विश्वविद्यालयका विद्यार्थीहरूबिच स्टिम सामग्री निर्माण सम्बन्धी प्रतिस्पर्धा गर्दै शिक्षा मन्त्रालय
कात्तिक १२, २०८२ १८:९
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्टिम (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) सामग्री निर्माण सम्बन्धी विश्वविद्यालय स्तरीय प्रतिस्पर्धा सञ्चालन गर्ने भएको छ । विभिन्न विश्वविद्यालय, आङ्गिक क्याम्पस तथा सम्बन्धनप्राप्त विश्वविद्यालयका क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूबिच उक्त प्रतिस्पर्धा गराउन लागेको हो । प्रतिस्पर्धामा स्नातक तथा सोभन्दा माथिल्लो तहमा अध्ययनरत एकदेखि तीन जना सम्मको विद्यार्थी समूहबाट मन्त्रालयले आवेदन माग गरेको छ ।
स्टिम सामग्री निर्माण सम्बन्धी मन्त्रालयले कार्यविधि समेत तयार पारेको छ । कार्यविधि अनुसार प्रतिस्पर्धामा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले नेपालमा हाल देखापरेको वास्तविक समस्या पहिचान गरेर तिनीहरूको समाधानमा योगदान पुर्याउन व्यावहारिक तथा उपयोगी मौलिक सामग्री तयार गर्नुपर्नेछ ।
विद्यार्थीहरूले स्वदेशी/परम्परागत प्रविधिको आधुनिकीकरण, कृषि उत्पादनमा पानीको अभाव, स्थानीय सामग्री प्रयोग गरेर भूकम्प प्रतिरोधी भवन निर्माण, सहरी क्षेत्रमा वायु प्रदूषण जस्ता समस्या समाधानका उपाय प्रस्तुत गर्न सक्नेछन् । यस्तै, सांस्कृतिक सम्पदाको ह्रास, विपद् जोखिम व्यवस्थापन र न्यूनीकरण, नगरपालिका फोहर व्यवस्थापन, ग्रामीण समुदायका लागि सहज स्वास्थ्य पहुँच, उत्पादनमा आधुनिक प्रविधिको एकीकरण र अन्य विषयमा केन्द्रित रहेर विद्यार्थीहरूले सामग्री तयार गर्नु पर्ने कार्यविधिमा उल्लेख छ ।
प्रतिस्पर्धीहरू दुई चरणबाट सहभागी हुन सक्नेछन् । सबैभन्दा पहिलो चरणमा विद्यार्थीहरूले मन्त्रालयले तोकेको ढाँचामा तोकिएको विषयमा केन्द्रित रहेर आफ्नो आइडिया प्रस्तुत गर्नुपर्नेछ ।
त्यसपछि विद्यार्थीहरूको आइडिया अनुसार मन्त्रालयले दोस्रो चरणका लागि आवेदनहरू छनोट गर्ने छ । दोस्रो चरणमा विद्यार्थीहरूले आफूले पहिला प्रस्तुत गरेको आइडियाबाट सामग्री तयार पार्नेछन् । विद्यार्थीहरूले आफ्नो सोच अनुसारको सामग्री तयार पार्न पाँच महिनाको समय पाउनेछन् ।
स्टिम सामग्री तयार पारि सकेपछि विद्यार्थीहरूले आफ्नो सामग्री प्रस्तुत गरेर मन्त्रालयसँग आर्थिक सहयोग माग्न सक्नेछन् । मन्त्रालयले विद्यार्थीहरूले तयार पारेको सामग्रीअनुसार एउटा टिमलाई अधिकतम एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने छ ।
प्रतिस्पर्धामा सहभागी हुन इच्छुक विद्यार्थीले मिति ७ मंसिरभित्र तोकिएको ढाँचा पुर्याएर निवेदन दिनुपर्ने छ । सबै आवश्यक कागजात प्रमाणित गरेर स्क्यान गरी [email protected] मा इमेल गरी निवेदन दिन सकिने मन्त्रालयले जानकारी दिएको छ । निवेदनको ढाँचाका लागि यहाँ क्लिक गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: कात्तिक १२, २०८२ १८:९
