विकिपीडियालाई चुनौती दिन एलन मस्कले ल्याए एआईमा आधारित ग्रोकिपिडिया, ८ लाख ८५ हजार लेख समावेश
कात्तिक ११, २०८२ ११:४२
काठमाडौँ । एलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी एक्सएआईले सोमबार ग्रोकिपिडियाको प्रारम्भिक संस्करण सार्वजनिक गरेको छ । यो प्लेटफर्म विकिपिडियासँग प्रतिस्पर्धा गर्न सक्ने एआई-सिर्जित विश्वकोश (AI-generated encyclopedia) हुने बताइएको छ ।
अर्बपति टेस्ला संस्थापक मस्कले विकिपिडियालाई लामो समयदेखि सम्पादकीय पूर्वाग्रह (editorial bias) को आरोप लगाउँदै आएका छन् । उनले ग्रोकिपिडियालाई थप सत्यनिष्ठ र स्वतन्त्र विकल्प (truthful and independent alternative) को रूपमा दाबी गर्दै आएका छन् ।
एक्सएआईको च्याटबट ग्रोकद्वारा सञ्चालित यो प्लेटफर्म तत्कालको डेटा (real-time data) मा प्रशिक्षित छ । यसको उद्देश्य अनलाइन ज्ञान कसरी सिर्जना र साझा गरिन्छ भन्ने तरिकालाई पुनः र्स्थापित गर्नु हो ।
ग्रोकिपिडिया औपचारिक रूपमा ग्रोकिपिडिया डटकममा लाइभ भएको थियो । तर यसको सुरुवात भने समस्याग्रस्त रह्यो । दिउँसो लन्च भएको यो साइट केही घण्टाभित्रै क्र्याश भयो । यद्यपि यो सोही साँझ ढिलो गरी पुनः अनलाइन फर्किएको थियो ।
सार्वजनिक हुँदाको समयमा यो प्लेटफर्ममा ८ लाख ८५ हजार २७९ लेखहरू होस्ट गरिएका थिए । प्रारम्भिक भिजिटरहरूले साधारण सर्च बार सहितको Grokipedia v0.1 शीर्षक भएको मिनिमल होमपेज देखेका थिए ।
तर धेरै प्रयोगकर्ताले लेखहरूको ठुलो भाग प्रत्यक्ष रूपमा विकिपिडियाबाट ग्रहण गरिएका वा नक्कल गरिएको जस्तो देखिएको बताएका छन् ।
यो सुरुवात मूलधारको न्यारेटिभ (कथ्य) लाई चुनौती दिने एआई प्रणाली निर्माण गर्ने मस्कको प्रयासको एउटा कदम हो । उनले सेप्टेम्बरमा आफ्नो सामाजिक सञ्जाल एक्समा ग्रोकिपिडियाको बारेमा पोस्ट गर्दै भनेका थिए, "हामी एक्सएआईमा ग्रोकिपिडिया निर्माण गर्दैछौँ । यो विकिपिडियामाथि ठुलो सुधार हुनेछ । साँच्चै भन्ने हो भने यो ब्रह्माण्ड बुझ्ने एक्सएआईको लक्ष्यतर्फ आवश्यक कदम हो ।"
पछिल्लो अध्यावधिक: कात्तिक ११, २०८२ ११:४२
