काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको नाममा बनेका नक्कली सोसल मिडिया अकाउन्टका विरुद्धमा अनुसन्धान अघि बढेको छ । प्रहरीको साइबर ब्युरोले यस विषयमा अनुसन्धान अघि बढाएको हो ।
ती सामाजिक सञ्जाल अकाउन्ट बन्द गर्ने प्रक्रिया अघि बढाइएको साइबर ब्युरोका प्रवक्ता तथा एसपी दीपक राज अवस्थीले बताए । उनले भने, "प्रधानमन्त्रीको नाममा नक्कली सामाजिक सञ्जाल अकाउन्ट बनेको जानकारीमा आएपछि र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को विज्ञप्तिपछि अनुसन्धान अघि बढाएका हौँ ।"
हाल २६ भन्दा धेरै सामाजिक सञ्जाल अकाउन्ट प्रधानमन्त्रीको नाममा नक्कली खुलेको देखिएको उनले बताए । प्रवक्ता अवस्थीले भने, “नक्कली अकाउन्ट सबैभन्दा धेरै मेटा अन्तर्गतका सामाजिक सञ्जालमा छन् । अन्य सञ्जालमा पनि नक्कली अकाउन्ट देखिएका छन् ।”
यसअघि प्रधानमन्त्री सुशीला कार्कीको नाममा सामाजिक सञ्जालमा फेक आईडी खोलेर भ्रामक सूचना फैलाउने पोस्ट भएको भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले एक विज्ञप्ति जारी गर्दै कारबाहीको चेतावनी समेत दिएको थियो ।
पछिल्लो अध्यावधिक: असोज ३०, २०८२ ११:५५
