नेपालमा प्रतिबन्धित जुवा र सट्टेबाजीको खुला प्रचारमा युट्युबर र भ्लगरहरू फेरि सक्रिय
कात्तिक ८, २०८२ १४:४३
काठमाडौँ । नेपालमा गैरकानुनी मानिने अनलाइन जुवा तथा सट्टेबाजी प्लेटफर्मको प्रचारमा नेपाली ‘कन्टेन्ट क्रियटर’ (युट्युबर तथा भ्लगर) हरू पुनः सक्रिय देखिएका छन् । क्रियरले विभिन्न समयमा प्रचार गरिदिएका सामग्री प्रयोग गर्दै बेटिङ प्लेटफर्मले दशैं-तिहारलाई लक्षित गर्दै प्रतिबन्धित एपको खुलेआम विज्ञापन गर्न थालेका हुन् ।
विशेषगरी ‘खल्ती ८८’, ‘जयबाजी’ र ‘जेडब्लु ८’ जस्ता अवैध सट्टेबाजी प्लेटफर्मको प्रवर्द्धनमा राजकुमार थापा (मोटो भ्लगर), विविद जङ्ग थापा (एमआरबी भ्लग), सन्देश तामाङ (टुबी गेमर) लगायतका इन्फ्लुएन्सर संलग्न देखिएका छ ।
यी अवैध प्लेटफर्महरूले अहिले सामाजिक सञ्जालमा भिडिओ ‘बुस्ट’ गरेर आक्रामक रूपमा प्रचार गरिरहेका छन् । एमआरबी भ्लगले प्रचार गरेको ‘खल्ती ८८’ को भिडिओमा ३४ सयभन्दा बढी र राजकुमार थापाले प्रचार गरेको भिडिओमा २७ हजारभन्दा बढी ‘रियाक्सन’ देखिनुले यसको पहुँच व्यापक बनेको पुष्टि हुन्छ ।
क्रियटरले यी प्लेटफर्मलाई ‘नेपालको नम्बर वन क्यासिनो र बेटिङ प्लेटफर्म’ भएको दाबी गर्दै सर्वसाधारणलाई भ्रममा पारिरहेका छन् । घरमै बसेर लाखौं कमाउन सकिने, आकर्षक गिफ्ट ह्याम्पर तथा बोनस पाइने र सहजै रकम झिक्न मिल्ने जस्ता प्रलोभन देखाएर उनीहरूले युवापुस्तालाई आकर्षित गरेका छन् ।
एमआरबी भ्लगका विविदले सुरुमा ‘खल्ती ८८’ लाई लाइभ गेम हेर्ने प्लेटफर्म भने पनि पछि रकम कमाउने लोभ देखाएका छन् । त्यस्तै टुबी गेमरले ‘जयबाजी’ मा खुला रूपमा जुवा खेल्न सकिने भन्दै प्रचार गरेका छन् भने राजकुमार थापाले विभिन्न प्लेटफर्मबीचको सहकार्यको विषय उठाएका छन् ।
यसअघि राजकुमार थापा ‘वनएक्स बेट’को प्रचार गरेको आरोपमा १० असार २०८० मा पक्राउ परेका थिए । त्यस समयमा कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी), अलिस राई, जलन घर्तिमगर, गणेश देवकोटा (गणेश जीडी), सरोज घिमिरे (ढेडु बुढो) र बेगम नेपाली (भटभटे माइला) लाई पनि प्रहरीले कारबाहीको दायरामा ल्याएको थियो । तर, त्यसयता पनि इन्फ्लुएन्सरले विभिन्न स्वरूपमा यस्ता अवैध धन्दाको प्रचार रोकेका छैनन् ।
नेपालको कानुनले जुवा तथा सट्टेबाजीलाई पूर्णतः बन्देज लगाएको छ । मुलुकी अपराध संहिता, २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने स्पष्ट व्यवस्था छ ।
सोही धाराको उपदफा २ (क) अनुसार पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । उपदफा (२) ख का अनुसार दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना तथा त्यसपछिका कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक ८, २०८२ १६:४९
