close

​ट्रम्पको भाषण भ्रामक बनाएको भन्दै आलोचित बनेपछि बीबीसीका महानिर्देशक टिम डेभीले दिए राजीनामा

टेकपाना टेकपाना

कात्तिक २४, २०८२ १२:२६

​ट्रम्पको भाषण भ्रामक बनाएको भन्दै आलोचित बनेपछि बीबीसीका महानिर्देशक टिम डेभीले दिए राजीनामा

काठमाडौँ । अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीका महानिर्देशक टिम डेभीले संस्थाको नेतृत्व गरेको पाँच वर्षपछि राजीनामा दिएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एक भाषणलाई सम्पादनका क्रममा महत्त्वपूर्ण पक्ष हटाइ भ्रामक बनाएको भन्दै चर्को आलोचना भएपछि उनले आइतबार यस्तो निर्णय लिएका हुन् ।

५८ वर्षीय डेभी सेप्टेम्बर २०२० देखि बीबीसीको महानिर्देशकको रूपमा कार्यरत थिए । अमेरिकाको क्यापिटल हिलमा ६ जनवरी २०२१ मा भएको आक्रमणअघि ट्रम्पले आफ्ना समर्थकका अघि भाषण दिएका थिए । उक्त भाषणलाई समेटेर बीसीसीले पानोरमा वृत्तचित्र बनाएको थियो । 

भाषण गर्ने क्रममा ट्रम्पले आफ्ना समर्थकलाई शान्तिपूर्ण रूपमा विरोध गर्न आग्रह गरेको खण्डलाई वृत्तचित्रमा हटाएको आरोप लागेपछि बीबीसी आलोचित बनेको हो । विवादको केन्द्रमा रहेको उक्त भाषणमा ट्रम्पले आफ्ना समर्थकलाई भनेका थिए, “यहाँ उपस्थित सबै जना चाँडै नै क्यापिटल भवनतर्फ शान्तिपूर्ण र देशभक्तिको साथ आफ्नो आवाज बुलन्द पार्न मार्च गर्नेछन् भन्ने मलाई थाहा छ ।” बीबीसीको प्रसारण संस्करणमा भने उक्त महत्त्वपूर्ण लाइन हटाइएको तर ‘नर्क जस्तै लड’ (fight like hell) भन्ने वाक्यांशलाई मात्रै राखिएको बताइएको छ ।

फक्स न्युजका अनुसार कर्मचारीलाई लेखेको पत्रमा डेभीले जागिर छोड्नु ‘पूर्ण रूपमा आफ्नै निर्णय हो’ भनी उल्लेख गरेका छन् । “समग्रमा बीबीसीले राम्रो प्रदर्शन गरिरहेको छ । तर केही गल्तीहरू भएका छन् र महानिर्देशकको रूपमा मैले अन्तिम जिम्मेवारी लिनुपर्छ,” डेभीले भनेका छन् । 

उनले आगामी महिनामा व्यवस्थित रूपमा जिम्मेवारी हस्तान्तरण गर्नका लागि बोर्डसँग समय मिलाइरहेको जानकारी दिए । यसअघि बीबीसीकी समाचार प्रमुख डेबोरा टर्नेसले पदबाट राजीनामा दिएकी थिइन् । त्यसको केही दिनमै महानिर्देशकको राजीनामा आएको हो ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २४, २०८२ १५:२२