इन्टरनेट सेवा प्रदायक भायानेटले २५ वर्षे अवधि सकिएपछि पायो नयाँ लाइसेन्स
मंसिर ३, २०८२ १३:२८
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटको नयाँ लाइसेन्स जारी गरेको छ । प्राधिकरणका अनुसार आज २ मङ्सिरदेखि लागु हुने गरी भायानेटको इन्टरनेट (ईमेलसहित) लाइसेन्स पुन: जारी गरिएको हो ।
प्राधिकरणका अनुसार २५ वर्षे लाइसेन्स अवधि सकिएसँगै प्राधिकरणले भायानेटलाई नयाँ लाइसेन्स (Fi. Ja. 1-191) जारी गरेको छ । नयाँ लाइसेन्सका लागि भायानेटले तीन लाख रुपैयाँ लाइसेन्स शुल्क बुझाएको छ ।
कानुनी अलमलका कारण देशकै ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क २५ वर्षे लाइसेन्स सकिएपछि झण्डै ९ महिनासम्म बिना लाइसेन्स सञ्चालन भएको थियो । निकासको रूपमा सरकारले दूरसञ्चार नियमावली २०५४ संशोधन गर्दै २५ वर्ष पूरा गरेका कम्पनीलाई पुनः अनुमतिपत्र प्राप्त गर्ने विकल्प खुला गरी दिएको थियो ।
उक्त नियमावली १२ कात्तिक २०८१ मा प्रकाशित भएको थियो । तर, नयाँ लाइसेन्स पाउन पुराना सबै बक्यौता चुक्ता हुनुपर्ने सर्त सरकारले राखेपछि ३० कात्तिक २०८१ मा वर्ल्डलिङ्कले रोयल्टी तथा आरटीडीएफ गरेर कूल दुई अर्ब १५ करोड रुपैयाँ बुझाएको थियो । त्यसपछि मात्रै वर्ल्डलिङ्कले नयाँ लाइसेन्स पाएको थियो ।
पुस २०८१ मा अर्को इन्टरनेट सेवा प्रदायक सुबिसुले ३१ करोड ३८ लाख रुपैयाँ बक्यौता बुझाएपछि नयाँ लाइसेन्स पाएको थियो । भायानेटले पनि बक्यौता बापतको ५५ करोड रुपैयाँ २८ माघ २०८१ मा तिरिसकेको छ ।
प्राधिकरणको तथ्याङ्क अनुसार इन्टरनेट बजारमा भायानेटको हिस्सा ९.९१ प्रतिशत छ । भायानेट देशको चौथो ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी हो । भायानेटसँग तीन लाख २५ हजार ६२९ फाइबर इन्टरनेट ग्राहक छन् ।
पछिल्लो अध्यावधिक: मंसिर ३, २०८२ १३:२९
