सोरा एआईले बनाएका भिडिओ छुट्याउन नसक्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई यसरी बनाइँदैछ ‘उल्लु’
असोज २९, २०८२ १३:२४
काठमाडौँ । ओमानको अल अमिरात क्रिकेट ग्राउन्डमा जारी विश्वकप टी-२० छनोट अन्तर्गत आइतबारको खेल निकै रोमाञ्चक थियो । १४० रनको लक्ष्य पछ्याएको यूएईलाई १३९ रनमा रोक्दै नेपालले १ रनको सनसनीपूर्ण जित निकाल्यो । यो जितको सर्वत्र चर्चा सेलाउन नपाउँदै सामाजिक सञ्जाल टिकटकमा एउटा भिडिओ भाइरल भयो ।
भिडिओमा चर्चित अमेरिकी बक्सर जेक जोसेफ पल नेपाली टोलीको जर्सी लगाएर जोसिँदै नेपालको समर्थन गरिरहेका देखिन्थे । ९ सेकेन्डको उक्त भिडिओमा उनी नेपालको जितमा निकै उत्साहित देखिन्छन् र अन्त्यमा नेपाल सोझै विश्वकपमा पुगेको बताउँछन् । ‘टिकट्युन फ्युजन’ नामक टिकटक अकाउन्टबाट अपलोड भएको उक्त भिडिओमा छोटो समयमै तीन लाख ८२ हजार बढी भ्युज र ६१ हजार बढी लाइकको ओइरो लाग्यो ।
यति मात्र होइन सोमबार नेपाल र कतारबिचको खेलमा नेपालले ५ रनको रोमाञ्चक जित निकाल्दा पनि जेक पलले प्रत्यक्ष खेल हेरेको र नेपाली क्रिकेटर सन्दिप लामिछानेले लिएको विकेटको तारिफ गरेको अर्को भिडिओ सोही अकाउन्टबाट सार्वजनिक भयो । यो ९ सेकेन्डको भिडिओले पनि दुई लाख बढी भ्युज र २२ हजार बढी लाइक बटुल्यो ।
यी भिडिओ हेरेर धेरैले अमेरिकी सेलिब्रेटीले नेपाललाई समर्थन गरेको भन्दै पलको खुलेर प्रशंसा गरे । तर, वास्तविकता भने अर्कै थियो । भिडिओ राख्ने क्रियटरले कतै नखुलाए पनि यी भिडिओ वास्तविक नभएर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोग गरी बनाइएका थिए । भिडिओमा ओपनएआईको चर्चित प्लेटफर्म ‘सोरा’ को वाटरमार्क स्पष्ट देखिन्छ । सोराले शब्द (टेक्स्ट) कै भरमा यथार्थ परक आवाज र दृश्यसहितको भिडिओ तयार पार्न सक्छ ।
यसमा सबैभन्दा रोचक र चकित पार्ने पक्ष त के छ भने, एआईले जेक पलको अनुहार मात्र नभई पृष्ठभूमिमा चलिरहेको म्याचको ‘रियल टाइम स्कोर’ समेत हुबहु देखाएको थियो । नेपाल र यूएईको म्याचमा फरक अङ्क देखाए पनि नेपाल र कतारको म्याचको स्कोर भने मिलेको थियो । गहिरिएर हेर्दा खेलाडीको जर्सीको डिजाइन र पृष्ठभूमिबाट यो एआई सिर्जित हो भन्ने छुट्याउन सकिन्छ, तर झट्ट हेर्दा अधिकांश दर्शक नराम्ररी झुक्किए ।
स्वयं जेक पलले पनि आफ्ना एआई सिर्जित भिडिओ सार्वजनिक भइरहेकाले दर्शकलाई यो वास्तविक हो भन्ने भ्रम पर्न गयो । क्रिकेटको भिडिओले मात्र होइन एआईको अर्को एउटा भिडिओले पनि धेरैलाई उल्लु बनायो ।
‘केजुसबिजङ्ग बस्नेत’ले अपलोड गरेको एक भिडिओमा विश्वभरका प्रतिस्पर्धीलाई पछि पार्दै नेपालकी लक्ष्मी गुरुङले ओलम्पिकको ‘भाडा माझ्ने र ओछ्यान मिलाउने’ प्रतिस्पर्धामा स्वर्ण पदक जितेको देखाइयो । ओलम्पिकमा ‘डिश एन्ड बेड गेम्स’ जस्तो खेल नै हुँदैन भन्ने सामान्य ज्ञान बिर्सेर, सोराको वाटरमार्क रहेको उक्त भिडिओलाई वास्तविक ठान्दै हजारौँले कमेन्टमा लक्ष्मी गुरुङलाई बधाई दिए । १६ लाखभन्दा बढी भ्युज पाएको उक्त भिडिओलाई वास्तविक ठान्नेकै सङ्ख्या अधिक थियो भने नगण्य मात्रामा मात्रै यो एआईको कमाल हो भन्नेहरू भेटिए ।
यी त सामाजिक सञ्जालमा देखिएका केही प्रतिनिधिमूलक घटना मात्र हुन् । च्याटजीपीटीको रेकर्ड तोड्ने गरी चर्चामा रहेको ‘सोरा’ एप अहिले सीमित प्रयोगकर्ता माझ मात्र उपलब्ध छ र नेपालमा यसको आधिकारिक पहुँच समेत छैन । यस्तो अवस्थामा त छ्यापछ्याप्ती भाइरल भइरहेका यस्ता भिडिओले भ्रम सिर्जना गरिरहेका छन् भने, भोलि यो प्रविधि सबैको पहुँचमा पुग्दा कस्तो अवस्था आउला भन्ने गम्भीर प्रश्न खडा भएको छ ।
टिकटक, फेसबुक र युट्युबमा देखिने यस्ता एआई सिर्जित ‘डिपफेक’ भिडिओले दर्शकलाई वास्तविकता र भ्रम छुट्याउनै मुस्किल पारिदिएको छ । भ्रामक तथा मिथ्या सूचना व्यापक फैलिने नेपाली समाजमा सोरा जस्ता एआई टुलले बनाउने भिडिओले थप चिन्ता पैदा गरेको छ ।
पछिल्लो अध्यावधिक: असोज २९, २०८२ १३:४३
