नीतिगत सहयोग पाए मात्रै माघमा टेलिकमको फाइभजी सेवा, फ्रिक्वेन्सी अक्सन खोल्ने तयारीमा एनटीए
कात्तिक २१, २०८२ १७:४४
काठमाडौँ । नेपाल टेलिकमले आगामी माघ महिनाभित्र फाइभजी सेवा सुरु गर्ने लक्ष्य पर्याप्त तयारीबिना सम्भव नहुने स्पष्ट सन्देश दिएको छ । फाइभजी रोलआउट गर्न ठुलो लगानीका साथै स्पेक्ट्रम उपलब्धता र बजारबाट माग सिर्जना हुन आवश्यक रहेकाले कम्पनीले त्यस विषयमा गहिरो अध्ययन हुनुपर्नेमा जोड दिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरण कर्मचारी युनियनले शुक्रबार प्राधिकरणका पहिलो अध्यक्ष भूपराज पाण्डेको सम्झनामा आयोजना गरेको ‘नीतिगत छलफल श्रृंखला’ कार्यक्रममा बोल्दै टेलिकमकी निर्देशक रीना डङ्गोलले फाइभजी सेवाको मागबारे अझै स्पष्टता नभएको बताइन् ।
“ठुलो लगानी हालेर फाइभजी ल्याउनु मात्रै ठुलो कुरो होइन । देशमा पहिलोपटक फाइभजी ल्याउने टेलिकम भनेर बन्नु छैन । के हामी साच्चिकै तयार छौं त फाइभजीका लागि ? धेरै गृहकार्य र तयारी गरिसके पनि अझै यो प्रश्न हाम्रो अगाडि तेर्सिरहेको छ । यत्रो लगानी त गर्यौं, त्यसपछि कस्टमर डिमान्ड हुन्छ त, डिमान्ड कताबाट आउँदै छ त ?,” उनले नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीलगायतका सामु प्रश्न गरिन् ।
फाइभजी नेपालमा भित्र्याउन चाहना सबैको रहेको उल्लेख गर्दै उनले त्यसका लागि आवश्यक तयारी, सहुलियत र फ्रिक्वेन्सी बाँडफाँटमा लामो छलफल आवश्यक रहेको बताइन् । “कुन फ्रिक्वेन्सीमा सञ्चालन गर्ने भन्ने विषयमा विस्तृत अध्ययन नगरी अघि बढ्न मिल्दैन,” उनले थपिन् ।
सरकारले टेलिकमलाई माघभित्र फाइभजी रोलआउट गर्न निर्देशन दिएको छ । यसका लागि कम्पनीले काठमाडौँ र पोखराका केही क्षेत्रमा प्रारम्भिक सेवा सुरु गर्ने तयारी गरिरहेको जानकारी उनले दिइन् ।
यता नियामक प्राधिकरणले भने टेलिकम अपरेटरहरूलाई यदि २४०० मेगाहर्ज फ्रिक्वेन्सी प्रयोग गरेर फाइभजी रोलआउट गर्ने हो भने एनएसए (नन्-स्ट्यान्डअलोन) मोडल अपनाउन अनुरोध गरेको छ ।
प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले अपरेटरहरूले यदि २४०० मेगाहर्ज फ्रिक्वेन्सीमा फाइभजी ल्याउने हो भने एनएसए (नन्-स्ट्यान्डअलोन) मोडल प्रयोग गर्न आग्रह गरिएको बताए ।
फाइभजी नेटवर्क रोलआउटका लाग एसए (स्ट्यान्डअलोन) र एनएसए (नन्-स्ट्यान्डअलोन) दुई मोडल छन् । एनएसएमा फाइभजी रोडियो सपोर्ट गर्ने फोरजी कोर प्रयोग गरिएको हुन्छ । जसले अहिले भइरहेको दूरसञ्चार पूर्वाधार प्रयोग गरेर फाइभजी रोलआउट गर्न सघाउँछ । एसए भनेको फाइभजीको न्याटिभ कोर नेटवर्क हो । यो नयाँ जडान गर्नुपर्छ । यो प्रयोगमा ल्याउन केही जटिल, खर्चिलो र धेरै बढी समय लाग्छ ।
“२४०० मेगाहर्जका लागि एनएसए प्रयोग गर्न आग्रह गरेका छौं । ३५०० मेगाहर्ज फ्रिक्वेन्सी प्रयोग गर्ने हो भने एसए (स्ट्यान्डअलोन) को विकल्प हुँदैन । ह्यान्डसेट पेनिट्रेसन २६०० मेगाहर्जमा १५ प्रतिशत मात्रै छ,” भण्डारीले भने ।
फाइभजी रोलआउट गर्न आवश्यक पर्ने नीतिगत सहुलियत के के चाहिने हो लिखित रुपमा उपलब्ध गराउन भण्डारीले आग्रह गरेका छन् । फाइभजी रोलआउट गर्न आवश्यक पर्ने सबै सहयोग गर्न तयार छौं ।
यसका साथै दूरसञ्चार प्राधिकरणले छिट्टै सबै फ्रिक्वेन्सी ब्याण्ड्सको अक्सन खोल्ने अन्तिम तयारी गरिरहेको भण्डारीले जानकारी दिए । प्राधिकरणले अपरेटरहरूको कनेक्टिभिटी र सेवाको गुणस्तर वृद्धिमा ध्यान दिँदै प्राधिकरणले सबै फ्रिक्वेन्सीको अक्सन खोल्ने र अब स्पेक्ट्रम कमिटीमा पठाउने तयारी अन्तिम चरणमा पुर्याएको छ ।
“एकदमै छिटो अब हामी जम्मै ब्यान्डको फ्रिक्वेन्सीको अक्सन खोल्छौं । यसका लागि सञ्चार मन्त्रालयमा धेरैपटक प्रस्तुति दिइसकेका छौं । फ्रिक्वेन्सी कमिटीका सदस्यहरूलाई पनि यस विषयमा जानकारी गराउँदै गएका छौं । ताकि छिटो अक्सन खोल्न पाइयोस्,” भण्डारीले भने ।
फाइभजी सेवा परीक्षणका लागि अनुमति पाएको टेलिकमले उपयोगिता परीक्षण गर्न एक करोड ८४ लाख ३८ हजार खर्च गरिसकेको महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । टेलिकमले फाइभजीको आन्तरिक परीक्षण सुरु गरेको दुई वर्ष बितिसकेको छ । तर, उपभोक्ताले फाइभजी सेवा उपयोग गर्न पाएका छैनन् । प्राधिकरणले टेलिकम र एनसेल दुवैलाई फाइभजी परीक्षणको अनुमति दिनुपर्ने भन्दै सञ्चार मन्त्रालयमा सुझाव पेश गरेपनि सरकारले टेलिकमलाई मात्रै परीक्षणको अनुमति दिएको थियो ।
सरकारले पनि व्यावसायिक रूपमा फाइभजी सञ्चालनका लागि आवश्यक फ्रिक्वेन्सी तोकेको झण्डै डेढ वर्ष नाघिसकेको छ । तर, अहिलेसम्म फ्रिक्वेन्सी वितरण प्रक्रिया अघि बढ्न सकेको छैन ।
पछिल्लो अध्यावधिक: कात्तिक २१, २०८२ १९:५
