महिला इन्फ्लुएन्सर विरुद्ध जथाभावी कमेन्ट गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने प्रहरीको चेतावनी
कात्तिक ७, २०८२ १२:३८
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका लेग स्पिनर सन्दीप लामिछानेको समर्थनमा उत्रिएका सामाजिक सञ्जाल प्रयोगकर्ताले एक युट्युब कार्यक्रममा सहभागी महिला इन्फ्ल्युएन्सरमाथि साइबर आक्रमण गर्न थालेपछि प्रहरीले यस्तो कार्यमा संलग्नलाई कानुनी कारबाही हुन सक्ने बताएको छ ।
कसैको समर्थन गर्ने नाममा अरूको चरित्रहत्या गर्नु र आपत्तिजनक सामग्री पोष्ट गर्नु विद्युतीय कारोबार ऐन, २०६३ आकर्षित हुने विषय भएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको हो ।
यो विवाद बुधबार क्रिकेटर लामिछानेले ‘प्याराडाइम टिभी’ नामक युट्युब च्यानलले आफ्नो योजनाबद्ध चरित्रहत्या गरेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेपछि सुरु भएको थियो । लामिछानेले उक्त च्यानलले आफ्नो मानसिक शान्ति र प्रतिष्ठामा आघात पुर्याएको उल्लेख गरेलगत्तै उनका समर्थक च्यानल र इन्फ्ल्युएन्सरप्रति आक्रामक बनेका थिए ।
विवाद बढेपछि प्याराडाइम टिभीले विज्ञप्ति जारी गर्दै लामिछानेको नाम ‘हलुका र रमाइलो सन्दर्भमा’ प्रयोग गरिनु आफ्नोतर्फबाट भएको गम्भीर गल्ती भएको स्वीकार गरेको थियो । च्यानलले लामिछाने र उक्त भिडिओबाट चोट पुग्न गएका सबैसँग माफी माग्दै सम्बन्धित भिडिओलाई ‘प्राइभेट’ बनाइसकेको छ । साथै च्यानलले यो विषयलाई घृणा फैलाउने माध्यम नबनाउन सबैलाई आग्रह गरेको थियो ।
तर, च्यानलको माफीपछि पनि लामिछानेका समर्थक उक्त कार्यक्रममा सहभागी महिला इन्फ्ल्युएन्सरहरू डा. त्रिशला गुरुङ, नितु मल्ल ठकुरी, जस्मिन महर्जन र सुरुची बुढाथोकीमाथि खनिएका छन् । उनीहरूको नाम र तस्बिर प्रयोग गरी सामाजिक सञ्जालमा विभिन्न आपत्तिजनक र चरित्रहत्या गर्ने किसिमका सामग्री पोस्ट हुन थालेका छन् । निरन्तरको साइबर आक्रमणपछि उनीहरूले सामाजिक सञ्जालमा कमेन्ट सीमित गर्न थालेका छन् भने डा. गुरुङले यस्ता आक्रमणको कमेन्टमार्फत प्रतिवाद गरिरहेकी छन् ।
कार्यक्रममा सहभागी अतिथिमाथि आक्रमण बढेपछि प्याराडाइम टिभीले अर्को विज्ञप्ति निकाल्दै उनीहरूलाई कुनै किसिमको दुर्व्यवहार नगर्न पुनः आग्रह गरेको छ ।
“उहाँहरूले केही भन्नुभएको छैन र यस्तो व्यवहारको भागीदार हुनुपर्दैन,” च्यानलले भनेको छ, “कृपया सबैको सम्मान गर्नुहोस् र नकारात्मकता फैलाउन बन्द गर्नुहोस् ।”
यसै सन्दर्भमा साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले कुनै पनि महिलामाथि चरित्रहत्या हुने किसिमले पोस्ट, कमेन्ट वा मेसेज पठाएमा विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही हुनसक्ने बताएका छन् । “एउटाको समर्थन गर्ने नाममा अरूमाथि नकारात्मक कमेन्ट गर्ने, चरित्रहत्या गर्ने, अपाच्य मेसेज पठाउँदा भोलि कानुनी कारबाहीमा पर्ने सम्भावना हुन्छ,” उनले भने । अवस्थीले सामाजिक सञ्जालमा नकारात्मक रूपमा प्रस्तुत हुनुको सट्टा कानुनी बाटोबाट समाधान खोज्नु उपयुक्त हुने सुझाव दिएका छन् ।
पछिल्लो अध्यावधिक: कात्तिक ७, २०८२ १२:५४
