जेनजी अभियन्ता मिराज ढुंगानाको गुनासोः नक्कली पेजमा ७३ हजार बढी फलोअर, सक्कलीमा ४६०० मात्रै
असोज २९, २०८२ १६:४७
काठमाडौँ । जेनजी प्रदर्शनबाट चर्चामा आएका युवा अभियन्ता मिराज ढुंगानाले आफ्नो नाममा नक्कली फेसबुक पेज सञ्चालनमा रहेको भन्दै गुनासो गरेका छन् । उनले मंगलबार फेसबुक र टिकटकमा भिडिओ सार्वजनिक गर्दै उक्त नक्कली अकाउन्टबारे ध्यानाकर्षण गराएका हुन् ।
“फेसबुकमा मेरो नामको पेज बनाएर ७० हजारभन्दा बढी फलोअर बनाइएको छ, तर त्यो मेरो आधिकारिक पेज होइन,” उनले भनेका छन्, “उक्त पेजबाट आफ्नै तरिकाले पोस्ट गर्ने र अरूको पोस्टमा कमेन्ट गर्ने गरिएको छ ।”
उनले आफ्नो आधिकारिक फेसबुक पेजमा जम्मा १४०० फलोअर रहेको देखाएका थिए । यद्यपि, यो समाचार तयार पार्दासम्म उनको आधिकारिक पेजमा फलोअर संख्या बढेर ४६०० नाघेको छ ।
मिराज ढुंगानाको नाममा रहेको उक्त नक्कली पेजमा भने ७३ हजारभन्दा बढी फलोअर छन् । मिराजले गुनासो गरेपछि पेजको बायोमा ‘मिराज ढुंगानाको फ्यान्स पेज’ भनेर लेखिएको छ । उक्त पेज सन् २०२४ मा ‘सचिन परियार अफिसियल’ नामबाट खोलिएको थियो ।
पछि १० जुन २०२४ मा यसको नाम ‘लक्ष्मण बल भ्लग’ र २१ सेप्टेम्बर २०२४ मा ‘मिराज ढुंगाना’ बनाइएको थियो ।
मिराजले भिडिओमार्फत ध्यानाकर्षण गराएपछि अहिले उक्त नक्कली पेजले मिराजको आधिकारिक फेसबुक अकाउन्टको लिङ्क राखेर त्यसैलाई फलो गर्न सुझाव दिएको छ । यद्यपि मिराजले अन्य सामाजिक सञ्जालमा राखेका भिडिओ र तस्बिर पनि यस पेजबाट अपलोड गरिएका छन् । साथै, उनले कतै पनि पोस्ट नगरेका सामग्रीसमेत उनको नाम दुरुपयोग गर्दै उक्त पेजमा राखिएको पाइएको छ ।
पछिल्लो अध्यावधिक: असोज २९, २०८२ १६:५१
