एनपीएलमा बेटिङ प्रचारलाई निरन्तरता दिँदै क्यान, सीआईबी र विज्ञापन बोर्डको कारबाहीमा पर्नसक्ने
कात्तिक ३०, २०८२ १५:४४
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विज्ञापन बोर्डको स्पष्ट निर्देशनलाई बेवास्ता गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा पनि सट्टेबाजी (बेटिङ) सम्बन्धित कम्पनीको प्रचारलाई निरन्तरता दिन थालेको पाइएको छ । १-२८ मङ्सिरसम्म सञ्चालन हुने प्रतियोगिताको तयारीका क्रममा खिचिएका तस्बिरमा बाउन्ड्री लाइनमा ‘डाफा न्युज’को विज्ञापन देखिएको हो ।
यो अनलाइन सट्टेबाजी खेलाउने डाफा बेट नामक कम्पनीको ‘सरोगेट’ विज्ञापन हो । यसअघि विज्ञापन बोर्डले १ भदौ २०८२ सूचना जारी गर्दै क्यानलाई यस्ता सरोगेट बेटिङ प्लेटफर्मको विज्ञापन नगर्न सचेत गराएको थियो ।
गत वर्षको एनपीएलमा पनि खेलाडीको जर्सी र मैदानमा ‘1XBAT’, ‘wolf-777’, ‘Dafa news’ जस्ता सट्टेबाजी साइटको विज्ञापन गरिएको भन्दै उजुरी परेको थियो । त्यसमाथि छानबिन गर्दै बोर्डले क्यानलाई भविष्यमा यस्ता गतिविधि गरे विज्ञापन गर्नबाटै नै रोक लगाउनेसम्मको चेतावनी दिएको थियो ।
तल हेर्नुहोस्, विज्ञापन बोर्डले क्यानलाई दिएको चेतावनी
बोर्डले आफ्नो निर्णयमा क्यानले पठाएको जवाफ चित्त बुझ्दो नभएको उल्लेख गर्दै विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा अन्य प्रचलित कानुन विपरीत विज्ञापन नगर्न सचेत गराएको थियो । तर, क्यानका सचिव पारस खड्काले भने नेपालमा ‘सरोगेट’ विज्ञापनबारे स्पष्ट कानुन नभएकाले यसलाई निरन्तरता दिइएको तर्क गरेका छन् ।
उनले भने, “जति पनि ब्रान्ड प्रयोग भएका छन्, ती सबै बेटिङ ब्रान्ड होइनन्, सरोगेट हुन् । सरोगेसीको वास्तविक परिभाषा, यसको नियम र अनुगमन गर्ने प्रणाली स्पष्ट नभएकाले अहिले प्रयोग भइरहेका ब्रान्डहरूलाई बेटिङ ब्रान्ड भन्न मिल्दैन ।”
खड्काले मैदानभित्रका सबै गतिविधिमा क्यानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र उसको भ्रष्टाचार विरोधी एकाइ (एन्टी करप्सन युनिट) को निर्देशिका पूर्ण रूपमा पालना गरेको दाबी गरे । “हामीले ग्राउन्ड बाहिरको गतिविधि नियन्त्रण गर्न सक्दैनौँ, तर ग्राउन्डभित्रको गतिविधिमा हामी आईसीसीको नियमअनुसार नै अगाडि बढिरहेका छौँ,” उनले भने ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले उजुरी परेपछि कारबाही गरिने बताए । “सीआईबीलाई सूचना आएको सन्दर्भमा प्रारम्भिक रूपमा अनुसन्धान गर्ने एउटा कुरा भयो,” प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले भने, “बेटिङसँग सम्बन्धित अपराधका घटनामा नजिकको प्रहरी युनिटले हेर्छ । उजुरी आएपछि यता सीआईबीले अनुसन्धान अगाडि बढाउँछ ।”
नेपालको कानुनले भने जुवा तथा सट्टेबाजीलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । जुवा ऐन, २०२० ले जुवा खेल्न वा खेलाउन रोक लगाएको छ भने विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ ले पनि जुवा खेल्न वा चिठ्ठा किन्न प्रोत्साहन गर्ने विषयमा विज्ञापन गर्न नहुने स्पष्ट व्यवस्था गरेको छ । कानुनी प्रावधान हुँदाहुँदै नियामक निकायको चेतावनीलाई बेवास्ता गरेर क्यानले सट्टेबाजी कम्पनीलाई प्रवर्धन गर्दा क्रिकेटको नियामक निकाय नै विवादमा तानिएको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०८२ १६:०
