close

एनपीएलएका खेलाडीलाई लोभ देखाई म्याच फिक्सिङ गर्न खोज्ने २ सट्टेबाज पक्राउ

टेकपाना टेकपाना

मंसिर ३, २०८२ १७:१४

एनपीएलएका खेलाडीलाई लोभ देखाई म्याच फिक्सिङ गर्न खोज्ने २ सट्टेबाज पक्राउ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा खेलाडीलाई प्रभावित पारेर सट्टेबाजी गराउने प्रयास गरेको आरोपमा दुई ‍जना पक्राउ परेका छन् । नेपाल क्रिकेट संघ (क्यान) को सूचनाका आधारमा सट्टेबाजीसम्बन्धी गतिविधि भइरहेको भन्ने विशेष जानकारी पाएपछि प्रहरीले निगरानी बढाउँदै लाजिम्पाट क्षेत्रबाट ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो ।

२७ मङ्सिरसम्म सञ्चालन हुने एनपीएलमा ‍खेलाडीहरूलाई ‘स्पोन्सर गर्छौँ’ भनेर ह्वाट्सएप र इन्स्टाग्राममार्फ़त सम्पर्क गरी खेलको नतिजामा प्रभाव पार्ने उद्देश्यले आर्थिक प्रलोभन देखाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेको छ ।

विशेष खोजतलासका लागि खटिएको टोलीले मंगलबार लाजिम्पाटबाट भारत, हरियाणा घर भएका २८ वर्षीय दिलप्रित सिंह र बर्दिया घर भई हाल चण्डिगढ, भारतमा बस्ने २४ वर्षीया रेविका सिंह ठकुरीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरूलाई एनपीएलका खेलाडीमाथि अनधिकृत प्रभाव पार्ने प्रयास तथा सट्टाबाजी प्रवर्द्धनसम्बन्धी अपराधअन्तर्गत अनुसन्धान अघि बढाइएको जनाएको छ ।

थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर, भद्रकालीमा बुझाइएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ३, २०८२ १७:४३