ऊर्जा उत्पादक भन्छन- ठुला उद्योगमा लाइन काटिँदा थप २०० मेगावाट बिजुली खेर गयो
कात्तिक १३, २०८२ १४:४०
एआई सिर्जित तस्बिर
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता नतिरेको भन्दै ठुला उद्योगको लाइन काटेपछि झण्डै २०० मेगावाट विद्युत खेर जान थालेको ऊर्जा उत्पादकहरूले बताएका छन् ।
उद्योगमा लाइन काट्नुअघि पनि विविध कारणले ४०० देखि ५०० मेगावाट विद्युत नियमित रुपमा खेर गइरहेको अवस्थामा धेरै विद्युत खपत गर्ने दुई दर्जन ठुला उद्योगमा एकैपटक लाइन काटिएपछि कम्तीमा थप २०० मेगावाट विद्युत खेर जान थालेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जानकारी दिएको छ ।
इप्पानका अनुसार अहिले वर्षातको समय सकिन लागेको, तर सुख्खायाम सुरु नभइसकेको बेला भएकाले सबैजसो आयोजना करिब पूर्ण क्षमतामा सञ्चालन हुने समय हो । यतिबेला पूर्ण क्षमतामा चलेका आयोजनाले बैंकलाई वर्षभर तिर्न पुग्ने सावाँब्याज कमाउने बेला पनि हो ।
इप्पानले सार्वजनिक गरेको तथ्यांक अनुसार ८४ मेगावाट क्षमताको राहुघाट जलविद्युत र ९.९ मेगावाटको इवा खोला विद्युत प्राधिकरणको डिस्प्याज निर्देशनको कारण पूर्ण रुपमा बिजुली खेर गएको छ ।
यसैगरी, ७१ मेगावाटको निलगिरी–२ को ४० मेगावाट, २८.१ मेगावाटको तल्लो १४ मेगावाटमा, ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत, १२ देखि १५ मेगावाट तथा ५४ मेगावाटको सुपरदोर्दी जलविद्युत आयोजना ५ देखि ७ मेगावाटमा मात्रै चलाउन विद्युत प्राधिकरणले निर्देशन दिएको छ ।
उद्योगको लाइन काट्नुअघि नै ५०० मेगावाट बिजुली माग कम भएको भन्दै प्राधिकरण बिजुली नलिइरहेको बेला थप बिजुली खेर गएको र यसले जलविद्युत आयोजनाहरूको आर्थिक अवस्था धराशायी हुने अवस्थामा पुगेको ऊर्जा उत्पादकहरूको जिकिर छ ।
एउटा जलविद्युत आयोजना बनाउन थोरैमा पनि ४/५ ओटा र धेरैमा १२/१३ ओटासम्म बैंकले ऋण लगानी गर्ने गरेका छन् । अहिलेसम्म खराब कर्जा करिब शून्य बराबर भएको क्षेत्र जलविद्युत क्षेत्र मानिन्छ । तर, अहिले सरकारकै कदमका कारण जलविद्युत आयोजनासमेत कालोसूचीमा पर्ने, उद्यमीहरूको घरखेत लिलाम भएर सडकमा आउने र बैंकहरू पनि धराशायी हुने अवस्था आउन सक्ने र यसले समग्र देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने भन्दै ऊर्जा उद्यमी चिन्तित बन्न थालेको इप्पानले जनाएको छ ।
८४ मेगावाटको राहुघाट आयोजनाको बिजुली पूर्ण रुपमा खेर गएको छ । आयोजनाको प्रर्वद्धक कम्पनी टुण्डी पावर कम्पनीका महाप्रबन्धक इन्द्र ढकालले आयोजनाको बिजुली सबै खेर गएको जानकारी दिए ।
कास्कीस्थित ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालनमा थियो । यो आयोजना कन्टिन्जेन्सीमा पनि छैन । तर, ठुला उद्योगमा लाइन काटेपछि यसबाट १२ देखि १५ मेगावाट मात्रै विद्युत प्राधिकरणले किनिरहेको आयोजनाका सञ्चालक पुष्पज्योति ढुङ्गानाले बताए ।
लम्जुङस्थित ५४ मेगावाटको सुपरदोर्दी जलविद्युत आयोजना कन्टिन्जेन्सीमा राखिएको आयोजना हो । प्रसारणलाइनको क्षमताले नधानेको भन्दै सञ्चालनमा आएको लामो समयसम्म पनि यो आयोजनाबाट उत्पादन भएको सबै विद्युत प्राधिकरणले किनेको थिएन । अहिले ठुला उद्योग बन्द भएपछि भने आयोजना कहिले बन्दै गरिएको त कहिले ५ देखि ७ मेगावाटमा मात्रै चलाइएको आयोजनाका सञ्चालक अर्जुन गौतमले जानकारी दिए ।
निलिगिरि खोला हाइड्रोपावर कम्पनीका महाप्रबन्धक सुमित श्रेष्ठले ७१ मेगावाटको आयोजना ४० मेगावाटमा मात्र उत्पादन गरिरहनु परेको बताए ।
अहिले नेपालको कुल जडित क्षमता तीन हजार सात सय मेगावाट पुग्दा निजी क्षेत्रको उत्पादन क्षमता मात्रै तीन हजार मेगावाट छ । तर, विद्युत खपत भने आन्तरिक खपत र निर्यातसहित दुई हजार सात सयदेखि दुई हजार आठ सय मेगावाट मात्रै भइरहेको थियो ।
पछिल्लो अध्यावधिक: कात्तिक १३, २०८२ १५:४६
