close

जेनजी आन्दोलनका क्रममा भएको क्षतिको विवरण सङ्कलन गर्दै जाँचबुझ आयोग, प्रमाण ईमेल गर्न सकिने

टेकपाना टेकपाना

असोज २६, २०८२ १८:२९

जेनजी आन्दोलनका क्रममा भएको क्षतिको विवरण सङ्कलन गर्दै जाँचबुझ आयोग, प्रमाण ईमेल गर्न सकिने

काठमाडौँ । जाँचबुझ आयोगले २३ र २४ भदौको जेन-जी आन्दोलनका क्रममा भएको क्षतिको विवरण सङ्कलन गर्न थालेको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगले ईमेल मार्फत क्षतिको विवरणसँगै घटनालाई पुस्ट्याइ गर्ने प्रमाणहरू पठाउन आग्रह गरेको हो ।

आन्दोलनका क्रममा मुलुकका विभिन्न भागमा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न अन्तरिम सरकारले गौरिबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो । ९ असोजदेखि नै कार्य प्रारम्भ गरेको आयोगले उक्त प्रदर्शनका क्रममा काठमाडौँ लगायत मुलुकका विभिन्न भागमा राजनीतिक दल, सङ्घ-संस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण मागेको हो ।

यसका लागि आयोगले जानकारी उपलब्ध गराउने ढाँचा समेत सार्वजनिक गरेको छ । आयोगको ईमेल ठेगाना [email protected] मा उल्लिखित ढाँचामा आवश्यक विवरण पठाउन सकिनेछ ।

यसका साथै घटनालाई पुस्ट्याई गर्ने श्रव्यदृश्य, फोटो र कागजात जस्ता प्रमाणहरू भए सो समेत आयोगलाई उपलब्ध गराउन भनिएको छ । आयोगका अनुसार हुलाक मार्फत पनि क्षतिको विवरण पठाउन सकिनेछ । तर हुलाकबाट पठाएको क्षतिको विवरणको सफ्ट कपी भने आयोगको ईमेल ठेगानामा अनिवार्य पठाउनुपर्नेछ । 

 

पछिल्लो अध्यावधिक: असोज २६, २०८२ १८:२९