close

फ्याक्टचेकः ‘पोस्ट डिलिट गर्नुअघि बालेनसँगको च्याट’ भन्दै भाइरल स्क्रिनशट नक्कली

हिक्मत आचार्य हिक्मत आचार्य

कात्तिक १६, २०८२ १३:४०

फ्याक्टचेकः ‘पोस्ट डिलिट गर्नुअघि बालेनसँगको च्याट’ भन्दै भाइरल स्क्रिनशट नक्कली

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ शनिबार मध्यरातमा सामाजिक सञ्जालमा गरेको एक पोस्टका कारण हाल विवादमा तानिएका छन् । उनले करिब १२ बजे पोस्ट गरेको उक्त स्टाटसमा अमेरिका, भारत र चीनसहित नेपालका प्रमुख राजनीतिक दलहरू नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र माओवादी केन्द्रलाई लक्षित गर्दै एक अशोभनीय अङ्ग्रेजी शब्द प्रयोग गरेका थिए ।

विवाद चुलिएपछि बालेनको आधिकारिक फेसबुक पेजबाट उक्त पोस्ट गायब छ । यही सन्दर्भमा हाल सामाजिक सञ्जाल फेसबुकमा एउटा च्याटको स्क्रिनशट भाइरल भइरहेको छ, जसमा बालेनलाई कुराकानीमार्फत उक्त पोस्ट डिलिट गर्न बाध्य पारिएको दाबी गरिएको छ ।

यद्यपि टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट उक्त च्याट स्क्रिनशट एडिटेड (नक्कली) रहेको पुष्टि भएको छ ।

दाबी

फेसबुकमा एमाले नेता एवम् निवर्तमान सांसद् सूर्य थापाले आइतबार बिहान ६ः३६ बजे लामो स्टाटस राखे । पोस्टमा चार ओटा फोटो पनि छन् । एउटामा बालेनको पोस्ट र उनीसँग च्याट गरिएको दाबी गरिएको छ । च्याट गरेको भनिएको स्क्रिनशटको माथिपट्टि ‘यो पोस्ट delete गर्नु अघि बालेन सँगको कुराकानी ।’ उक्त च्याटमा यस्तो संवाद भएको देखिएको छ । 

प्रयोगकर्ताः Hello Sir!

बालेनः Hello bro

प्रयोगकर्ताः Ke Upload garnu vako yasto ?

बालेनः Ke xa ra testo ? Malai ta kei yaad xaina

प्रयोगकर्ताः Post check garnu ta, purai jhyap ma ho ku kya ho aaja rati

बालेनः Check gardai xu…

बालेनः Omg ! ke post garecu yar yasto. Alikati piyeko, jhyap vaiyoxa. I have deleted it now.

प्रयोगकर्ताः Hora 

बालेनः Thanks yarr. Natra ta barbadai hunthyo ni

यो सामग्री तयार पार्दासम्म एमाले नेता थापाको उक्त पोस्टमा एक हजार बढी रियाक्सन, २५ कमेन्ट आएका छन् भने ६३ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

त्यही शैलीले कमल पाठकले पनि पोस्ट राखेका छन् । उनको पोस्टमा ३२५ बढी रियाक्सन, १३८ कमेन्ट आएका छन् भने ७२ पटक शेयर भएको छ । च्याट गरिएको भनिएको स्क्रिनशटमै पनि प्रयोगकर्ताले कमेन्ट गरिरहेका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

अनुसन्धान

यही शैलीका पोस्ट फेला पार्न टेकपाना फ्याक्टचेक डेस्कले फेसबुकको सर्च बारमा ‘यो पोस्ट delete’, ‘बालेनसँग मेरो कुराकानी’, ‘बालेनसँगको कुराकानी’ जस्ता कीवर्ड सर्च गर्‍यो । त्यस क्रममा ‘राजु पहारी दर्शन’ नामका फेसबुक प्रयोगकर्ताले सोही स्क्रिनशट पोस्ट गर्दै आफ्नो धारणा राखेका छन् । उनले लेखेका छन्, “शब्द चयन को मतलव छैन ! ओहदा को मतलव छैन ! कुटनितिको मतलव छैन ! जथाभावी बोलेको छ , लेखेको छ ! यो गजेडिलाई काठमाडौं का जनताले के सम्झेर भोट हाले ?

यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा झन्डै ५०० रियाक्सन, १५८ ओटा कमेन्ट र १८ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

त्यस्तै फेसबुकमा महेश ढुङ्गाना नामका फेसबुक प्रयोगकर्ताले सोही स्क्रिनशट सार्वजनिक गर्दै लेखेका छन्, “यो पोस्ट डिलिट गर्नु अगाडि बालेनसँग मेरो कुराकानी ।” यो सामग्री तयार पार्दासम्म उनको पोस्टमा ७३ रियाक्सन, १८ कमेन्ट र पाँच पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

‘लोकपथ डटकम’ नामक अनलाइन सञ्चारमाध्यमले ‘बालेन लक्षित हर्क साम्पाङको स्ट्याटस : ‘अचेत जिन्दगीको जय होस् !’’ शीर्षकमा समाचार राखेको छ । त्यही समाचारको अन्तिममा उक्त स्क्रिनशट राखिएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

सामाजिक सञ्जालमा यही पोस्ट कपी गर्दै अन्य प्रयोगकर्ताले पनि सार्वजनिक गरेको पाइयो ।

अब यस स्क्रिनशटको वास्तविकता जाचौं । कुनै पनि यस्तो अपरेटिङ सिस्टम छैन, जहाँ मेसेन्जरको च्याट गर्ने व्यक्तिको नाम देखाइएको होस् । भाइरल स्क्रिनशटमा बालेनको प्रोफाइल पिक्चरको आइकन र तलपट्टि नाम अनि भेरिफाइड मार्क राखिएको छ । जबकि फेसबुक प्रयोगकर्ता वा फेसबुक पेजसँग च्याट गर्दा नाम र भेरिफाइड चेकमार्क देखिंदैन ।

 

मेसेन्जरमा कुनै पनि प्रोफाइल वा पेजसँग च्याट गर्दा च्याटबक्सको तलपट्टि प्रोफाइल पिक्चरको आइकन मिलेर गरेको हुन्छ । जबकि भाइरल स्क्रिनशटमा प्रोफाइलको आइकन र च्याटबक्स एकनासको छैन । 

स्क्रिनशटलाई थप जुम गरेर हेर्दा ‘Omg! ke post garexu yar yasto. Alikati piyeko, jhyap vaiyoxa. I have deleted it now.’ को च्याटबक्सको छेउमा नाम र भेरिफाइड मार्कले च्याटबक्स छोएको देखिन्छ ।

 

हामीले त्यस्तै च्याट गर्‍यौं । त्यसबाट के पत्ता लाग्यो भने यो कुनै प्रयोगकर्तासँग गरिएको वास्तविक च्याट हो । तर, पछिबाट बालेनको प्रोफाइल आइकन र नाम थपिएको हो । 

यी विभिन्न तथ्यलाई आधार मान्दा भ्रम फैलाउन सामाजिक सञ्जालमा यो च्याट भाइरल बनाएको पुष्टि हुन्छ । 

दाबी 

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले मध्यरातमा गरेको विवादित सामाजिक सञ्जाल पोस्ट डिलिट गर्नुअघि उनी एक प्रयोगकर्तासँग च्याटमा थिए । उक्त च्याटमा उनले पोस्ट रक्सीको नशा गरेको स्वीकार गरेका थिए र च्याटमार्फत सचेत गराएपछि उनले पोस्ट डिलिट गरे ।

दाबीकर्ता

एमाले नेता एवम् पूर्व सांसद् सूर्य थापा, कमल पाठक, राजु पहारी दर्शन, महेश ढुङ्गाना लगायत अन्य सामाजिक सञ्जाल प्रयोगकर्ता । 

तथ्य 

बालेनले पोस्ट डिलिट गर्नुअघि च्याट गरेको दाबीसहितको भाइरल स्क्रिनशट एडिटेड (नक्कली) रहेको पुष्टि भएको छ । फेसबुक मेसेन्जरको कुनै पनि अपरेटिङ सिस्टममा च्याट गर्ने व्यक्तिको प्रोफाइल नाम र भेरिफाइड चेकमार्क च्याटबक्सको छेउमा जोडिएको देखिँदैन, जबकि भाइरल स्क्रिनशटमा च्याटबक्स र भेरिफाइड मार्क एकनासको छैन र एकअर्कामा छोएको देखिन्छ । उक्त संवाद कुनै सामान्य प्रयोगकर्तासँग गरिएको वास्तविक च्याट थियो । तर भ्रम फैलाउनका लागि पछिबाट मेयर बालेनको प्रोफाइल आइकन र भेरिफाइड नाम थपिएको हो ।

निष्कर्ष

मेयर बालेन्द्र शाहले विवादास्पद पोस्ट डिलिट गर्नुअघि एक प्रयोगकर्तासँग च्याट गरेको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको च्याट स्क्रिनशट नक्कली हो । यो च्याट भ्रम फैलाउने उद्देश्यले सामाजिक सञ्जालमा भाइरल बनाइएको पुष्टि हुन्छ ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्सयुट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

 

 

पछिल्लो अध्यावधिक: कात्तिक १६, २०८२ १३:५७