close

पाँच लाख रुपैयाँले घट्यो स्टार्टअप कर्जाको सीमा

टेकपाना टेकपाना

असोज २६, २०८२ १४:२

पाँच लाख रुपैयाँले घट्यो स्टार्टअप कर्जाको सीमा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नयाँ कार्यविधि जारी गर्दै स्टार्टअप कर्जाको सीमा पाँच लाख रुपैयाँले घटाएको छ ।  स्टार्टअप उद्यम कर्जा कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ जारी गर्दै मन्त्रालयले तीन प्रतिशत ब्याजदरमा स्टार्टअप कर्जाको अधिकतम सीमा न्यूनतम पाँच लाखदेखि २० लाखसम्म निर्धारण गरेको हो । 

गत वर्ष स्टार्टअप कर्जाको सीमा सोही ब्याजदरमा पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म तोकिएको थियो ।  स्टार्टअप उद्यम कर्जा कार्यक्रम कार्यान्वयन गर्ने औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले भने मन्त्रालयले कार्यविधिमा प्रतिष्ठानसँग सल्लाह नगरि रकम घटाएको जनाएको छ । 

स्टार्टअप कर्जाको सीमालाई २५ लाख रुपैयाँ नै यथावत् राख्न पहल गर्ने औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका सूचना अधिकारी मणिराम गौतमले बताए । उनले भने, “जारी भएको कार्यविधि हालसम्म प्रतिष्ठानमा आइपुगेको छैन । कार्यविधि बनाउँदा केही गल्ती भएर २० लाख अधिकतम सीमा भएको हुनुपर्छ । यसको कार्यान्वयन गर्ने बेलासम्ममा अधिकतम सीमा २५ लाख रुपैयाँ पुर्‍याउन पहल गर्छौँ ।”

चालु आर्थिक वर्ष २०८३/०८३ मा स्टार्टअप उद्यम कर्जाका लागि मन्त्रालयबाट बजेट पनि गत आवको तुलनामा २७ करोड रुपैयाँ कम छुट्याइएको छ । गत आवमा कर्जाका लागि  एक अर्ब रकम छुट्याइएकोमा यस वर्ष ७३ करोड रुपैयाँ विनियोजन भएको उनले बताए । तर ऋण निकाल्दा सुरक्षण कोषमा जम्मा गर्नुपर्ने रकम घट्दा बजेट कम भएपनि कर्जा पाउन‍े व्यक्तिहरूको सङ्ख्या भने नघट्ने आँकलन गरिएको उनले बताए । 

उनले भने, “कर्जा लिँदा पहिला सुरक्षण कोषमा कर्जाको २५% रकम राख्नुपर्ने थियो । तर यस पटक १५% ले घटाएर १०% मात्र राख्नुपर्ने बनाइएको छ ।” 

स्टार्टअप उद्यमका लागि पाँच क्षेत्र तोकिएका छन् । जसमा कृषि, वन तथा उत्पादनमूलक क्षेत्र, सूचना प्रविधि तथा डिजिटल क्षेत्र, पूर्वाधार तथा यातायात क्षेत्र, सामाजिक सेवा र पर्यटन क्षेत्र, परम्परागत तथा स्थानीय स्रोत साधनमा आधारित स्टार्टअप क्षेत्र तोकिएका छन् । 

यस क्षेत्रका स्टार्टअप उद्यमीले आफ्नो उद्यमलाई धितोमा राखेर ऋण लिनका लागि प्रतिष्ठानले आवेदन खुलाएपछि फाराम भर्न सक्नेछन् । 

गत आर्थिक वर्ष  २०८१/८२ मा प्रतिष्ठानले पाँच हजार १५८ परियोजना मध्येबाट  स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत एक हजार ३१४ परियोजनालाई छनोट गरेको थियो । 

 

पछिल्लो अध्यावधिक: असोज २६, २०८२ १४:४