फ्याक्टचेक: महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले उड्ने कार बनायो भन्दै भ्रम फैलाइँदै
असोज ३१, २०८२ १८:५९
काठमाडौँ । पछिल्लो केहि दिनदेखि फेसबुक, टिकटक, युट्युब लगायतका सामाजिक सञ्जालमा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले उड्ने ड्रोन बनाएको दाबी सहितका भिडिओ पोस्ट भइरहेका छन् । खोलाको किनारबाट एउटा ड्रोन जस्तो देखिने बाइक उडाइरहेको दृश्य नेपालको भन्दै भाइरल गराइएको छ । तर टेकपानाको तथ्यजाँचका क्रममा उक्त उड्ने उपकरण नेपालको नरहेको र राष्ट्रिय आविष्कार केन्द्रसँग कुनै सम्बन्ध नै नभएको पाइएको छ । फिलिपिन्समा उडाइएको होभर बाइकको भिडिओ देखाएर नेपालमा भ्रम फैलाउने नियतले उक्त भिडिओ भाइरल गराइएको तथ्यजाँचको निष्कर्ष छ ।
दाबी
‘Khulasa Media’ नामक फेसबुक पेजले ‘मान्छे बोक्ने ड्रोन’ क्याप्सनसहित ३ मिनेट १८ सेकेन्डको भिडिओ राखेको छ । भिडिओमा मान्छेहरूले ‘दामी, दामी’ भन्दै हुटिङ गरिरहेको समेत सुनिन्छ । १४ अक्टोबर साँझ ७:१४ मा अपलोड भएको उक्त भिडिओमा यो सामग्री तयार पार्दासम्म १३ लाख बढी भ्युज आएको छ । ४२ हजार बढी रियाक्सन र दुई हजार बढी पटक शेयर गरिएको छ । हेर्नुहोस् भिडिओ, आर्काइभ लिङ्क र स्क्रिनशट ।
अनुसन्धान
उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको पाइएपछि सोही दाबीका अन्य पोस्टहरूको खोजी गर्यौँ । ‘Pksgtm’ युजरआईडी रहेको टिकटक अकाउन्टबाट “रास्ट्रीय आविष्कार केन्द्रले बनायो, मान्छे उडने उपकरण” सहित ५० सेकेन्ड लामो भिडिओ अपलोड भएको पाइयो । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओले ७० हजार बढी भ्युज पाएको छ । ३१ हजार बढी लाइक पाएको छ । हेर्नुहोस् भिडिओ र स्क्रिनशट ।
युट्युबमा रिल्स बनाएर ‘@rawbeereaction8439’ बाट पनि सोही दाबी सहित भिडिओ सार्वजनिक भएको फेला पर्यो । ५४ सेकेन्ड लामो उक्त भिडिओको क्याप्सनमा पनि “नेपालमा बनेको यन्त्र” लेखिएको छ । भिडिओ र स्क्रिनशट ।
आविष्कार केन्द्रमा बनाइएको ड्रोनको दाबीसहित पोस्ट भएका अन्य भिडिओ हेर्न यहाँ, यहाँ र यहाँ क्लिक गर्नुहोस् ।
सामाजिक सञ्जालमा भाइरल उक्त क्लिपको खोजीका लागि सबैभन्दा पहिला हामीले उक्त भिडिओबाट स्क्रिनशट लिएर गुगल रिभर्स इमेज सर्च गर्यौँ । यसरी खोज्दा केही अन्य देशका नागरिकहरूले पनि शेयर गरेको भिडिओ फेला पर्यो । तर भाइरल भिडिओको पहिलो स्रोत थाहा पाउन सकिएन । त्यसपछि हामीले उक्त भिडिओ एआईबाट तयार पारिएको त होइन भनेर हाइभ मोडेरेसनमा भिडिओ राखेर हेर्यौँ । यसरी हेर्दा उक्त भिडिओ एआई वा डिपफेक नरहेको देखियो ।
त्यसपछि हामीले ‘flying car test’, ‘flying bike drone’, ‘logistic drone’ लगायतका किवोर्ड राखेर गुगलमा सर्च गर्यौँ । यसरी सर्च गर्ने क्रममा ‘ncb news’ ले सन् २०१९ मा प्रकाशन गरेको एउटा समाचार फेला पर्यो । उक्त समाचारमा ‘होभर बाइक’ को बारेमा लेखिएको छ । उक्त बाइक बजारमा आए निकै महँगो पर्ने समाचारमा उल्लेख छ । समाचारको लिङ्क । समाचारमा देखिएको होभर बाइक र राष्ट्रिय आविष्कार केन्द्रमा देखिएको बाइक केही समान देखिए पनि हेलमेट र फोटो देखिएको स्थान भने फरक देखियो ।
तर उक्त भिडिओमा देखिएको बाइक पनि होभर बाइक नै हुन सक्ने अनुमान सहित हामीले ‘Hover Bike’ नाम गुगलमा सर्च गरेर सामाजिक सञ्जालमा सार्वजनिक भिडिओ केलायौँ । यसरी खोज्ने क्रममा सामाजिक सञ्जाल प्रयोगकर्ता ‘Sir KYXZ’ फेला पर्यो । उक्त नामबाट फेसबुक, टिकटक र इन्ट्राग्राममा ड्रोनको परीक्षणका कयौँ भिडिओहरू सार्वजनिक भएका छन् । ती व्यक्तिको बायोमा एरोस्पेस इन्जिनियर रहेको समेत उल्लेख छ ।
हामीले टिकटकमा ‘flyingkyxz’ युनरनेम र ‘Sir KYXZ’ भएको अकाउन्टबाट अगस्ट १० मा फ्लाइक बाइक राखेको भिडिओ फेला पार्यौँ । ५० सेकेन्ड लामो भिडिओ उक्त भिडिओमा विभिन्न क्लिपहरू जोडेर तयार पारिएको छ । हेर्नुहोस् उक्त भिडिओ ।
उक्त भिडिओको ह्यासट्यागमा hoverbikeairx1 राखिएको छ । सोही ह्यासट्याग सर्च गर्ने क्रममा ‘Sir Kyxz’ नामबाट फेसबुकमा राखिएको ३ मिनेट ३९ सेकेन्ड लामो भिडिओ फेला पर्यो । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओलाई ६९ लाख भन्दा धेरै पटक हेरिएको छ भने एक लाख १२ हजारपटक भन्दा बढी लाइक गरिएको छ । क्याप्सनमा ‘Hoverbike Air X1 in Tanay Rizal. Ready for mass production 🇵🇭’ लेखिएको छ । हेर्नुहोस् भिडिओ र स्क्रिनशट ।
त्यसपछि हामीले उक्त भिडिओलाई नेपालमा भाइरल भिडिओसँग तुलना गरेर हेर्यौँ । उक्त भिडिओ आविष्कार केन्द्रको दाबी गरिएको भिडिओसँग समान रहेको पाइयो ।
उक्त भिडिओमा ठेगाना Tanay Rizal उल्लेख गरिएको छ । हामीले भिडिओमा बताइएको लोकेसन खोजेर हेर्दा उक्त स्थान फिलिपिन्समा रहेको पुष्टि भएको छ ।
‘Sir KYXZ’ फेसबुक अकाउन्टमा हेर्दा सोही लोकेसनमा अन्य ड्रोनहरूको पनि परीक्षण गरेको भिडिओहरू पनि राखेको पाइएको छ । ‘Flyingkyxz’ नामको इन्स्टाग्राम अकाउन्टबाट पनि सोहि फ्लाइङ मोटरसाइकलको अन्य भिडिओहरू पनि अपलोड भएको पाइयो । हेर्नुहोस् भिडिओ र स्क्रिनशट । सबै भिडिओहरू हेर्दा भाइरल भिडिओ ‘Sir KYXZ’ ले नै राखेको स्पष्ट भयो ।
हामीले राष्ट्रिय आविष्कार केन्द्रले पनि मानिस उड्ने सहितको ड्रोन बनाउने परियोजना अघि बढाएको छ कि भनेर बुझ्यौँ । केन्द्रका इन्जिनियर राजु थापाले सामाजिक सञ्जालमा भाइरल भिडिओ केन्द्रसँग सम्बन्धित नरहेको पुष्टि गरे । टेकपानासँग उनले भने, “फिलिपिन्स तिरको भिडिओ लिएर नेपालको भनेर भोइसओभर दिएर हालेछन् ।” केन्द्रले सानो ड्रोनको प्रोजेक्टमा काम गरे पनि ठुला ड्रोनमा काम नगरेको उनले स्पष्ट पारे ।
दाबी
राष्ट्रिय आविष्कार केन्द्रले उड्ने कार बनायो ।
दाबीकर्ता
‘Khulasa Media’ नामक फेसबुक पेज, ‘pksgtm’ युजरआईडी भएको टिकटक अकाउन्ट, ‘@rawbeereaction8439’ युट्युब च्यानल लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताहरू ।
तथ्य
- सामाजिक सञ्जालमा भाइरल भएको मान्छे बोकेर उड्ने बाइक (होभर बाइक) को भिडिओ फिलिपिन्सको हो ।
- यो ‘Sir KYXZ’ नामक एरोस्पेस इन्जिनियरले फिलिपिन्सको तानय रिजाल भन्ने ठाउँमा परीक्षण गरेको ‘Hoverbike Air X1’ हो । अगस्टदेखि यो भिडिओ सामाजिक सञ्जालमा देखिएको छ ।
- भिडिओको फुटेज नेपालको आविष्कार केन्द्रसँग सम्बन्धित छैन । केन्द्रले हाल ठुला ड्रोनमा काम गरिरहेको छैन ।
निष्कर्ष
पछिल्लो केही दिनदेखि टिकटक लगायतका सामाजिक सञ्जालमा राष्ट्रिय आविष्कार केन्द्रले उड्ने ड्रोन बनाएको दाबी सहित भिडिओ भाइरल भइरहेको छ । तर उक्त भिडिओ नेपालको नरहेको टेकपाना तथ्यजाँचबाट पत्ता लागेको छ । उक्त भिडिओ फिलिपिन्सको कम्तीमा २ महिना पुरानो हो । फिलिपिन्सका ‘Sir KYXZ’ नामक एरोस्पेस इन्जिनियरले फिलिपिन्सको तानय रिजाल भन्ने ठाउँमा परीक्षण गरेको ‘Hoverbike Air X1’ लाई आविष्कार केन्द्रको भिडिओ भन्दै भाइरल गराइएको हो ।
प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।
पछिल्लो अध्यावधिक: असोज ३१, २०८२ १९:३०
