हुबहु बैंकहरूको जस्तै देखिने वेबसाइट बनाएर ठगी भइरहेको छ, सावधान रहनूः साइबर ब्युरो
कात्तिक १२, २०८२ १३:३७
काठमाडौँ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूलाई लक्षित गर्दै फिशिङ आक्रमण भइरहेको जानकारी गराउँदै साइबर ब्युरोले सचेत रहन आग्रह गरेको छ । बुधबार सामाजिक सञ्जालमा एक सूचना जारी गर्दै ब्युरोले कुनै पनि लिंकमा क्लिक गर्नुअघि गम्भीरताका साथ सोच्न सचेत गराएको हो ।
ब्युरोका अनुसार सामाजिक सञ्जाल तथा अनलाइनका विभिन्न माध्यमहरूमा बैंक तथा वित्तीय संस्थाहरूको हुबहु जस्तो देखिने वेबसाइट (फिशिङ लिङ्क) बनाई विभिन्न आश्वासनमा ओटीपी माग गरी ठगी गर्ने प्रवृत्ति बढ्दै गएको छ । यस्तोमा सम्बन्धित प्रयोगकर्ताहरूलाई बैंक तथा वित्तीय संस्थाहरूको आधिकारिक वेबसाइट, एप तथा सामाजिक सञ्जाल पेजहरूको बारेमा जानकार रहन अनुरोध गरिएको हो ।
“अनलाइनका माध्यमहरूमा देखा परेका प्रलोभनमा पार्ने खालका पोस्टहरूको पछि नलागि आफूले प्रयोग गर्ने बैंक तथा वित्तीय संस्थाहरूको आधिकारिक पेज, वेबसाइटबाट मात्र सूचना लिनु हुन साइबर ब्युरो सरोकारवाला सबैमा अनुरोध गर्दछ,” सूचनामा भनिएको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक १२, २०८२ १४:१
