त्रणभन्दा बाहिर छ । यद्यपि त्यसमा द टिबेटन ओरिजिनल ब्लडलाई विश्वभर छरिएर रहेका तिब्बती र स्वतन्त्र तिब्बतका पक्षधरहरूको मञ्च तथा विश्व सञ्जाल भनेर परिभाषित गरिएको छ ।
टीओबी समूहसँग ‘काठमाडौँ टेरर’, ‘प्रिडेटर’, ‘हेलबोन्ड’ लगायतका बाइकर क्लब तथा ग्रुपहरूको समेत सम्बन्ध देखिएको छ । प्रिडेटर नामक बाइकर समूहले आफूलाई ‘द न्यु रिभोलुसन फर द चेन्ज’ (परिवर्तनको नयाँ क्रान्ति) भनेर बयान गरेको छ ।
टीओबीसँग हाम्रो कुनै सम्बन्ध छैनः सुदन गुरुङ
टीओबी भाइरल बनेसँगै त्यसमा हामी नेपाल तथा त्यसका संयोजक सुदन गुरुङलाई समेत मुछिएको छ । तर उनले यसलाई पार्टी कार्यकर्ता र उनीहरूका साइबर सेनाले फैलाएको भ्रम बताएका छन् । “विथ प्रुफ आउँछ भने जेल जान तयार छौँ । अहिले जेन-जी आन्दोलन र हामी विरुद्ध अनेकौँ कन्सपिरेसी सिर्जना गर्ने काम भइरहेको छ,” उनले भने, “हामी भ्रष्ट नेताहरूसँग लड्न सक्छौँ भने फेक न्युज फैलाउने कार्यकर्ता र साइबर सेनाको पछि पनि लाग्न सक्छौँ । हरेक चोटि देश भाँड्न खोज्ने प्रवृत्ति प्रति हामी सचेत छौँ ।”
टीओबीका मानिसहरूलाई आफूहरूले नबोलाएको बताउँदै गुरुङले टीओबीका मानिसहरूसँग आफूहरू देखिने कुनै फोटो तथा भिडिओ ल्याउन चुनौती समेत दिए । “भिडिओहरूमा समेत हेरे हुन्छ, हामी कहाँ छौँ र उनीहरू कहाँ छन् ?”
आफूले आन्दोलनका क्रममा ‘फ्रि टिबेट’का मानिसहरू नदेखेको दाबी उनले गरे । “हामी आन्दोलनमा अगाडि थियौँ, तर बाइकर ग्याङ देखेका थिएनौँ । यो ग्याङ्ग कताबाट आयो थाहा भएन । मैले बोलाएको वा मेरो संलग्नता छ भन्नेले प्रुफ दिनु पर्यो । आन्दोलनमा पक्कै पनि घुसपेठ भएको छ । तर विभिन्न प्रकारका घुसपैठियाहरूसँग हाम्रो नाम जोडेर आन्दोलन तुहाउन साइबर सेना सक्रिय छन् ।”
त्यस किसिमका घुसपैठहरूको निष्पक्षीय छानबिन हुनुपर्ने भन्दै गुरुङले त्यसमा कारबाही अगाडि बढाउन आफूहरूले उजुरी हाल्ने बताए । “यस विषयमा प्रहरी र आयोगले छानबिन गरेर कारबाही अगाडि बढाउनु पर्छ । हामीहरूले घुसपैठलाई यत्तिकै छोड्नुपर्छ भनेका छैनौँ । तर प्रतिशोध पूर्ण ढङ्गले हाम्रा निर्दोष जेन-जीहरूलाई समात्न थालिएपछि मात्रै हामीले आबाज उठाएका हौँ,” उनले भने ।
आन्दोलनको नाममा हत्या, लुटपाट, आगजनी गर्नेहरूमाथि कारबाही अघि बढाउनुपर्ने पक्षमा आफूहरू रहेको गुरुङले बताए । “हातहतियारसहित गएकालाई छोड्न भनेका छैनौँ । हत्यारा, लुटेरा र आपराधिक गतिविधिमा संलग्नलाई मात्र समातेको भए हामी केही भन्ने वाला थिएनौँ । प्रहरीले पनि निष्पक्ष भएको भए समस्या हुने थिएन,” उनले भने ।
पछिल्लो अध्यावधिक: असोज २६, २०८२ १२:५३
