close

फेसबुकको नयाँ रियाक्सन इन्टरफेसले प्रयोगकर्तामाझ असन्तुष्टि, भन्छन्ः झुर अपडेट

टेकपाना टेकपाना

मंसिर ४, २०८२ १८:४०

फेसबुकको नयाँ रियाक्सन इन्टरफेसले प्रयोगकर्तामाझ असन्तुष्टि, भन्छन्ः झुर अपडेट

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकले हालै आफ्नो मोबाइल एपमा रियाक्सन सेक्सनको इन्टरफेस परिवर्तन गरेपछि प्रयोगकर्तामाझ असन्तुष्टि देखिएको छ । सीमित प्रयोगकर्तामाझ परीक्षणका रूपमा देखिएको यो परिवर्तनले एपको युजर एक्सपिरियन्सलाई पूर्ण रूपमा बदलिदिएको छ भने धेरैले यसलाई ‘झुर अपडेट’ को संज्ञा दिएका छन् ।

पहिले रियाक्सन, कमेन्ट र शेयर बटनको छेउ र माथिपट्टि कुल सङ्ख्या देखिन्थ्यो भने त्यसको छेउमा सबैभन्दा बढी आएका तीन ओटा रियाक्सनको आइकन देखाइन्थ्यो । बीचमा कमेन्टको अप्सन र दायाँपट्टि शेयरको आइकन राखिएको थियो । तर, नयाँ डिजाइन अनुसार अब सबैभन्दा अगाडि लाइकको आइकन र त्यसको सङ्ख्या, त्यसपछि कमेन्टको आइकन र त्यसको सङ्ख्या, अनि अन्त्यमा शेयरको आइकन र त्यसको सङ्ख्या राखिएको छ । सबैभन्दा बढी आएका तीन ओटा रियाक्सनलाई भने दायाँपट्टिको कुनामा सारिएको छ ।

यस परिवर्तनले गर्दा दायाँपट्टिको बटन ट्याप गरेर शेयर गर्न बानी परेका प्रयोगकर्तालाई तत्काल समस्या भएको छ । पुरानो डिजाइनभन्दा पूर्ण रूपमा भिन्न देखिएकाले पनि धेरैले यसलाई नरुचाएको पाइएको छ । रेडिट लगायतका प्लेटफर्ममा आएका प्रयोगकर्ताका प्रतिक्रियाको विश्लेषण गर्दा यो नयाँ इन्टरफेसले एपको समग्र अनुभवलाई ‘कम आकर्षक’ बनाएको भन्ने गुनासो प्रशस्तै छन् ।

अधिकांश प्रयोगकर्ताले यो नयाँ अपडेटलाई ‘भद्रगोल’ र ‘असुविधाजनक’ भनेका छन् । उनीहरूका अनुसार अब रियाक्सन सहजै देख्न सकिँदैन र कमेन्ट सेक्सन पनि ‘फरक’ बनेको छ । कमेन्टको प्रिभ्यु नदेखिने हुँदा कुनै पनि कमेन्ट हेर्नका लागि अनिवार्य रूपमा आइकनमा क्लिक गर्नुपर्ने बाध्यता बनेको छ । यसले प्रयोगकर्तालाई नचाहँदा नचाहँदै पनि पोस्टमा इङ्गेज हुन बाध्य पारेको छ । ‘के फेसबुकले यस्ता अपडेट परीक्षण नगरी नै लागु गर्छ ?’ भन्ने प्रश्न पनि धेरैले उठाएका छन् ।

प्रयोगकर्ताको सबैभन्दा ठुलो चिन्तामध्ये एक हो पुरानो इन्टरफेसमा फर्कने विकल्प नहुनु । “फेसबुकले नचाहिँदो कुरा थप्ने र कसैले नमागेको परिवर्तन गर्ने क्रम जारी राखेको छ तर फिर्ता जाने कुनै बाटो दिँदैन,” एक प्रयोगकर्ताले रेडिटमा लेखेका छन्, “यदि मेटाले यस्तै अपडेट ल्याइरहने हो भने कम्तीमा पुरानो शैलीमा फर्कने विकल्प दिनुपर्छ । यो हाम्रो एप हो, हामीलाई हरेक केही महिनामा नयाँ यूआई सिक्न बाध्य पार्नु हुँदैन ।” धेरैले यसलाई ‘इन्स्टाग्रामको धोइएको संस्करण’ को संज्ञा दिँदै फेसबुकको मौलिक पहिचान गुमेको गुनासो पनि गरेका छन् ।

नयाँ अपडेटले गर्दा विभिन्न प्रकारका प्राविधिक समस्या समेत देखिएका छन् । कतिपय प्रयोगकर्ताले कुनै पनि पोस्टमा ‘लाइक’ वा ‘रियाक्सन’ को कुल सङ्ख्या वा कसले के प्रतिक्रिया दियो भन्ने हेर्न नसकेको बताएका छन् । कसैले आफ्नो पेजमा कति ‘लाइक’ आए भन्ने हेर्न नसकेको र सेटिङमा ‘रियाक्सन प्रेफरेन्सेस’ बन्द गरे पनि समस्या समाधान नभएको गुनासो गरेका छन् । 

प्रयोगकर्तामाझ यो असन्तुष्टि यति व्यापक छ कि धेरैले सामूहिक रूपमा फेसबुकलाई यो अपडेट फिर्ता लिन आग्रह गर्नका लागि एउटा अभियान वा कम्युनिटी बनाउने प्रस्ताव राखेका छन् । “फेसबुकको यो परिवर्तन त्यति चित्तबुझ्दो भएन । इन्टरफेस पनि भद्रगोल देखिन्छ । हामीले प्रयोग गर्ने फिचर पहिलेको जस्तो काम गरिरहेका छैनन्,” एक प्रयोगकर्ताले भनेका छन्, “मैले यस विषयमा रिपोर्ट पठाइसकेको छु । तर धेरै प्रयोगकर्ताले आवाज नउठाएसम्म यसले फरक पार्छ जस्तो लाग्दैन । यदि हामीले पर्याप्त मानिसहरू जम्मा गर्न सक्यौँ भने, सायद फेसबुकले सुन्नेछ र पुरानै अवस्थामा फर्किनेछ ।”

पछिल्लो अध्यावधिक: मंसिर ४, २०८२ १८:४०