close

हमासद्वारा मारिएका विपिन जोशीकी बहिनीको नाममा नक्कली टिकटक अकाउन्ट, फैलाइँदै भ्रम

टेकपाना टेकपाना

असोज २९, २०८२ ११:२६

हमासद्वारा मारिएका विपिन जोशीकी बहिनीको नाममा नक्कली टिकटक अकाउन्ट, फैलाइँदै भ्रम

काठमाडौँ । इजरायलबाट हमासको अपहरणमा परी बन्धक रहेकै बेला मारिएका नेपाली विद्यार्थी विपिन जोशीकी बहिनी पुष्पा जोशीको नाममा कैयौँ नक्कली टिकटक अकाउन्ट बनाएर भ्रम फैलाइएको पाइएको छ । दाजुको रिहाइका लागि लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउँदै आएकी पुष्पाको नाम र पहिचान दुरुपयोग गर्दै पुराना भिडिओ राखेर सर्वसाधारणमा भ्रम सिर्जना गर्न खोजिएको हो ।

मङ्गलबार इजरायली सेना (आईडीएफ) ले हमासको नियन्त्रणमा रहेका विपिनको मृत्यु भइसकेको र डीएनए परीक्षणबाट शवको पहिचान समेत गरिएको आधिकारिक रूपमा पुष्टि गरेको छ । यही संवेदनशील घडीमा पुष्पाले विगतमा दाजुको सकुशल फिर्तीको कामना गर्दै सार्वजनिक गरेका भिडिओलाई नयाँ अकाउन्टबाट पोस्ट गरी सहानुभूतिको दुरुपयोग गर्न खोजिएको छ ।

पुष्पाको नामको नक्कली अकाउन्ट

‘Puspajoshi5299’ नामक एक नक्कली अकाउन्ट सोमबार मात्रै खोलिएको छ, जसमा विपिनका तस्बिर र पुष्पाका पुराना भिडिओ राखेर भावुक र हृदयविदारक सामग्री पोस्ट गरिएका छन् । यी सामग्री हेर्दा विपिन अझै जीवितै रहेको र उनको रिहाइको प्रयास जारी रहेको जस्तो देखिन्छ, जसले यथार्थलाई बङ्ग्याएको छ ।

पाँच दिनअघि पुष्पाले आफ्नो आधिकारिक टिकटक अकाउन्टबाट सार्वजनिक गरेको एउटा भिडिओलाई समेत उक्त नक्कली अकाउन्टले सोमबार मात्रै अपलोड गरेको छ । यता पुष्पाको आधिकारिक अकाउन्ट (PuspaJoshi520) मा भने पाँच दिनयता कुनै नयाँ सामग्री राखिएको छैन ।

पुष्पाको वास्तविक अकाउन्टको स्क्रिनशट

टिकटकमा ‘Puspa Joshi’ भनेर खोज्दा यस्ता दर्जनौँ नक्कली अकाउन्ट भेटिन्छन्, जसले विपिनकी बहिनीको पहिचान दुरुपयोग गरेर सहानुभूतिको फाइदा उठाइरहेका छन् । 

तिनै अकाउन्टबाट आएका भिडिओलाई लिएर सर्वसाधारणले ‘सहानुभूति खोजेको’, ‘भ्युज पाउन भिडिओ बनाएको’ जस्ता गम्भीर आरोप समेत लगाइरहेका छन् । हाल पुष्पा जोशी र उनकी आमा अमेरिकामा छन् । उनीहरू बिहीबार नेपाल फर्किँदैछन् । त्यही समयमा विपिनको शव नेपाल आइपुग्ने विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २९, २०८२ ११:३४