close

निर्वाचन र राष्ट्रिय परिचयपत्र प्रणालीलाई आपसमा जोडिँदै, अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न मिल्ने

टेकपाना टेकपाना

कात्तिक २५, २०८२ १४:४६

निर्वाचन र राष्ट्रिय परिचयपत्र प्रणालीलाई आपसमा जोडिँदै, अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न मिल्ने

काठमाडौँ । मतदाता नामावली दर्तालाई सहज बनाउन निर्वाचन आयोग र राष्ट्रिय परिचयपत्र प्रणालीलाई एकआपसमा आबद्ध गर्ने कार्य सुरु भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सोमबारदेखि नै यी दुई प्रणालीलाई जोड्ने काम थालिएको हो ।

आज मङ्गलबार साँझसम्म लाइभ जाने गरी काम भइरहेको र त्यसपछि परीक्षणको काम थालिने स्रोतले टेकपानालाई बताएको छ । यसका लागि आयोग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका आईटी प्राविधिकहरू लगाता रूपमा खटिएका छन् ।

परीक्षणको काम सफल भएपछि मात्रै अनलाइनबाट मतदाता नामावली दर्ता खुलाउने मिति तय हुने बताइएको छ । हाल निर्वाचन आयोगले प्रि-इनरोलमेन्ट आवेदन अनलाइनबाटै दिने व्यवस्था मिलाएको छ । जसबाट नाम, ठेगाना, जन्ममिति, पारिवारिक विवरण, नागरिकता विवरण आदि विवरण भरेर अपोइन्टमेन्ट लिएर बायोमेट्रिक दिन आफू रहेको जिल्ला स्थित निश्चित ठाउँमा जानुपर्ने हुन्छ ।

आयोग र राष्ट्रिय परिचयपत्र प्रणाली एक अर्कामा आबद्ध भएपश्चात् आयोगको प्रि-रजिस्ट्रेसन साइटमै राष्ट्रिय परिचयपत्र नम्बर राखेर बायोमेट्रिक तथा फोटो आफै भेरिफाई गर्न सकिनेछ । त्यसपछि आफ्नो स्थायी ठेगाना रहेको स्थानमा रहेको कुनै एक मतदान केन्द्र छनौट गरेपछि मतदाता नामावली दर्ता सम्पन्न हुनेछ ।

आगामी २१ फागुनका लागि प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएको छ । उक्त निर्वाचनमा भोट हाल्ने नयाँ मतदाताले यही ३० कात्तिकभित्र आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराई सक्नुपर्ने छ ।

मतदाता नामावली दर्ताको अन्तिम मिति नजिकिँदै गर्दा निर्वाचन आयोगको सिस्टम तथा बायोमेट्रिक सङ्कलन स्थलहरूमा चाप बढेको छ । यसले गर्दा मतदाता नमावली असहज बनेपछि प्रधानमन्त्री सुशीला कार्कीले नै अग्रसरता देखाएकी छिन् ।

कार्कीको आदेशमा प्रधानमन्त्री कार्यालयले निर्वाचन आयोगलाई सहजीकरणका लागि पत्राचार समेत गरेको छ । जसमा आयोग र राष्ट्रिय परिचयपत्र प्रणाली आबद्ध गर्न आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया थाल्न, कर्मचारी अपुग भएमा थप गरी अतिरिक्त शिफ्टमा मतदाता नामावली दर्ताको काम सहज बनाउन र आवश्यक भएमा ३० कात्तिकसम्मको मतदाता नामावली दर्ता समयलाई विस्तार गर्न अनुरोध गरिएको छ ।

कम्प्युटर तथा अन्य उपकरण थप गरी मतदाता नामावली दर्ताको काम चुस्त बनाउन आयोगको पुरानो प्रविधिले साथ नदिने भएपछि अतिरिक्त शिफ्टको विकल्प सुझाइएको बुझिएको छ । 

 

पछिल्लो अध्यावधिक: कात्तिक २५, २०८२ २२:३७